तीन सदस्यलाई प्रवेश निषेध गरेर निगम सन्चालक समिति बैठक, एमआरओ छनौटमा करोडौं कमिसनको चलखेल – Nepal Press

तीन सदस्यलाई प्रवेश निषेध गरेर निगम सन्चालक समिति बैठक, एमआरओ छनौटमा करोडौं कमिसनको चलखेल

काठमाडौं । नेपाल वायु सेवा निगमका तीनजना सदस्यलाई प्रवेश निषेध गरेर सञ्चालक समितिको बैठकमा अर्बौका योजनाहरु पारित गर्न खोजिएपछि सरकारका प्रतिनिधिले असहमति जनाएका छन् ।

निगमका कार्यकारी अध्यक्ष युवराज अघिकारीले हाल मन्त्रालयमा तानिएका महाप्रबन्धक डिमप्रसाद पौडेलसहित सन्चालक समिति सदस्यहरु ईश्वरी पौडेल र फुर ग्याल्जे शेर्पालाई निगमको मूल गेटमै कालो ब्यानर टाँगेर प्रवेश निषेध गरी बैठक अघि बढाएका थिए ।

बैठकको सूचना तीनैजनालाई इमेलबाट पठाएर गेटमा कालो ब्यानर राखिएको थियो । उनीहरु तीनैजना बैठकका लागि गएपछि मूल गेटमै ताल्चा लगाएर प्रवेश गर्न नदिएको भन्दै लिखित ध्यानाकर्षण गराएका छन् ।

सन्चालक समिति बैठकमा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने किशोरकुमार प्रधान मात्र सहभागी थिए भने अर्थ मन्त्रालयका प्रतिनिधि महेश आचार्य र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि होमनाथ लुइँटेल सहभागी भएपछि कोरम पुगेको थियो ।

कोरम पुगे पनि बैठकले कुनै महत्वपूर्ण निर्णय भने गर्न सकेन । बैठकमा मुख्य एजेण्डा निगमका विमानको इन्जिन बनाउने एमआरओ छनोट थियो । चीनको एउटा कम्पनीलाई एमआरओ जिम्मा दिने चलखेल भइरहेको स्रोतले जनाएको छ ।

करिब साढे ३ अर्बको यो काममा चिनियाँ कम्पनीले २० प्रतिशत कमिसन दिने भएकाले यसलाई चाँडो अघि बढाउन खोजिएको स्रोतले जनाएको छ । यसमा निगमकै एक पाइलटले विचौलियाको काम गरिरहेका छन् ।

यो विषय सर्वोच्च अदालतमा विचारधीन रहेको र लेखा समितिले पनि निर्देशन दिएको भन्दै सन्चालक समिति बैठकमा जानबाट बन्चित गरिएका तीनजनाले अदालतबाट निष्कर्ष नआउँदासम्म यस विषयमा छलफलन नगर्न लिखित ध्यानाकर्षण गरेका छन् ।

त्यस्तै नेपाल वायुसेवा निगमले आफ्ना कर्मचारीहरुमार्फत पूर्ण क्षमताका साथ उडान गरिरहेका जापान, मलेसिया, हङकङ जस्ता नाफा कमाइरहेका ठाउँमा थर्ड पार्टी एजेण्ट नियुक्ति गर्ने एजेण्डा पारित गर्न खोजिएको भन्दै उनीहरुले असहमति जनाएका छन् ।

आफूहरुलाई बैठकमा उपस्थित हुने वातावरण नभएको भन्दै प्रधानमन्त्री र पर्यटन मन्त्रीको समेत उनीहरुले ध्यानाकर्षण गराएका छन् । अध्यक्ष स्वयंले आफ्नै खर्चमा तीनवटा कालो ब्यानर राखेर ढोकामा ताल्चा लगाएको उनीहरुले आरोप लगाएका छन् ।

यसबारेमा बुझ्न खोज्दा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी भने नेपाल प्रेसको समपर्कमा आउन चाहेनन् ।


प्रतिक्रिया

One thought on “तीन सदस्यलाई प्रवेश निषेध गरेर निगम सन्चालक समिति बैठक, एमआरओ छनौटमा करोडौं कमिसनको चलखेल

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर