आजदेखि सार्वजनिक स्थलमा जान र सेवा लिन खोप कार्ड अनिवार्य, प्रशासनले अनुगमन गर्दै – Nepal Press

आजदेखि सार्वजनिक स्थलमा जान र सेवा लिन खोप कार्ड अनिवार्य, प्रशासनले अनुगमन गर्दै

काठमाडौं । सरकारले आजदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य देखाउनुपर्ने नियम लागू गरेको छ। गृह मन्त्रालयले सार्वजनिक सेवा प्राप्त गर्न कार्डलाई अनिवार्य गरेको हो।

सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भएपनि हुने) साथमा राख्ने र ती निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउन प्रशासनको आदेश छ ।
खोप कार्डको प्रयोगबारे आजदेखि नै जिल्ला प्रशासनहरुले अनुगमनसमेत गर्नेछन् ।

मन्त्रालयले प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी प्रधान कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र मातहतका विभाग तथा निकायहरुलाई पत्राचार गर्दै सीसीएमसीको सिफारिस कार्यान्वयन गर्न भनेको हो।

सार्वजनिक स्थलमा राजनीतिक, तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यहि प्रकृतिको कार्यक्रम नगर्न पनि गृह मन्त्रालयले आदेश दिएको छ । अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने र अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन आवश्यक व्यवस्था गर्न पनि भनेको छ।

केही सर्वसाधारणले कार्ड हराएको गुनासो गरेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिलिपि उपलब्ध गराउने जनाएको छ ।

हराएको खोप कार्ड तीन तरिकाबाट लिनसकिने मन्त्रालयले जनाएको छ। पहिलो दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिने मन्त्रालयको भनाइ छ।

खोप कार्ड अनिवार्य गरिएपछि खोप केन्द्रमा खोप लगाउनेको भीड पनि बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर