पत्नी एमाले जिल्ला सदस्य निर्वाचित भएपछि क्षेत्रीय सभापतिलाई कांग्रेसले माग्यो स्पष्टीकरण – Nepal Press

पत्नी एमाले जिल्ला सदस्य निर्वाचित भएपछि क्षेत्रीय सभापतिलाई कांग्रेसले माग्यो स्पष्टीकरण

चरिकोट । दोलखाको वैत्यश्वर गाउँपालिकाका एक दम्पती अलग पार्टीको नेतृत्वमा निर्वाचित भएपछि नेपाली कांग्रेसले पतिलाई स्पष्टीकरण नै सोधेको छ ।दोलखाको प्रदेशसभा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति शुक्र तामाङकी पत्नी सीता वम्जन एमालेको जिल्ला कमिटी सदस्यमा निर्वाचित भएपछि दोलखा कांग्रेसमा खैलाबैला मच्चिएको थियो ।

वैत्यश्वर गाउँपालिकाको अध्यक्षमा दावी गरिरहेका शुक्रले एमालेबाट श्रीमतीलाई उपाध्यक्षको उम्मेदवार बनाउने गरि पारिवारिधक सेटिङ गरेको भन्दै कांग्रेसमा प्रश्न उठेपछि यो विषय स्थानीय मिडियामा समाचार बनेको थियो ।समाचार लेखेको भन्दै तामाङसँग आबद्ध गुण्डागर्दी पृष्ठभूमिका युवाहरुले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका बोलीचाली डट कमका रमेश खतिवडालाई धम्की दिएपछि यो विषय थप विवादित बनेको हो ।

नेपाली कांग्रेसका जिल्ला सभापति वर्मा लामाले गत सोमवार चरिकोटमा आयोजित पार्टीको कार्यक्रममा क्षेत्रीय सभापति शुक्र तामाङसँग यसबारेमा स्पष्टीकरण सोधेका छन् ।क्षेत्रीय सभापति जस्तो कार्यकारी पदमा रहेका नेताकी पत्नी एमालेको जिल्ला कमिटी सदस्य बनेकोमा जिल्ला सभापति लामाले यसलाई सुनियोजित हो वा स्वेच्छाले श्रमती एमाले बनेकी हुन् भन्ने प्रष्ट पार्न आग्रह गरेका थिए ।

जिल्ला सभापतिले क्षेत्रीय सभापतिको पत्नी विपक्षी पार्टीको जिल्ला नेतृत्वमा हुँदा पार्टीलाई असर गर्ने भन्दै यदि शुक्रले नै एमालेका पठाएको भए कांग्रेसमै जिम्म्मेवारी दिन तयार रहेको बताएका थिए ।यसबारेमा कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले समेत तामाङसँग जवाफ मागेका थिए । जिल्ला सभापति लामाले यदि अन्यत्रबाट गाउँपालिकाको टिकट लिएर आए पनि आफूले समर्थन नगर्ने चेतावनी समेत दिएका थिए ।

गुण्डागर्दी पृष्ठभूमिका शुक्र तामाङ केही वर्ष जेल बसेर छुटेका थिए । उनी गत असोजमा कांग्रेसको क्षेत्रीय सभापति भएका हुन् भने श्रीमती सीता हालै सम्पन्न एमालेको जिल्ला अधिवेशबाट जिल्ला कमिटी सदस्य बनेकी हुन् ।सीताले भने आफू पारिवारिक रुपमै एमाले रहेको र शुक्र तामाङसँग विहे भएपछि पनि एमालेमै क्रियाशील रहेको बताएकी छन् । पारिवारिक कारणले केही समय राजनीतिमा सक्रिय नरहे पनि अब पुनः पार्टीमा सक्रिय भूमिकामा फर्किएको उनले बताएकी छन् ।

गत पुस २३ मा सम्पन्न एमालेको जिल्ला अधिवेशनमा सीताले वैत्यश्वर गाउँपालिकाको भूगोलतर्फको कोटाबाट ३२० मत प्राप्त गरेर सर्वाधिक मतसहित विजयी भएकी थिइन् ।सीताले आफूले कहिल्यै पनि एमालेबाहेक अन्य पार्टीलाई भोट नदिएको र २०६२ सालमा रोतहटमै अनेरास्ववियुबाट स्वतन्त्र विद्यार्थी युनियनको चुनाव समेत लडेको स्पष्टीकरण दिएकी छन् ।

श्रीमान र आफ्नो पार्टी फरक हुँदैमा लान्छित नगर्न समेत उनले आग्रह गरेकी छन् । उनले आफ्नो निष्ठामाथि प्रश्न उठाउने हक कांग्रेसका कुनै पनि नेता कार्यकर्तालाई नरहेको बताइन् ।यसैबीच दोलखाका एमाले जिल्ला कमिटी उपाध्यक्ष राजेन्द्र मानन्धरले सीता बम्जन पार्टीले तोकेको मापदण्ड अनुसार लोकतान्त्रिक प्रक्रियाबाट जिल्ला कमिटी सदस्य निर्वाचित भएको भन्दै श्रीमान कांग्रेसमा हुँदैमा उनको राजनीतिक स्वतन्त्रतामाथि हस्तक्षेप गर्न नहुने बताए ।

मानन्धरले भने–उहाँ अनेरास्ववियुबाटै हाम्रो पार्टीमा आबद्ध हो । जिल्ला कमिटी सदस्य हुने योग्यता पूरा गरेर निर्वाचनमार्फत आउनुभएको छ । कांग्रेसको आन्तरिक राजनीतिमा सीतालाई जोड्नु जरुरी छैन । उहाँ हाम्रो प्रतिबद्ध कमरेड हो । गैरीमुदीमा उहाँले पार्टीको पक्षमा सधै उभिएर काम गर्नुभएको छ ।

पति पत्नी फरक पार्टीमा हुनु कुनै नयाँ कुरा नभएको मानन्धरले बताए । सीतालाई कसैले पठाएर एमालेमा नआएको भन्दै उनी राजनीतिक पृष्ठभूमिको सचेत र पढेलेखेको महिला भएको समेत मानन्धरले प्रष्ट पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर