चुनावको मिति घोषणा गर्न मधेसमा युवा संघको प्रदर्शन – Nepal Press

चुनावको मिति घोषणा गर्न मधेसमा युवा संघको प्रदर्शन

मन्त्री यादवलाई बर्खास्त गर्न माग

जनकपुरधाम । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धनुषाले चुनावको मिति घोषणा र भौतिक पूर्वाधारमन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

संघका कार्यकर्ताले आज जनकपुरधाममा सरकारविरुद्ध नाराबाजी गरेका हुन् । जुलुसमा सहभागीहरुले नरसंहारबादी मन्त्री रेणु यादवलाई बर्खास्त गर, निर्वाचनको मिति घोषणा गर, देउवा सरकार, अपराधी सरकार चाहिँदैन जस्ता नारा लगाएका छन् ।

जनकपुरधामको विभिन्न भागमा परिक्रमा पश्चात जुलुस जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । जुलुसमा सहभागी हुन गाउँगाउँबाट एमाले कार्यकर्ता जनकपुरधाम आएका थिए ।

संघका प्रदेश अध्यक्ष जानी खान मधेसीले गौर नरसंकार घटनामा तत्कालिन फोरमको संलग्नता रहेको स्वीकार गर्ने र हिंसात्मक अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई बर्खास्त गर्न सरकारसँग माग गरे ।

उनले स्थानीय तहको निर्वाचनमा जताततै एमाले जित्ने डरले सरकार निर्वाचनको मिति घोषणा गर्न नचाहेको आरोप लगाए । उनले तत्कालै स्थानीय तहको निर्वाचन घोषणा र मन्त्री यादवलाई सरकारले बर्खास्त नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिए ।

मन्त्री यादवलाई बर्खास्त गर्नुपर्ने माग राखेर दुई दिनअगाडी पनि युवा संघले जनकपुरधाममा प्रदर्शन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर