प्रचण्ड-माधवलाई ओलीको चुनौती : गत वर्षको सडक अराजकताप्रति जनतासँग माफी माग – Nepal Press

प्रचण्ड-माधवलाई ओलीको चुनौती : गत वर्षको सडक अराजकताप्रति जनतासँग माफी माग

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनअघि संसदको निर्वाचन गर्ने भनेर सत्ता पक्षबाट फालिएको कार्ड चुनाव नगर्ने गलत नियत भन्दै आफू जहिले निर्वाचन भए पनि सामना गर्न तयार रहेको प्रष्ट पारेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रेस विज्ञप्ति जारी गर्दैआफूले ताजा जनादेशको माग गर्दा प्रतिगमन भन्नेहरुले कुन मुखले अर्ली इलेक्सनको कुरा गर्दैछन् भन्ने प्रश्न उठाएका छन् । गठबन्धनका नेता प्रचण्ड र माधव नेपालले एमालेले संसद चल्न नदिएको भन्दै बैशाखमै संसदीय चुनाव गर्ने प्रस्ताव राखेकोमा उनले यस्तो प्रश्न गरेका हुन् ।

ओलीले भनेका छन्- गत वर्ष हामीले ताजा जनादेशको माग गर्दा हामीमाथि अनेकौं प्रहार गरिए । जनताको बीचमा जानुलाई ‘प्रतिगमन’ र जनादेशविपरीत जस्केलाबाट सरकार बनाउनुलाई ‘अग्रगमन’ भन्ने भाष्य निर्माण गरियो । प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष नै हुनुपर्छ भन्ने तर्क गर्दै यसको पुन:स्थापनालाई ‘संविधानको जीत’का रुपमा व्याख्या गर्ने नेताहरु आज कुन नैतिकता, कुन तर्क र कुन आधारमा ‘अर्ली इलेक्सन’ को कुरा गर्दैछन् ? यसो गर्नुअघि उनीहरुले गत वर्ष सडक आन्दोलनका नाममा प्रदर्शन गरेको अराजकताका लागि जनतासँग क्षमायाचना गर्नु पर्दैन ?

ओलीले स्थानीय तहको निर्वाचनलाई विभिन्न बहानामा पर धकेल्न लागिपरेका गठबन्धनका नेताहरूले प्रतिनिधिसभाको निर्वाचन २०७९ बैशाखमा गर्ने ‘कार्ड’ असल मनशायले होइन नफालेको बताएका छन् ।

वक्तव्यमा भनिएको छ- स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने र मुलुकमा राजनीतिक अन्यौल सिर्जना गर्ने गलत नियतका साथ अगाडि सारिएको हो भन्नेमा नेकपा (एमाले) स्पष्ट छ । हाम्रो पार्टी गत बर्षदेखि नै ताजा जनादेशको पक्षमा उभिएको हो र आज पनि हामी यो मान्यतामा अडिग छौं । जुनसुकै बेलामा निर्वाचन भए पनि हामी सामना गर्न तयार छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर