कोरोना संक्रमण बढ्न थालेपछि सीमा नाकामा कडाइ, अनावश्यक आवागमनमा रोक – Nepal Press

कोरोना संक्रमण बढ्न थालेपछि सीमा नाकामा कडाइ, अनावश्यक आवागमनमा रोक

कैलाली । कैलाली-कञ्चनपुरमा कोरोना संक्रमण बढ्न थालेपछि सीमा नाकामा कडाइ गरिएको छ । दुवै जिल्लाले अनावश्यक रूपमा सीमा नाकामा हुने आवागमनमा रोक लगाएको जनाएको छ ।

आइतबार राती १२ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि अत्यावश्यक कामकाज बाहेक नेपाल–भारत आवागमनमा रोक लगाउने निर्णय भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिए ।

आइतबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।

अत्यावश्यक कामले आवागमन गर्नुपर्ने भए सो सँग सम्बन्धित आवश्यक कागजात र कोभिड विरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनु पर्ने बताइएको छ ।

‘अत्यावश्यक कार्य बाहेक सीमा नाकामा भारत तर्फ हुने आवतजावत रोक्ने निर्णय गरेका छौँ,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भने, ‘अति आवश्यक कामले जानै पर्ने भए कागजात र खोप लगाएको कार्ड देखाएर जान सक्छन्।’

पछिल्लो समय किनमेल तथा घुमघाम गर्ने भन्दै कञ्चनपुरको गड्डाचौकी तथा गौरिफन्टा नाकामा चहलपहल बढिरहेको थियो । कोरोना संक्रमण बढेपछि कडाइ गरिएको उनले बताए ।

जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले ९ वटै पालिकामा कोरोना सम्बन्धी जनचेतनामूलक कार्यक्रम र मास्क अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

यस्तै विवाह, व्रतबन्ध जस्ता सामाजिक कार्य गर्दा २५ जनाको सङ्ख्या नबढाई गर्ने र नित्य धार्मिक पूजा प्रार्थना बाहेकका धार्मिक भेला तथा कार्यक्रमहरू गर्न रोक लगाइएको छ।

यता कैलालीमा सीमा नाकामा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।

‘कञ्चपुरसँग समन्वय गरेर गौरिफन्टा नाकामा पनि कडाइ गरेका छौँ’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने, ‘अनावश्यक काममा सीमा क्षेत्रमा हुने गतिविधि अन्त्य गर्ने निर्णय गरेका हौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *