कोरोना नियन्त्रण तथा रोकथाममा लुम्बिनी प्रदेश प्रमुखको चासो – Nepal Press

कोरोना नियन्त्रण तथा रोकथाममा लुम्बिनी प्रदेश प्रमुखको चासो

रुपन्देही । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिककुमार शेरचनले कोरोना संक्रमण नियन्त्रण, खोप अभियान र उपचारका विषयमा मुख्यमन्त्री, सभामुख, विभागीग मन्त्री तथा सुरक्षा निकायका प्रमुखसँग जानकारी लिएका छन् ।

पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएपछि सरकारले नियन्त्रणमा गरेका प्रयासका बारेमा उनले सबैलाई प्रदेश प्रमुखको कार्यालयमा सामुहिक बैठक बोलाएर चासो राखेका हुन् ।

बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीसहित सभामुख पूर्णबहादुर घर्ती, प्रदेशका मन्त्रीहरु, स्वास्थ्य मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी सहभागी भएका थिए ।

प्रदेश प्रमुख शेरचनले कोरोना महामारी नियन्त्रणको लागि लुम्बिनी प्रदेशले अभियान नै सञ्चालन गरेर अरु प्रदेशले पनि सिको गर्ने कार्य गर्न सुझाव दिए ।

प्रयाप्त मात्रामा पिसिआर परिक्षण नभएको, सिरिञ्ज अभाव र आर्थिक अभावले क्वारेन्टाइन सञ्चालन हुन नसकेको मिडियाबाट आफूले जानकारी पाएको बताउँदै उनले तत्काल तिनै तहका सरकार मिलेर कोरोना नियन्त्रण तथा बिरामीको उपचारमा लाग्न आग्रह गरेका थिए ।

सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा भएको प्रमुख बताउँदै शेरचनले विकास निर्माणका कामहरु स्थगित गरेर भएपनि नागरिकको जीवन सुरक्षा गर्नको लागि ध्यान दिन आग्रह गरे ।

मुख्यमन्त्री कुलप्रसाद केसीले कोरोना संक्रमण नियन्त्रण र उपचारको लागि प्रदेशका मन्त्रीहरुको अनुगमन समिति बनाएर प्रभावकारी उपचार भए नभएको बारेमा अनुगमनमा जोड दिइएको बताए ।

केन्द्र सरकार र नेपाली सेनाको प्रयासमा प्रदेशमा रुपन्देही, कपिलवस्तु र बाँकेमा गरी ३ वटा होल्डिङ्ग सेन्टरको निर्माणको काम भइरहेको र बनिसकेका सेन्टरको सञ्चालन गरिने जानकारी दिए ।

रुपन्देहीमा जग्गा प्राप्त हुन नसक्दा होल्डिङ्ग सेन्टर नबनेको र कपिलवस्तु र बाँकेमा निर्माणको काम अन्तिम चरणमा पुगेको केसीले जानकारी दिएका थिए ।

लुम्बिनी प्रदेशका स्वास्थ्य,जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव विकास देवकोटाले अहिले प्रदेशमा कोरोना परीक्षण भएका करिब ६० प्रतिशतमा कोरोना पोजेटिभ देखिने गरेको जानकारी दिए ।

नयाँ भेरियन्टपछि ५ हजार ५ सय २८ जना प्रदेशमा संक्रमित भएको र ५ हजार ३६ जना होमआइसोलेशन, ५० जना संस्थागत आइसोलेशन, ३३ जना आईसियु र १ जना भेन्टिलेटरमा रहेको जानकारी दिए ।

प्रदेशमा लुम्बिनी प्रादेशिक, भिम अस्पताल, भेरी र राप्ती अस्पताललाई कोरोना डेडिकेटेट अस्पताल बनाएर तयारी अवस्थामा राखिएको देवकोटाले बताए ।

प्रदेशका विभिन्न अस्पतालहरुमा ६२४ एचडियु,२५३ आईसियु, र ६२ वटा भेन्टिलेटर तयारी अवस्थामा राखिएकोे र अहिलेसम्म प्रदेशमा लक्षित जनसंख्यामध्ये ८३ प्रतिशतलाई पहिलो र ६५ प्रतिशतलाई दोश्रो मात्राको कोरोना विरुद्धको खोप लगाइएको उनले बताए । अझै १८ लाख ६२ हजारभन्दा बढी डोज आवश्यकता रहेको सचिव देवकोटाले जानकारी दिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भारतबाट आएका यात्रुहरुको नाकामा कोरोना परीक्षण गर्दै आएको र संक्रमण पोजेटिभ देखिएकाको ब्यवस्थापनमा समस्या रहेको बताए । बेलहिया नाकाबाट देशका विभिन्न ठाउँमा जाने यात्रु आउने र उनीहरुलाई गन्तव्यसम्म लैजानको लागि चुनौती रहेको गुनासो गरे ।

नेपाली प्रहरी लुम्बिनी प्रदेश प्रमुख प्रकाश अधिकारीले प्रहरीले कोरोना संक्रमणबाट बच्नको लागि नागरिकमा सुरक्षा सचेतना फैलाइरहेको बताए ।

नागरिकलाई मास्क वितरण गर्दै जनचेतना फैलाइरहेको जानकारी दिए । भारतबाट आउने गाडीका चालकको कोरोना परिक्षण नहुँदा संक्रमण फैलिन सक्ने भएकाले उनिहरुको चेकको ब्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।

नेपाली सेनाका महासेनानी मचिन्द्र थापाले प्रदेशको रुपन्देही, बाँके र कपिलवस्तुमा अहिले होल्डिङ्ग सेन्टर निर्माणको काम भइरहेको र कपिलवस्तुमा ८२ प्रतिशत भौतिक र ५५ प्रतिशत आर्थिक प्रगति भएको दाबी गरे । बाँकेको जमुना नाकामा हजार जना क्षमताको लागि बनेको र अहिले ३ सय जना राख्न सकिने जानकारी दिए ।

बैठकमा प्रदेशका सभामुख पूर्ण बाहादुर घर्ति, आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का, सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा, स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित थारु लगायतले कोरोना संक्रमण रोकथाम नियन्त्रणका प्रयाशका बारेमा प्रदेश प्रमुखलाई जानकारी गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर