महिनावारी बिदा: मातृत्वको सम्मान र अपनत्व – Nepal Press

महिनावारी बिदा: मातृत्वको सम्मान र अपनत्व

महिलाहरुलाई महिनावारी वा रजस्वला हुँदा एक दुई दिन भए पनि बिदा दिनुपर्छ कि भन्ने प्रसँग चलाउने बित्तिकै हास्ने र त्यस्तो सम्भवै हुँदैन भनेर ठोकुवा गर्ने मित्रहरुलाई विनम्रतापूर्वक सुरुमै निवेदन गर्दछु कि हामीले चाहेको तपाईंको ठोकुवा वा चुनौती होइन । यस विषयको वैज्ञानिक अध्ययन र तथ्यपूर्ण निष्कर्ष हो ।

उसो त लेखक कार्यरत संस्थामा महिनाको दुई दिन महिनावारी बिदा दिने अभ्यास गरिँदै आएको छ । हामी मानव जाति उसै पनि विवेकशील प्राणी हौं, हाम्रै विवेकको भरमा हामीले एउटा सामाजिक, राजनितिक व्यवस्था विकास गरेर त्यसभित्र रहेरै समाज सन्चालन गरिरहेका छौं । त्यसैले समाज विज्ञानमा असम्भव भन्ने विषय विरलै हुन्छ ।

महिलालाई हामीले सांख्य दर्शनको पुरुष प्रकृतिको अवधारणासँग तुलना गर्दै प्रकृतिको दर्जा दिने गरेका छौं तर हाम्रो सामाजिक व्यवस्था कति प्रकृतिमैत्री छ भन्ने चाहिं अहम् विषय रहेको छ । यस सृष्टिमा मानवजातीको अस्थित्व जोगाइरहन प्रजनन निर्विकल्प हो ।

प्रजनन् प्रक्रियामा पुरुष र महिला दुबैको समान भूमिका र सहभागिता चाहिन्छ । तर यस प्रकृयामा मानव शरीरको जैविक बनावट र प्रजनन् स्वास्थ्यका दृष्टिकोणले महिलाले जति पीडा सहनु र त्याग गर्नुपर्छ, महिलाको तुलनामा पुरुषले त्यति पीडा भोग्नु वा त्याग गर्नु पर्दैन ।

प्रकृति प्रदत्त यस भूमिका निर्वाह गर्न हरेक स्त्रीले औषतमा १३ वर्षको उमेरदेखि ५० वर्षको उमेरसम्म हरेक महिना महिनावारी भोग्नुपर्दछ । महिनावारी कसैका लागि पीडारहित र सामान्य हुन्छ भने कतिपयका लागि यो निकै पीडादायी हुने गर्छ ।

महिनावारी बिदासम्बन्धी बहस् सन् १९२० ताका सोभियत रुसबाट सुरु भएको र सोही आसपास जापानमा पनि यो बहसको विषय भए पनि हालसम्म यस बहसले राजनीति वा कानूनको क्षेत्रमा प्राथमिकता पाउन सकेको छैन ।

यसै सन्दर्भमा चैतन्य लिगल सर्भिस एण्ड रिसर्च सेन्टर र परिवर्तनका पाईलाहरु, नेपालले संयुक्त रुपमा अनलाइन र भौतिक माध्यमबाट दुई सयजना महिलाहरुमाझ महिनावारी तथा महिनावारी बिदासम्बन्धी एक अध्ययन गरेको थियो ।

जसमा १८ प्रतिशतले १ दिन, ४५ प्रतिशतले २ दिन, २९ प्रतिशतले ३ दिन महिनावारी बिदा दिनुपर्छ भन्नु भएको थियो भने ८ प्रतिशतले बिदा चाहिँदैन भन्नु भएको थियो । त्यस अध्ययनबाट प्राप्त अन्य तथ्यांकहरुलाई प्रसंग अनुसार यस लेखमा समावेश गरिएको छ ।

महिनावारी बिदासम्बन्धी बहस् सन् १९२० ताका सोभियत रुसबाट सुरु भएको र सोही आसपास जापानमा पनि यो बहसको विषय भए पनि हालसम्म यस बहसले राजनीति वा कानूनको क्षेत्रमा प्राथमिकता पाउन सकेको छैन । पुँजीवादी बजार व्यवस्थाको दबाब र प्रभावका कारण महिला आन्दोलनहरुले पनि यस विषयलाई जोडतोडका साथ उठाउन सकिरहेका छैनन् ।

यद्यपी संसारभरीमा जापान, दक्षिण कोरिया, इण्डोनेसिया, ताइवान, चीन, जाम्बिया लगायत १७ वटाभन्दा बढी देशहरुले कुनै न कुनै रुपमा महिनावारी बिदालाई कार्यान्वयन गरिरहेका छन् भने कतिपय निजी कम्पनीहरु (बहुराष्ट्रिय कम्पनीहरुसमेत) तथा राज्यका प्रादेशिक वा स्थानीय तहहरुले पनि महिनावारी बिदालाई कार्यान्वयन गरिरहेका छन् ।

इटली र भारतमा महिनावारी बिदा दिने सम्बन्धी विधेयक (निजी विधेयक) संसदमा दर्ता भए पनि ती पारित हुन सकेनन् । उक्त विधेयकहरु इटलीमा चार जना महिला सांसदले दर्ता गराएका थिए भने भारतमा एक जना पुरुष सांसदले दर्ता गराएका थिए ।

महिनावारी बिदा दिने सम्बन्धमा छलफल चाहिँ निरन्तर चलिरहेको छ । जनमतको एउटा हिस्सा महिनावारी बिदाको पक्षमा छ भने विपक्षमा पनि ठूलो हिस्सा रहेको छ । संसारभरी नै महिलाहरुकैबीचमा पनि यो विषयमा स्पष्ट मत छैन । बहसको पहिलो विषय हो, महिलाहरुलाई महिनावारी बिदा दिने हो भने रोजगारदाताहरुले महिलाको विरुद्ध पुरुषहरुलाई काममा प्राथमिकता दिन्छन् र महिलाहरुलाई पेशा व्यवसायमा संलग्न हुन झन् कठिन हुन्छ भन्ने ।

दोस्रो विषय हो, महिनावारी बिदा लिँदा आफ्ना हाकिमलाई महिनावारी भएको कुरा भन्नुपर्छ र यसले महिलाको गोपनियताको हक भंग गर्दछ भन्ने । तेस्रो विषय हो, महिनावारी बिदा महिलाले मात्र पाउने भएकाले यसले कार्यक्षेत्रमा महिला र पुरुषबीचमा असमानता सिर्जना गर्दछ भन्ने ।

र चाैथो विषय हो, प्रचलित श्रम कानूनहरुमा बिरामी बिदाको व्यवस्था हुन्छ नै, बरु महिलाहरुका लागि थप बिरामी बिदाको व्यवस्था गर्न सकिन्छ तर छुट्टै महिनावारी बिदा चाहिँदैन भन्ने ।

पहिलो विषय निसंकोच संवेदनशील छ । तर यसलाई प्रभावकारी ढंगले नीति तथा कानूनहरु निर्माण गरेर नियमन गरी व्यवस्थित गर्न सकिन्छ । सन् २०१७/१८ मा गरिएको एक अध्ययन अनुसार नेपालमा काम गर्न सक्ने उमेरका पुरुष-महिलाहरुमध्ये १०० जना पुरुषले रोजगारी पाउँदा केबल ५९ जना महिलाहरुले मात्र रोजगारी पाउने गरेका छन् ।

लामो समयदेखिका सामाजिक रुढीवादी मूल्य मान्यता, कमजोर सार्वजनिक पूर्वाधार र कार्यस्थलको कमजोर भौतिक संरचनाका कारण पनि सामान्यतः कुनै न कुनै रुपमा पुरुषहरुले नै रोजगारीमा प्राथमिकता पाउने गरेको भएता पनि बजार प्रतिष्पर्धात्मक हुँदै गएसँगै यो क्रम विस्तारै सुधारोन्मुख छ ।

व्यक्तिको गोपनीयताको विषय संवेदनशील भए पनि पुरुष हाकिमहरुलाई भन्न लजाउनु चाहिँ हिनताबोध, रुढीवादी, पुरातनपन्थी र अनुदार सोचको उपज हो । हामीले बदल्नुपर्ने विषय नै यही हो, महिनावारी लाजश्रम वा कुनै पनि कारणले लुकाउनु पर्ने विषय होइन ।

यद्यपी श्रम तथा रोजगार क्षेत्रमा लैंगिक समावेशीताको सन्दर्भमा त्यसका विभिन्न आयामहरुको थप अध्ययन अनुसन्धान हुन आवश्यक छ । महिनावारी बिदा नदिए पनि महिनावारी हुँदा कामबाट बिदा लिने महिलाहरुको संख्या संसारभरी नै उल्लेख्य रहेको छ ।

हालसालै चैतन्य लिगल सर्भिस र परिवर्तनका पाईलाहरुले गरेको सर्वेक्षणमा दुई सय जना महिलालाई ‘तपाईलाई महिनावारी हुँदा कामबाट बिदा लिएर घरमा बस्नु परेको छ वा छैन ?’ भनी गरिएको प्रश्नमा १४२ जना (७१ प्रतिशत) ले बिदा लिएर घरमा बस्नु परेको बताउनु भएको थियो ।

कतिपय अवस्थामा महिलाहरु महिनावारी हुँदा काममा गए पनि अरु दिनहरुमा जस्तो प्रभावकारी र उत्साहजनक ढंगले काम गर्न नसक्ने विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरुले पनि देखाएका छन् । उल्लेखित सर्वेक्षणको नतिजा अनुसार ४२ प्रतिशत महिलाहरुलाई महिनावारीमा सामान्य दुखाई हुन्छ भने ५३ प्रतिशत महिलाहरुलाई असह्य दुखाई हुन्छ ।

त्यस्तै, उक्त सर्वेक्षणमा ५८ प्रतिशत महिलाहरुले महिनावारी हुँदा दुखाई कम गर्ने औषधी खानु परेको बताउनु भएको थियो भने ५ प्रतिशतले दुखाई कम गर्ने सुई लगाउनु वा अस्पताल भर्ना हुनु परेको बताउनु भएको थियो ।

दोस्रो विषयको सन्दर्भमा, व्यक्तिको गोपनीयताको विषय संवेदनशील भए पनि पुरुष हाकिमहरुलाई भन्न लजाउनु चाहिँ हिनताबोध, रुढीवादी, पुरातनपन्थी र अनुदार सोचको उपज हो । हामीले बदल्नुपर्ने विषय नै यही हो, महिनावारी लाजश्रम वा कुनै पनि कारणले लुकाउनु पर्ने विषय होइन ।

कण्डम पुरुषका लागि र प्याड महिलाका लागि हो भन्ने हाम्रो बुझाई नै खोक्रो र अपूर्ण छ र त्यही मानसिकताको निरन्तरता हो, महिनावारी बिदा महिलाका लागि हो भन्ने ।

निश्चित प्रयोजनका लागि आफूभन्दा उपल्लो अधिकारीलाई जनाउ दिनु मात्रले गोपनियताको हक भंग हुँदैन । उदाहरणका लागि व्यक्तिगत स्वास्थ्यको सन्दर्भमा पनि गोपनियताको हक आकर्षित हुने भए पनि बिरामी बिदा लिँदा हामीले प्रमाणसहित जानकारी गराउने अभ्यास गर्दै आएका छौं । तेस्रो विषयको सन्दर्भमा, समानताको सन्दर्भ समानहरुकाबीचमा मात्र वाञ्छनीय हुने भएकाले आजको सामाजिक आवश्यकता भनेको समतामूलक समाजको हो ।

विषयको गहिराईलाई आभास गर्ने हो भने यसले महिला र पुरुषबीच असमानता नभई समानताको वातावरण चाहिँ सिर्जना गर्दछ । त्यसैगरी, चौथो विषयको सन्दर्भमा महिनावारी कुनै पनि दृष्टिकोणबाट बिरामी अवस्था होइन । महिनावारी हुनु चाहिँ सामान्य र प्राकृतिक प्रकृया हो । महिनावारीलाई यो वा त्यो बहानामा अस्वस्थताको रुपमा चित्रित गर्नु कुनै पनि दृष्टिकोणबाट विज्ञानसंगत हुँदैन । महिनावारीलाई महिनावारीकै रुपमा बुझिनु पर्दछ ।

सारमा भन्दा, महिनावारी बिदा दिने विषय महिला वा पुरुषको विषय होइन । मातृत्व र पितृत्व एक अर्काका परिपूरक भएकाले यो समग्र प्रजनन् प्रणालीप्रति अपनत्व ग्रहण गर्ने र खासगरी मातृत्वलाई सम्मान गर्ने विषय हो ।

उदाहरणका लागि, कण्डम पुरुषका लागि र प्याड महिलाका लागि हो भन्ने हाम्रो बुझाई नै खोक्रो र अपूर्ण छ र त्यही मानसिकताको निरन्तरता हो, महिनावारी बिदा महिलाका लागि हो भन्ने ।

केही समय अगाडि, नेपाली नायिका प्रियंका कार्की र उनका श्रीमानले हामी गर्भवती छौं (वी आर प्रेग्नेन्ट) भन्दा सामाजिक सञ्जालमा जति खिसीटिउरी गरे पनि भावनात्मक अपनत्वको उच्चतम् अभिव्यक्ति थियो त्यो । त्यसरी नै महिनावारी बिदा पनि महिलाका लागि मात्र नभई, महिला र पुरुष दुवै (भावनात्मक रुपमा) का लागि हो भन्ने तरिकाले बुझ्नुपर्छ किन भने कुनै पनि महिला उनको लागि महिनावारी भोग्दिनन्, भोग्छिन् त मानव वंश रक्षाको निर्विकल्प माध्ययम प्रजनन्का लागि ।

विषय कति महिलाहरुलाई महिनावारी बिदा चाहिन्छ भन्ने होइन । एक जना मात्र महिलालाई महिनावारी हुँदा पीडा हुन्छ भने पनि उनले त्यस दिन बिदाको सुविधा पाउनु पर्दछ । त्यसैले महिनावारी बिदालाई अधिकारभन्दा पनि विशेषाधिकारको अवधारणामा व्यवस्था गर्नु उचित हुन्छ ।


प्रतिक्रिया

2 thoughts on “महिनावारी बिदा: मातृत्वको सम्मान र अपनत्व

  1. I agree but there are other option. So please interact more with joint team. What happened on the case of student Business etc.. Unpaid leave , sick leave __increase days etc

  2. While reading this one i found this one is research based article which is one of the essential process in this type of article…

    Thank you Nikesh jee for being so logical…

Leave a Reply

Your email address will not be published. Required fields are marked *