टीट्वान्टी विश्वकपमा भारत र पाकिस्तान भिड्ने – Nepal Press

टीट्वान्टी विश्वकपमा भारत र पाकिस्तान भिड्ने

नयाँ दिल्ली । यसै वर्ष अस्ट्रेलियामा आयोजना हुने आईसिसी टीट्वान्टी विश्वकपमा सुपर– १२ मा भारत र पाकिस्तान आमने–सामने हुने भएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले शुक्रबार प्रतियोगिताको ड्र र खेलतालिका सार्वजनिक गरेको हो। सुपर–१२ अन्तर्गत समूह– १ मा इङ्ल्यान्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया र अफगानिस्तान रहेका छन्।

यसैगरी समूह– २ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका र बंगलादेश छन्। पहिलो चरणबाट ४ टोली सुपर– १२ मा पुग्नेछन्।

पहिलो चरणमा चार–चार टिम रहने दुईवटा समूह रहने छन्। समूह ‘ए’मा नामिबिया र श्रीललंका छन् भने समूह ‘बी’मा वेस्ट इन्डिज र स्कटल्यान्ड छन्। विश्वकपको विश्वस्तरको छनोटबाट पुग्ने चार टोलीले पहिलो चरणमा प्रतिस्पर्धा गर्नुपर्ने छ।

सुपर–१२ को पहिलो खेल अक्टोबर २२ तारिखमा गत संस्करणका फाइनलिष्टहरु अस्ट्रेलिया र न्युजिल्यान्डबीच हुनेछ। अक्टोबर २३ तारिखमा भारत र पाकिस्तान भिड्नेछन्।

अक्टोबर १८ देखि नोभेम्बर १३ तारिखसम्म सन्चालन हुने प्रतियोगिता अस्ट्रेलियाका विभिन्न ७ सहरमा आयोजना हुनेछ।

पाकिस्तान–भारत भिडन्त छैटौँपटक

टीट्वान्टी विश्वकपमा भारत र पाकिस्तान छैटौँपटक भिड्न लागेका हुन्। यी खेलमा भारतले पाँचपटक जित हात पारेको थियो भने पाकिस्तान एकपटक मात्र विजयी भएको थियो।

गत वर्ष यूएईमा आयोजना भएको विश्वकपमा यी दुई टोली सुपर–१२ मै भिडेका थिए। पाकिस्तानले उक्त खेल जितेको थियो। त्यसअघि पाकिस्तानले कुनै पनि स्वरुपको विश्वकप क्रिकेटमा भारतलाई हराउन सकेको थिएन।

सन् २००७ मा आयोजित टीट्वेन्टी विश्वकपको पहिलो संस्करण भारतले पाकिस्तानलाई फाइनलमा सहित दुईपटक हराएर जितेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *