सर्वसाधारणको लापरबाहीले स्वास्थ्यकर्मीहरुमा कोभिड संक्रमण बढ्यो – Nepal Press

सर्वसाधारणको लापरबाहीले स्वास्थ्यकर्मीहरुमा कोभिड संक्रमण बढ्यो

काठमाडौं । सर्वसाधारणको लापरबाहीले स्वास्थ्यकर्मीहरुमा कोभिड संक्रमण बढ्नेभन्दै सबैलाई सावधानी अपनाएर काम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।

स्वास्थ्यकर्मीहरुमा कोभिड संक्रमणको दर बढ्न गई स्वास्थ्य सेवा प्रवाहमा प्रत्यक्ष असर गर्ने भन्दै आम नागरिकहरुलाई स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न आग्रह गरेको हो ।

शुक्रबार सञ्चारकर्मीसँगको कुराकानीको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले ओमिक्रोन भाइरस स्वास्थ्यका हिसावले कम जोखिमपूर्ण रहेपनि संक्रमण दर बढाइरहेको बताए ।

उनले आम मानिसहरुले स्वास्थ्य सम्बन्धी सरकारले बनाएका मापदण्ड पूर्ण पालना गर्ने र कोरोनाबिरुद्धको खोप अनिवार्य लगाएमा बढ्दो कोरोना संक्रमणलाई कम गर्न सकिने बताए । उनले सरकारले स्वास्थ्यका पूर्वाधारहरु बढाएपनि स्वास्थ्यकर्मीहरु गुणात्मक रुपमा बढाउन असहज भएको बताए ।

सह प्रवक्ता अधिकारीले भने ‘पछिल्लो ओमिक्रोनको संक्रमणलाई हेर्दा यो धेरै संक्रामक रहेको छ । यसले कुनै वर्ग, खोप लगाएको, नलगाएको, केही छुट्टिने अवस्था छैन । तर जोखिमको हिसावले पहिलेको भेरियन्टहरु भन्दा कम जोखिमपूर्ण छ ।  यो हुनुको पछि कोभिड खोप लगाउनेको संख्या बढेको कारण र अर्को बढी प्रभाव पार्ने अंग अरु भेरियन्टले फोक्सोको तलको भागमा बढी प्रभाव पार्दथ्यो भने यसले घाँटीसम्म गएर प्रभाव पार्छ । त्यसैले जोखिमका हिसावले तुलनात्मक रुपमा कम हो । तर भ्याक्सिन नलगाएको मानिसहरुमा बढी जोखिम भइरहेको अस्पतालमा भर्ना दरहरु हेर्दा तलैसम्म जोखिम पु¥याएको हामीले देखेका छौँ । संक्रमणको गति तीव्र छ । ’

उनले स्वास्थ्य पूर्वाधार थप्न सकेपनि स्वास्थ्यकर्मी थप्न नसकेको स्वीकार गरे । उनले अहिले हामी संक्रमणको उच्च अवस्थाबाट गइरहेको र यो केही समय रहन्छ बिस्तारै कम हुँदै जाने बताए । स्वास्थ्य सेवाहरुमा धेरै व्यक्तिहरु संक्रमित हुँदै जाँदा यसले धेरै चुनौति थप्ने उनको भनाइ छ।

उनी भन्छन्,‘समुदायमा धेरै व्यक्तिहरु संक्रमित हुँदा त्यही समुदायमा, परिवारमा बस्ने नर्स, डाक्टर उहाँहरु घरपरिवारबाट पनि संक्रमित हुन सक्नुहुन्छ । ती स्वास्थ्यकर्मीलाई हामीले अलग्गै आइसोलेशनमा बस्ने व्यवस्था गर्नुपर्ने हुन्छ । त्यसो गर्दा उहाँहरुको ठाउँमा काम गर्ने अर्को मानिस चाहियो । थप स्वास्थ्यकर्मीहरु व्यवस्थापन गर्ने चुनौति छ । स्वास्थ्यमा पूर्वाधारहरु धेरै थपिएको छ । तर सवास्थ्यकर्मीहरु गुणात्मक रुपमा थप्न सकिरहेका छैनौँ । भएका स्वास्थ्यकर्मीलाई तालिम दिने र केही स्वास्थ्यकर्मीहरुलाई करारमा लिने काम गरेका छौँ ।  जसले गर्दा जनधनको क्षति बढी हुने सम्भावना छ ।’

सह प्रवक्ता अधिकारीले कोभिड १९ संक्रमण पुष्टि भएको ७ दिनसम्म अनिवार्य रुपमा आइसोलेशनमा बस्नुपर्ने र त्यसपछि पनि लक्षण देखिए थप आइसोलेशनमा बस्न सुझाव दिए । उनले कोरोना भएको ७ दिनसम्म आइसोलेशनमा बसेको छ र सातौँ दिनपछि कुनै लक्षण देखिएको छैन भने कोरोना परीक्षण गराउनुको कुनै औचित्य नरहेको पनि स्पष्ट पारे ।

सह प्रवक्ता अधिकारीका अनुसार ७ दिनमा पनि लक्षण भएको खण्डमा भने आफूमा संक्रमण सक्रिय छ भन्ने बुझेर १३ दिनसम्म आइसोलेशनमा बस्नुपर्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर