काठमाडौं उपत्यकाका विद्यालय र फिल्म हलमा लगाइएको रोक लम्बियो – Nepal Press

काठमाडौं उपत्यकाका विद्यालय र फिल्म हलमा लगाइएको रोक लम्बियो

माघ १५ गतेपछि पनि रोक कायमै रहने सीडीओहरुको निर्णय

काठमाडौं । कोभिड-१९ संक्रमण रोकथाम गर्न काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासनले विद्यालय, सिनेमा घर र रात्रीकालिन व्यवसाय संचालनमा लगाएको रोकलाई अनिश्चितकालका लागि लम्बाएका छन् ।

बिहीबार बेलुका बसेको उपत्यकाका तीनै सीडीओको बैठकले १६ बुँदे आदेश जारी गरेका थिए । यसअघि जमघट भेला, विद्यालय, फिल्म हल र रात्रीकालिन व्यवसायलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेका प्रशासनले प्रतिबन्धलाई अर्को सूचना जारी नभएसम्म कायम रहने भन्दै लम्बाएका हुन् ।

काठमाडौंकी निमित्त सीडीओ सुप्रभा खनाल ढुंगेल र ललितपुरका सीडीओ घनश्याम उपाध्यायले नेपाल प्रेससँग कुरा गर्दै माघ १५ गतेसम्म कायम गरिएका प्रतिबन्धलाई अर्को सूचना जारी नभएसम्म निरन्तरता दिने निर्णय भएको बताए ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १५ गतेसम्म विद्यालय र सिनेमा घरलाई संचालन नगर्ने निर्णय गरेको थियो । तर, जिल्ला प्रशासनहरुले संक्रमणको जोखिम उच्च रहेको भन्दै त्यसलाई निरन्तरता दिने निर्णय गरेका हुन् ।

नेपालमा शुक्रबार थप १० हजार ७०३ जना कोभिड संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ४२७९ जना, ललितपुरमा ५६७ र भक्तपुरमा ४५६ जना संक्रमित थपिएका छन् ।

सबैभन्दा बढी सक्रिय संक्रमित देखिएको काठमाडौं जिल्लामा आज मध्यरातदेखि सार्वजनिक र निजी सवारी साधनमा जोर विजोर नियम लागू हुँदैछ । साथै, आजदेखि सार्वजनिक स्थानमा जाँदा र सार्वजनिक सेवा लिँदा अनिवार्य खोप कार्ड देखाउनुपर्ने आदेश छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर