गठबन्धन बैठक आजः रामचन्द्र र प्रचण्ड पहिले संसदीय निर्वाचनको पक्षमा – Nepal Press

गठबन्धन बैठक आजः रामचन्द्र र प्रचण्ड पहिले संसदीय निर्वाचनको पक्षमा

काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । मंगलबारको बैठकमा स्थानीय तहको निर्वाचन संविधान अनुसार नै गर्ने सैद्धान्तिक सहमति भएको बताइएको थियो । आजको बैठकले निर्वाचनबारे सरकारलाई गठबन्धनको साझा धारणा दिने बताइएको छ । यद्यपि आजको बैठकमा बैशाखमा स्थानीय निर्वाचनभन्दा संसदीय निर्वाचन गर्ने एजेण्डाले प्रवेश पाउने देखिएको छ ।

गठबन्धनको समन्वय समितिका संयोजकसमेत रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रष्ट रुपमै स्थानीय तहको निर्वाचनअघि संसदीय निर्वाचन गर्नुपर्ने पक्षमा उभिएका छन् ।

गठबन्धनका संयोजक पौडेलले संसद निरन्तर अवरोध भइरहँदा राज्य नै असफल हुन लागेको भन्दै ५ वर्ष चल्नसक्ने संसद निर्माण गर्न पहिले प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने औंल्याएका छन् ।

उनले देशलाई निकास दिन ताजा जनादेशमा जानपर्नेमा जोड दिएका छन् । ‘संसदीय निर्वाचन पहिले गर्नु उपयुक्त हुन्छ । गठबन्धनमा हामी छलफल गर्दैछौं । यो संसद चल्नै नदिने हो भने त चल्नसक्ने संसद पहिले बनाउनुपर्यो नि’, पौडेलले भनेका छन् ।

त्यस्तै माओवादी अध्यक्ष प्रचण्डले पनि बैशाख वा जेठमा संसदीय निर्वाचन गर्न प्रस्ताव गरेका छन् । मंगलबारकै बैठकमा प्रचण्डले स्थानीय निर्वाचन मंसिरमा गर्नेगरी संसदीय निर्वाचन पहिले गर्नुपर्ने प्रस्ताव गरेका थियो ।

सो बैठकमा नेकपा एसका अध्यक्ष नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव अनुपस्थित भएकोले थप निर्णय हुन सकेको थिएन । ‘पहिले संसदीय निर्वाचन गर्ने पक्षमा सबैजसो नेताहरु हुनुहुन्छ । सम्भवतः आज यसबारे अलि विस्तारित धारणा आउँछ’, गठबन्धनका एक नेताले नेपाल प्रेससँग भने ।

मंगलबारको बैठकपछि प्रतिक्रिया दिने क्रममा गठबन्धनका नेताहरुले संविधान अनुसार नै अगाडि बढ्ने सहमति भएको बताएका थिए । संसदको निर्वाचन पहिले गरेर स्थानीय निर्वाचन पछाडि सार्ने प्रस्तावपनि संवैधानिक हुने धारणा गठबन्धनमा व्यक्त भइसकेको छ ।

सत्तारुढ गठबन्धनमा नेकपा एस,जसपा, राष्ट्रिय जनमोर्चा लगायतका दलहरुपनि संसदीय निर्वाचन पहिले गर्नुपर्ने पक्षमा देखिएका छन् । आज ४ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्दैछ ।


प्रतिक्रिया

4 thoughts on “गठबन्धन बैठक आजः रामचन्द्र र प्रचण्ड पहिले संसदीय निर्वाचनको पक्षमा

  1. नाङ्गै हिड अनैतिक , हत्यारा , लुटेराहरू । अस्तिसम्म ओलिले चुनावभन्दा संसदकाे कार्यकाल ५ वर्ष भन्ने अहिले वैशाखमा चुनाव ? चुरा लगाएर हिड लाज नभएका विदेशीका दलालहरू ।

  2. संसद अबरूद्ध होईन संसदको चुनाब गरेर, मामला सुल्झाउ भता मात्र खाएर सता मा अबरूद्ध हुनुहुन्न

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर