प्रधानमन्त्री कप- यी हुन् बलिङ र ब्याटिङमा चम्केका शीर्ष १० खेलाडी – Nepal Press

प्रधानमन्त्री कप- यी हुन् बलिङ र ब्याटिङमा चम्केका शीर्ष १० खेलाडी

काठमाडौं । बुधबार सम्पन्न ट्वान्टी-२० फर्म्याटको प्रधानमन्त्री कप क्रिकेटमा विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई हराएर सशस्त्र प्रहरी बल (एपीएफ)ले उपाधि जित्यो । अनुमान गरिए झैं वागमती प्रदेश र त्रिभुवन आर्मी क्लब सेमिफाइनलसम्म पुगेका थिए ।

आगामी महिना हुने ट्वान्टी-२० विश्वकपको ग्लाेबल क्वालिफायरका लागि बोलाइएका ३० खेलाडीबाट छाँट्न प्रधानमन्त्री कपकै प्रदर्शनलाई आधार बनाइने प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले बताएका थिए । अब प्रारम्भिक टोलीबाट खेलाडीहरु छाँटिदै जानेछन् । याे प्रतियाेगितामा राम्राे प्रदर्शन गरेका केहि खेलाडी समेटिन पनि सक्छन् ।

प्रधानमन्त्री कपमा केही आशा गरिएका खेलाडीले निराश बनाए त केही नयाँ खेलाडीहरुले आशालाग्दो प्रदर्शन गरे । राष्ट्रिय टिमका पूर्व उपकप्तान दिपेन्द्र सिंह ऐरीका लागि यो प्रतियोगिता विशेष रह्यो । उनले आफूलाई ब्याटिङसँगै बलिङमा पनि अब्बल सावित गरे । प्रतियोगितामा सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने ५ खेलाडीको सूचीमा दुवैतर्फ उनी परेका छन् ।

सबैभन्दा बढी रन बनाउने पाँच ब्याटर

१. आसिफ शेखः एपीएफ क्लबका प्रारम्भिक ब्याटर आसिफ शेख प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले प्रतियोगितामा सबैभन्दा बढी रन जोडेका थिए। राष्ट्रिय टोलीका सदस्यसमेत रहेका आसिफले प्रतियोगितामा २ अर्धसतकसहित कुल २ सय २७ रन बनाएका हुन्। उनले २४ चौका र १४ छक्का प्रहार गरे। सेमिफाइनलमा उनले आर्मीविरुद्ध सर्वाधिक ८४ रन जोडेका थिए ।

२.प्रदिप ऐरीः एपीएफ क्लबकै अर्का ओपनर प्रदिप ऐरी पनि प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै दोस्रो धेरै रन बनाउने ब्याटर बने। उनले २ अर्धसतकसहित २ सय १३ रन जोडे। प्रतियोगितामा उनले २४ चौका र ५ छक्का प्रहार गरेका थिए। समूह चरणमा प्रदेश-२ विरुद्ध र सेमिफाइनलमा उनले अर्धसतकीय पारी खेलेका थिए। ऐरी राष्ट्रिय टोलीमा पुनरागमनको दौडमा छन्।

३.कुशल भुर्तेलः नेपाल पुलिस क्लबका ओपनर कुशलले प्रधानमन्त्री कपमा चार खेल मात्र खेलेका थिए । उनले समुहगत चरण बाहेक सेमिफाइनल र फाइनलमा कोरोना संक्रमण पुष्टि भएका कारण खेल्न पाएनन् । त्यहि पनि प्रतियोगिताको सर्वोत्कृष्ट ब्याटर बन्न सफल भए । कुशल प्रतियोगितामा सर्वाधिक तेस्रो धेरै रन बनाउने ब्याटर बने । उनले १७ चौका र ८ छक्कासहित १ सय ८२ रन बनाएका थिए । कुशलले समूह चरणमा कर्णाली प्रदेशविरुद्ध ८२ रन जोडेका थिए ।

४.देव खनालः यू–१९ राष्ट्रिय टोलीका कप्तान देव खनालले लुम्बिनी प्रदेशबाट प्रधानमन्त्री कप खेलेका थिए । उनले प्रतियोगितामा दुई अर्धसतकसहित एक सय ५८ रन जोेडेका थिए। त्यसबीचमा उनले २४ चौका र ५ छक्का प्रहार गरे। चार खेल मात्र खेलेका देव सबैभन्दा धेरै रन बनाउने ब्याटरको सूचीमा चौथो स्थानमा रहे। देवले गण्डकी प्रदेशविरुद्ध सर्वाधिक ५६ रनको योगदान गरेका थिए ।

५ः दीपेन्द्र सिंह ऐरीः नेपाल पुलिस क्लबका दिपेन्द्रले प्रतियोगितामा १ सय ५८ रन बनाउँदै सर्वाधिक धेरै रन बनाउने ब्याटरमा पाँचौं स्थानमा रहे। उनले प्रतियोगितामा दुई अर्धसतक, १५ चौका र ५ छक्का प्रहार गरे। फाइनलमा एपीएफविरुद्ध सबै भन्दा धेरै ६५ रन जोेडे पनि उनले टोलीको हार टार्न सकेनन्।

सर्वाधिक विकेट लिने पाँच बलर

१.दीपेन्द्र सिंह ऐरीः नेपाल पुलिस क्लबका दिपेन्द्र १४ विकेटसहित प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने बलर बने। उनले प्रतियोगितामा ४.७३ को इकोनोमीमा बलिङ गरे। सेमिफाइनलमा बागमती प्रदेशविरुद्ध उनले लिएको ५ विकेटले पुलिसलाई फाइनलमा स्थान बनाउन सजिलो बनाएको थियो।

२.अविनाश बोहराः च्याम्पियन टोली एपीएफ क्लबका अविनाश बोहरा प्रतियोगितामा दोस्रो सर्वाधिक विकेट लिने बलर बने। उनले ७.८ को इकोनोमी कायम गर्दै १२ विकेट लिए । उनले समूह चरणको खेलमा बागमती प्रदेशविरुद्ध ३२ रन खर्चिँदै ४ विकेट लिएका थिए ।

३.अनिल खरेलः लुम्बिनी प्रदेशबाट प्रधानमन्त्री कप खेलेका अनिल प्रतियोगिताका सर्वोत्कृष्ट बलर बने । उनी सबै भन्दा धेरै विकेट लिनेको सूचीमा तेस्रो स्थानमा रहे। समूह चरणबाटै बहिरिएकोे लम्बिनीका लागि उनले ६ को इकोनोमी कायम गर्दै ११ विकेट लिएका थिए । प्रदेश–२ विरुद्ध लुम्बिनीले ४२ रनको जित निकालेको खेलमा उनले १३ रन खर्चेर ५ विकेट हात पारेका थिए ।

४ः किशोर महतोः एपीएफलाई च्याम्पियन बनाउन फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका किशोर प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने बलरमध्ये चौथो स्थानमा रहे। उनले ५.४ को इकोनोमीमा १० विकेट लिएका हुन् । किशोरले फाइनलमा पुलिसविरुद्ध १७ रन खर्चेर तीन विकेट लिएका थिए । उनी प्लेयर अफ दी फाइनल पनि चुनिए।

५.आदित्य महतोः सुदूरपश्चिम प्रदेशका अदित्य महता ९ विकेटसहित पाँचौं सर्वाधिक विकेट लिने बलर बने। सुदूरपश्चिम समूह चरणबाट बाहिरिए पनि महताेले बलियो छाप छाडे। उनले ४.८६ को इकोनोमी कायम गरेका थिए। त्रिभुवन आर्मी क्लवविरुद्ध १४ रन खर्चेर लिएको ४ विकेटले महताेको चर्चा बढेको छ।

प्रतियोगितामा लामो समयदेखि राष्ट्रिय टोलीमा रहेका केही खेलाडीको प्रदर्शन भने सम्झनलायक रहेन। एपीएफका कप्तान समेत रहेका शरद भेषावकरले ६ खेलमा ४६, आर्मीका कप्तान विनोद भण्डारीले ४ खेलमा ७७, बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले ५ खेलमा ७२ रन जोडे।

एपीएफका युवा खेलाडी लाेकेश बमले सेमिफाइनल र फाइनलमा गरेकाे प्रदर्शनबाट सबैकाे ध्यान खिचे । सेमिफाइनलमा त्रिभुवन आर्मीविरुद्द १४ बलमै अर्धशतक प्रहार गरेका उनी घरेलु ट्वान्टी-२० मा सबैभन्दा छिटाे अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । साे खेलमा उनले १८ बलमा ६६ रनकाे पारी खेलेका थिए । फाइनलमा तेस्राे नम्बरमा ब्याटिङ गरी १५ बलमा २७ रनकाे महत्वपूर्ण पारी खेले ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *