अष्ट्रेलियन ओपन : जेरेभ र नाडाल तेस्रो चरणमा


काठमाडौं । विश्व वरियताको तेस्रो नम्बरका एलेक्जेन्डर जेरेभ अष्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
बुधबार मेलवर्न पार्कमा भएको दोस्रो चरणको खेलमा वरियताको ८९औं स्थानका जोन मिल्यानलाई ६–४, ६–४, ६–० को सेटमा हराउँदै तेस्रो चरण पुगेका हुन् ।
गत सिजनको टोकियो ओलम्पिकका स्वर्ण विजेता जेरेभले चौथो चरण प्रवेशका लागि वरियताको २४औं स्थानका राडु अल्बर्टसँग खेल्नेछन् ।
अल्वर्टले दोस्रो चरणमा ४४औं स्थानका एलेक्जेन्डर भुकिचलाई ६–४, ७–६९७–४०, ६–४ को नतिजामा हराउँदै तेस्रो चरण प्रवेश गरेका थिए ।
यस्तै, २१औं ग्राण्डस्लाम जित्ने कीर्तिमान बनाउने लक्ष्यमा रहेका राफेल नाडालले जर्मनीका यानिक हान्फम्यानलाई ६–२, ६–३, ६–४ को सेटमा पराजित गर्दै तेस्रो चरणमा स्थान बनाएका छन् ।
उनले चौथो चरण प्रवेशका लागि विश्व वरियताको २८औं स्थानका कारेन कचानोभसँग खेल्ने छन् ।
कोचानोभले दोस्रो चरणमा बेन्जामीन बोन्जीलाई ६–४, ६–०, ७–५को नतिजामा हराउँदै तेस्रो चरणमा विश्व वरियताको छैठौं नम्बरका नाडाल सँगको भेट पक्का गरेका थिए ।