गुणस्तरहीन मह बेचेर पक्राउ परेका श्रेष्ठ भन्छन्- यसो नगरे व्यवसाय नै चल्दैन – Nepal Press

गुणस्तरहीन मह बेचेर पक्राउ परेका श्रेष्ठ भन्छन्- यसो नगरे व्यवसाय नै चल्दैन

काठमाडौं । गुणस्तरहीन मह उत्पादन गरी बिक्री गरेकोआरोपमा पक्राउ परेका नरेश श्रेष्ठले बजारको डिमान्डअनुसार नै त्यस्तो मह बनाएको प्रष्टीकरण दिएका छन् । नरेशले ४० प्रतिशत मह, ३० प्रतिशत चिनी र ३० प्रतिशत ग्लुकोज मिसाएर मह उत्पादन गर्ने गरेको बताएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वसन्त कुँवरले बताए।

‘बजारमा यस्तै महको डिमान्ड छ। ग्राहकले खरिद गर्न सक्नेस्तरको छ। सबै उत्पादकले यसरी नै मह तयार गर्ने होु, प्रहरी हिरासतमा रहेका नरेशको भनाइ उदृत गर्दै एसएसपी कुँवरले भने।

महाशाखाको टोलीले बिहीबार काठमाडौँको ज्याँठास्थित नरेशले सन्चालन गर्दै आएको मह कारखानामा छापा मार्दै ७५ सय लिटर तयारी मह र त्यसको कच्चा पदार्थ नियन्त्रणमा लिएको थियो।

श्रेष्ठले माटोको घरको भुँइ तलामा कारखाना चलाउँदै आएका थिए। त्यहाँबाट प्रहरीले मह बनाउन प्रयोग हुने मेसिन र कच्चा पदार्थहरु राखिएका भाँडाहरु बरामद् गरेको छ।

यसैगरी चमतीमा नरेशले बनाएको गोदाममा पनि प्रहरीले छापा मारेर तयारी मह नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार त्यसरी उत्पादन भएको मह ‘स्पर्श ब्रान्ड’को नामबाट बजारमा पठाइने गरिएको थियो। श्रेष्ठको कम्पनीसमेत कतै दर्ता नभएको प्रहरीको दाबी छ । महका लागि आवश्यक पर्ने चाका भने श्रेष्ठले चितवनबाट ल्याउने गरेको बताएका छन्।

ुमैले डिलरलाई अढाई सय रुपैयाँ प्रतिकेजीमा बिक्री गर्ने हो। तर ग्राहकसम्म पुग्दा यसको मूल्य प्रतिकेजी ६ सय रुपैयाँसम्म पर्न आउँछु, श्रेष्ठको भनाइ उदृत गर्दै एक अनुसन्धान अधिकारीले बताए।

एसएसपी कुँवरले खाद्य तथा गुणस्तर विभागमा परीक्षणपछि मात्र छापा मारिएको बताए। ‘महमा हुनुपर्ने २ वटा तत्वहरु मापदण्डअनुसार देखिएनु’, उनले भने। पक्राउ परेका श्रेष्ठले बजारको माग पूरा गर्न चिनी र ग्लुकोज मिसाएर तयार हुने गरेको बताएपछि प्रहरीले मह उत्पादन गरिरहेका अन्य कम्पनीमाथि पनि निगरानी बढाएको छ।

पतन्जली, डाबर, एभरेस्टलगायत करिब एक दर्जन मह उत्पादक कम्पनीका उत्पादनहरु परीक्षणको तयारी भइरहेको महाशाखा स्रोतले जनाएको छ ।

श्रेष्ठलाई कालोबजारी ऐनअनुसार मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

व्यवसायी श्रेष्ठ नेकपा एसको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष हुन् ।


प्रतिक्रिया

One thought on “गुणस्तरहीन मह बेचेर पक्राउ परेका श्रेष्ठ भन्छन्- यसो नगरे व्यवसाय नै चल्दैन

  1. मलाई लाग्छ बजारका सबै मह नक्कली हुन्। म त कहिल्यै खरिद गर्दिनँ। सिधै गाउँतिर जाँदा शुद्ध मह जति पनि पाइन्छ नि!

Leave a Reply to Indra Pd Ghimire Cancel reply

Your email address will not be published. Required fields are marked *