तस्करको सुन बोकेर वैदेशिक रोजगारीबाट फर्किएका भरियामाथि ‘गोरे शैली’मा केरकार – Nepal Press

तस्करको सुन बोकेर वैदेशिक रोजगारीबाट फर्किएका भरियामाथि ‘गोरे शैली’मा केरकार

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका सिरहाको सखुवानाकारकट्टी गाउँपालिका ५ का ३० वर्षीय रामेश्वर रामलाई अपहरण गरेको भन्दै तीन जनामाथि अनुसन्धान भइरहेको छ ।

होटलमा बसिरहेको अवस्थामा रामको अपहरण गरेको भन्दै प्रहरीले काठमाडौंको तारकेश्वरका ३२ वर्षीय सन्जोग राई, ३० वर्षीय रमेश अर्याल र मकवानपुरको गढी गाउँपालिका स्थायी घर भई विमानस्थलमा ट्याक्सी चलाउने गरेका ३१ वर्षीय गोकुल घिमिरेलाई पक्राउ गगरि अनुसन्धान भइरहेको हो ।

रामको अपहरणमा संलग्न ४ जना अझै फरार रहेको परिसर स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार राम असोज ८ गते बिहान दुबईबाट काठमाडौं उत्रिएका थिए । त्यहाँबाट उनलाई एक समूहले गाडीमा राखेर बल्खुस्थित होटल कन्चनजङ्गामा लगेको थियो ।

रामलाई होटल छोडेर उक्त समूह बाहिरिएको करिब आधा घण्टामा अर्यालको समूह उनलाई खोज्दै त्यहाँ पुगेको थियो ।

राईको समूहले रामलाई त्यहाँबाट उठाएर ठमेलको ज्याँठास्थित होटल प्लेजर होमको कोठामा थुनेर बन्धक बनाएको प्रहरीको दाबी छ ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार असोज ९ गते बिहान राम होटलको अढाई तलाबाट हाम फालेर भाग्दै प्रहरी सम्पर्कमा पुगेका थिए । त्यतिबेला रामले आफूलाई अपहरण गरिएको बारेमा प्रहरीलाई जानकारी गराउन सफल भएका थिए ।

उनी दुबईबाट आउँदा साथमा सुन ल्याएको खुलेको छ । तर रामले आफूलाई दुबईबाट पठाइएको सामान सुन भएको भन्ने आफुलाई जानकारी नभएको प्रहरी समक्ष बयान दिएका छन् ।

किन नियन्त्रणमा लिइएको थियो रामलाई ?

प्रहरीका अनुसार आर्थिक अवस्था निकै कमजोर भएका रामलाई दुबईमा अरु कसैले टिकट काटेर नेपाल पठाएका थिए । तर ती व्यक्तिलाई केही सुन नेपाल लैजाने जिम्मा पनि दिइएको थियो । त्यतिबेला सुन दिनुपर्ने व्यक्तिको नाम पनि रामलाई भनिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि दुई जना व्यक्ति नजिकै गएर उनलाई सुन भएको पोकाको तस्विर देखाएका थिए ।

आफूले ल्याएको सामान दिनुपर्ने व्यक्ति उनीहरु नै भएको यकिन गर्दै आफु उक्त समूहको पछाडि लागेको बयान रामले दिएका छन् ।

रामलाई ट्याक्सीमा राखेर होटल छाडेलगत्तै उनीसँग भएको सुन लिएर ती व्यक्ति हिँडेका थिए । तर रामले सुन लिएर आएको सूचना पाएको अर्यालको समूह उनलाई खोज्दै लगत्तै होटल पुगेको थियो ।

रामले आफूसँग सुन नभएको बताएपछि उनलाई त्यहाँबाट उठाएर होटल प्लेजर होम पुर्‍याएको दावी प्रहरीको छ ।

होटल प्लेजर होममा त्यो समूहले रामलाई चर्चित सुन तस्कर चुणामणी उप्रेती ‘गोरे’ को शैलीमा यातना दिए । साढे ३३ केजी सुन बेपत्ता बनाएको आरोपमा गोरे समूहले सनम शाक्यलाई चरम यातना दिएर हत्या गरेको थियो । अर्यालको समूहले रामसँग सुन खोइ ? हाम्रो सुन अरुलाई किन दिएको ? भन्दै रातभर पिट्ने, चुरोटको ठुटाले पोल्ने काम गरेको अनुसन्धान अधिकारी बताउँछन् ।

भोलिपल्ट होटलको छतमा कुटपिट भइरहेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तर प्रहरी पुग्दा होटलमा त्यस्तो थिएन । त्यसपछि प्रहरी त्यहाँबाट फर्किएको थियो ।

रामले त्यतिबेला आफूलाई शौचालयमा लुकाइएको र अरु पनि लुकेर बसेको बताएका छन् । प्रहरी फर्किएपछि होटलमा कोही नभएको मौका छोपेर आफू अढाई तलाबाट हाम फालेको रामको भनाई छ ।

घटना भएको झन्डै अढाई महिनापछि प्रहरीले रामलाई बन्धक बनाएर यातना दिने समूहका केही सदस्यलाई पक्राउ गरेको हो । पक्राउ परेकाले रामले आफ्नो सुन अरुलाई नै दिएपछि उसलाई सोधपुछ गरेको बताएका छन् ।

प्रहरीसँगको प्रारम्भिक बयानमा अर्यालले विमानस्‍थलमा सुन लिन आफुले घिमिरेलाई जिम्मा दिएपनि उनले राम अर्कै समूहसँग हिँडेको देखेपछि पिछा गरेर होटल पुगेको बताएका छन् ।

‘पक्राउ परेकाको बयानपछि रामले सुन लिएर आएको भन्ने देखिन्छ। तर उनले ल्याएको सुनमा किन दुई वटा समूहले दावी गर्‍यो भन्नेतर्फ हामी अनुसन्धान गरिरहेका छौँ’, काठमाडौँ प्रहरी परिसरको मुद्धा शाखाका डीएसपी निरन्जन भट्टले भने ।

कमजोर आर्थिक अवस्थाका कारण राम काठमाडौँ आउजाउ गर्न र बस्नसमेत समस्यामा रहेको अधिकारीहरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *