नेपालमा इन्टरनेट समस्या समाधान हुन अझै केही साता लाग्ने, मुम्बइ-गल्फ रुटमा चुँडियो तार – Nepal Press
टोंगा ज्वालामुखी विस्फोट

नेपालमा इन्टरनेट समस्या समाधान हुन अझै केही साता लाग्ने, मुम्बइ-गल्फ रुटमा चुँडियो तार

काठमाडौं । एकसाताअघि टोङ्गामा शक्तिशाली ज्वालामुखी विस्फोटन भएपछि उत्पन्न सुनामीले बिग्रिएको इन्टरनेट संजाल पूर्णरूपमा सञ्चालन गर्न केही साता लाग्ने भएको छ । नेपाली इन्टरनेट सेवा प्रदायकको छाता संस्था (आइएसपीएन)ले विज्ञप्ति जारी गर्दै मुम्बइ-गल्फ रुटमा समस्या आएपछि यसको असर नेपाली इन्टरनेटको गतिमा समेत परेको जनाएको छ ।

नेपालले पनि उक्त रुट हुँदै इन्टरनेट नेपालमा भित्राएको छ । भारतका इन्टरनेट सेवा प्रदायक कम्पनीहरु एयरटेल, टाटा र साइफाइमार्फत नेपालले इन्टरनेट ल्याएको छ । ‘समुन्द्रमुनिको इन्टरनेट संंजालको लाइनमा समस्या आएपछि नेपालमा समेत असर देखिएको छ र केही साताभित्रै समस्या समाधान हुने जानकारी हामीले पाएका छौं’ आइएसपीएनले भनेको छ ।

मुम्बइ-गल्फ रुट हुँदै मध्यपूर्व, अमेरिका र युरोपमा समेत इन्टरनेट संजाल लगिएको छ । उक्त रुटका कतिपय तारहरु चुँडिएपछि वैकल्पिक माध्यममार्फत इन्टरनेट लैजान प्रयास भैरहेको समेत जनाइएको छ । केबल-सिप, मौसमको अवस्था, खुला समुन्द्र र श्रम अनुमतिको उपलब्धताजस्ता कुरामा इन्टरनेटको समस्या कति चाँडो समाधान हुनेछ भन्ने कुरा निर्भर हुनेछ ।

समस्यालाई जतिसक्दो चाँडो समाधान गर्नको लागि आइएसपीएन अपस्ट्रिम प्रोभाइडरसँग सम्पर्कमा रहेको उल्लेख छ ।

सदर्न क्रस केबल नेटवर्क्सका निर्देशक डिन भेभर्काले एएफपी समाचार संस्थासँग भने, ‘हामीले अस्पष्ट जानकारी पाइरहेका छौँ तर एउटा तार छिने जस्तो देखिन्छ। त्यो मर्मत गर्न दुई सातासम्म लाग्न सक्छ। समद्रमुनि तार बिछ्याउने नजिकको पानीजहाज पोर्ट मोर्सबीमा छ’ ४,००० किलोमिटर पर रहेको पपुवा न्यूगिनीको राजधानीलाई इङ्गित गर्दै उनले भने।

एएफपीका अनुसार सदर्न क्रसले सघाइरहेको टोङ्गा केबल लिमिटेडले टोङ्गा र फिजीसँग जोड्ने ८७२ किलोमिटर लामो तारको स्वामित्व लिएको छ। त्यहीँबाट उसको सञ्जाल बाँकी विश्वसँग जोडिन्छ।

टोंगामा भएको के थियो ?

शनिवार प्रशान्त महासागरमा पानीमुनि ज्वालामुखी विस्फोट हुँदा त्यसले आकाशमा धुवाँ र खरानीको मुस्लो निस्किएको थियो भने टोङ्गाको तटीय क्षेत्रमा बज्रिनेगरी १.२ मिटरसम्मका छाल सिर्जना गरेको थियो। त्यसको केही घण्टापछि टोङ्गाको इन्टरनेट र फोन लाइन भङ्ग हुँदा त्यहाँका मानिसहरूलाई बाँकी विश्वबाट सम्पर्कविहीन हुन पुगे।

फोन र इन्टरनेट सेवा अझै निकै सीमित छ। विश्वभरि अहिलै झन्डै ४२८ वटा सबमरीन केबल अर्थात् समुद्रमुनि बिछ्याइएका तार छन्। ती ११ लाख किलोमिटर फैलिएर संसारभरि इन्टरनेट र सञ्चार सेवा पुर्‍याउँछन्।

प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री पठाउन तथा समुद्रमुनि बिछ्याइएको एउटा केबल मर्मत गर्ने प्रयास भरहेको छ। टोङ्गाको मुख्य विमानस्थलको धावनमार्ग ढाकेको खरानी सफा गर्ने काम बुधवार सकिएको एएफपीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर