स्पेनमा आमाबाबुसँग छुट्टिएर बस्नेलाई अनुदान – Nepal Press

स्पेनमा आमाबाबुसँग छुट्टिएर बस्नेलाई अनुदान

स्पेनमा महँगीसँगै बेरोजगारी दर पनि बढिरहेको छ । रोजगारी भएपछि मात्र अभिभावकबाट छुट्टिने युवाहरू धेरै छन् । छोराछोरीले बाबुआमा नछोड्नुको मुख्य कारण घरभाडा तिर्न नसक्नु हो ।

यसो गर्दा युवाहरूले आफ्नो परिवार बसाउने बारेमा सोच्न नसक्ने भन्दै स्पेन सरकारका एक मन्त्रीले आमाबाबुसँग छुट्टिएर बस्नेहरूका लागि अनुदान दिन सक्ने संभावना देखाएका छन् ।

आवासमन्त्री राकेल सान्चेजले यस महिनाको सुरुदेखि नै वार्षिक आम्दानी २४ हजार ३१८ यूरो (२०.५ लाख रुपैयाँ) भन्दा कम भएका ३५ वर्षमुनिका नागरिकलाई आगामी दुई वर्षको लागि अपार्टमेन्टको सरकारी भाडा तिर्न प्रतिमहिना २० हजार रूपैयाँ अनुदान लिन सक्ने बताएका हुन् । उनकाअनुसार यो अनुदानले भाडामा अपार्टमेन्ट नपाउँदा कसैको भविष्य खराब हुने छैन ।

युरोस्टेटको एक अध्ययनका अनुसार, युवाहरूले आमाबाबुको घर छोडेर आफ्नो घर बसाउने औसत उमेर पोल्याण्डमा सबैभन्दा कम २८ र सबैभन्दा बढी क्रोएसियामा ३२ छ । ३० वर्षको उमेरमा स्पेन यस सूचीको मध्यमा छ । तर, सरकारले दिने अनुदानले अपार्टमेन्ट नपाउने युवाको समस्यामा कुनै असर नपर्ने विज्ञहरू बताउँछन् ।

स्पेनको सबैभन्दा ठूलो घर जग्गा वेबसाइट आइडियालिस्टाका प्रवक्ता फ्रान्सिस्को इनारेटाले सरकारी अनुदानले साना अपार्टमेन्ट वा घरहरूको माग बढाउँछ र यस्तो अवस्थामा घरको भाउ फेरि बढ्ने चेतावनी दिएको छ ।

सन् २०२० को तथ्यांकअनुसार २५ देखि २९ वर्ष उमेर समूहका ५५ प्रतिशतभन्दा बढी युवाहरू आफ्ना अभिभावकसँग एउटै घरमा बस्छन् । २०१३ को तथ्यांकसँग तुलनामा यो संख्या ६।५ प्रतिशतले बढेको छ ।

स्पेनमा २५ वर्ष मुनिका २९ प्रतिशत युवा बेरोजगार छन् । सरकारले न्यून आय भएका वर्गका लागि कोभिड रिकभरी फण्डबाट घर बनाउन १ अर्ब यूरो (८,४४० करोड रूपैयाँ) खर्च गर्ने घोषणा पनि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर