व्यवसाय सञ्चालन गर्न दिनुपर्ने व्यवसायीहरुको माग – Nepal Press

व्यवसाय सञ्चालन गर्न दिनुपर्ने व्यवसायीहरुको माग

काठमाडौं । कोरोना महामारीलाई मध्यनजर गर्दै व्यवसायीहरुले सरकारले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् ।

विभिन्न पेशामा आवद्ध व्यवसायीहरुले कोरोनाको भयावह अवस्था देखिएपछि विगतका दिनमा सरकारले लकडाउन गर्ने गरेको र त्यसले अर्थतन्त्रमा ठूलो असर पारेको भन्दै व्यवसायीहरुले अब कोरोनासँगै व्यवसाय सञ्चालन गर्न सरकारले सहजता प्रदान गर्नुपर्ने माग गरेका हुन् ।

स‌ंकटको बेलामा सरकारले पर्यटन व्यवसाय लगायतका अन्य व्यापार व्यवसायका क्षेत्र बन्द गर्ने भन्दा पनि नियमलाई परिपालना गर्ने किसिमले सबैलाई समेटेर अघि बढ्नुपर्ने पर्यटन व्यवसायी निलहरी बास्तोलाले बताए । उनले यस्तो बेलामा सरकारले सहुलियत ऋण उपलब्ध गराएर स्वास्थ्यका मापदण्ड पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न दिन माग गरे ।

व्यवसायी बाँस्तोलाले व्यवसायीहरुले पनि एउटा पेशामा मात्रै आधारित भएर काम गर्नु नहुने बताउँदै उनले राज्यले भरोसा नदिएको खण्डमा मजदुर र व्यवसायीहरु आफ्नो पेशाबाटै पलायन हुने अवस्था आइसकेको गुनासो गरे ।

त्यस्तै एति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले खोपकार्ड हेरेर मात्रै विमानमा चढ्न दिने भन्ने निर्णय अव्यवहारिक भएको बताए । उनले सरकारले यो निर्णय निर्णयका लागि मात्रै गरेको भन्दै उनले व्यहारमा उतारेर कार्यान्वयन गर्न नसकिने बताए । उनले सबै बालबालिकाहरुले कोरोनाबिरुद्धको खोप नलगाइसकेको र नेपालमा पनि पर्याप्त जनसंख्याले खोप नपाएकोले सरकारले गरेको उक्त निर्णय कार्यान्वयनमा लैजान कठीन रहेको उल्लेख गरे ।

त्यस्तै होटल संघका उपाध्यक्ष विनायक शाहले सरकारले जारी गरेको निर्देशनमा नियन्त्रणको कुरा मात्रै भएको तर कोरोनासँगै अर्थतन्त्र अघि बढाउने रणनीति नरहेको बताए । उनले सरकारले विगतमा झैँ यस वर्ष पनि निर्देशन जारी गर्दा अर्थतन्त्रलाई उकास्न कुनै पहल नगरेको गुनासो गरे । उपाध्यक्ष शाहले व्यवसाय टिकाउने कुरामा पनि ध्यान दिनुपर्ने भन्दै आर्थिक गतिविधिलाई पनि चलायमान बनाएर अघि बढ्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *