संविधानलाई उत्कृष्ट भन्नेहरु नै खारेजीको बाटोमा लागे, तर हामीले जोगायौँ : उपेन्द्र यादव – Nepal Press

संविधानलाई उत्कृष्ट भन्नेहरु नै खारेजीको बाटोमा लागे, तर हामीले जोगायौँ : उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधानलाई विश्वकै उत्कृष्ट भन्नेहरु नै संविधान खारेजीको बाटोमा लागेको आरोप लगाएका छन् ।

सिरहामा मधेश आन्दोलनका प्रथमसहिद रमेश महतोको सम्झनामा आयोजित १५ औं बलिदानी सभालाई सम्बोधन गर्दै उनले संविधानलाई उत्कृष्ट भन्नेहरुले संविधान खारेजी गर्न खोजेपनि आफूहरु जोगाउनतर्फ लागेको बताए ।

उनले संघीयता र गणतन्त्र खारेज गर्न चाहनेहरु संविधानलाई समाप्त पार्न खोजेकाले आफूहरु प्राप्त उपलब्धीको रक्षा संविधान बचाउनमा लागेको बताएका हुन् ।

‘फुटबल खेलमा हाफटाइमपछि यताको खेलाडी उता र उताको खेलाडी यता आउँछन् । हामीहरुको हालत त्यस्तै भयो’, जसपा अध्यक्ष यादव भने, ‘हामीले जुन संविधान जलायौं । यो संविधान विभेदकारी हो भनिरहेका छौं । तरपनि हामी भनिरहेका छौं– संशोधनमार्फत परिवर्तन गरौं । तर जसले संविधान जारी गर्ने बेला मधेसीलाई गोली ठोकेर जर्वजस्ती संविधान जारी गर्यो । अहिले उनीहरु भनिरहेका छन् यो संविधानको कामै छैन ।’

उनले थपे, ‘विश्वको उत्कृष्ट संविधान भन्नेहरु अहिले खारेज गर्न लागेका छन् । तर संविधान जलाउने हामीले भनिरहेका छौं पख्नुस् । प्राप्त उपलब्धीलाई कार्यान्वयण गर्नुपर्छ र बाँकीका लागि हामी अगाडी बढ्छौं । संविधान समाप्त पारेपछि संघीयता र गणतन्त्र पनि खारेज हुन्छ भन्ने साजिस तहत नै केपी ओलीले दुई पटक संसद विघटन गरेका थिए ।’

उनले नेपालमा संसदीय व्यवस्था रहेपनि संसदको सर्वोच्चता नभएको टिप्पण गरे । उनले भने, ‘प्रधानमन्त्री चाहेको बेला फ्रेस म्यान्डेड ल्याउन सक्छ । तर यो संविधानमा त्यो व्यवस्था छैन । यो प्रणाली नै असफल छ । नेपाल जस्तो अल्पविकसित मुलुकमा राजनीतिक स्थितिरता सम्भव छैन । यदि राजनीतिक स्थिरता सम्भव छैन भने आर्थिक विकास हुँदैन ।’

केपी ओलीको दुई तिहाइको सरकार ढलेको विषयलाई लक्षित गर्दै अध्यक्ष यादवले भने( हेर्नुभयो नी, दुई तिहाइको सरकार थियो । आज फुटपाथमा घुमिरहेका छन् । मधेसीमाथि गोली बर्साएर संविधान बनाएर जुन खाल्डो खनियो, अहिले त्यसमा आफै खसे ।’

शासकिय स्वरुपमा बदलाव हुनुपर्ने अहिलेको आवश्यकता भएको भन्दै अध्यक्ष यादवले राष्ट्रपटि जनताद्धारा निर्वाचित हुनुपर्ने धारणा राखे । उनले भने, ‘संसदको काम कानून बनाउने र सरकारमाथि चेक एण्ड ब्यालेन्स गर्ने हुनुपर्छ । राष्ट्रपतिले सरकार बनाउनुपर्छ । अनी साँसद खरिद विक्री पनि बन्द हुन्छ ।’

लोसपा नेताहरुलाई जसपामा आउन आह्वान

जसपा अध्यक्ष यादवले लोसपा गठन गरेका नेताहरुलाई पुनः जसपामै फर्किन आह्वान गरे । उनले फुटेर गएपनि आफ्ना लागि काम गर्नुपर्नेमा केपी ओलीका लागि शहिद भएको जिकिर गरे ।

उनले भने, ‘फेरी पनि भन्छु– ओलीको सत्ता जोगाउन र प्रतिगमनको रक्षा गर्न व्ययर्थमा शहिद हुनुभयो । अहिले पनि होसहबास आयो भने आउनुस् र फेरी मधेसी एकता बनाएर अगाडी बढौं । अहिले पनि एकताको आवश्यकता छ ।’

अब सिंहदरबारका लागि लड्नुपर्छ : मन्त्री यादव

जसपा केन्द्रीय कार्यकारिणी सदस्य विजय कुमार यादवले मधेस प्रदेश र मधेस सरकार बनाउने सपना साकार भएको र अब सिंहदरबारका लागि लड्नुपर्ने बताएका छन् ।

मधेसका भुमिव्यवस्था कृषि तथा सहकारी मन्त्री समेत रहेका उनले भने, ‘विगतमा प्रहरी चौकी होस् वा अन्य सरकारी कार्यालय सबैमा मधेस सरकार लेख्ने अभियान नै चलाएको थिए । तर आज त्यो सपना साकार भएको छ । अब बाँकी अधिकारका लागि अगाडी बढ्नुपर्छ ।’

मधेस प्रदेशले हामी सबैको पहिचान स्थापित भएको पनि उल्लेख गरे । उनले मधेस प्रदेश नामाकरण गर्न काँग्रेस र एमालेका साँसदहरुले पनि सहयोग गरेको बताए ।

उनले भने, ‘काँग्रेस र एमालेका साँसदहरुको मनमा पनि मधेस थियो । र रहनेछ । त्यसैले त पार्टीको नीति र निर्देशन नमानेर मधेस प्रदेशमा मतदान गर्नुभयो ।’


प्रतिक्रिया

One thought on “संविधानलाई उत्कृष्ट भन्नेहरु नै खारेजीको बाटोमा लागे, तर हामीले जोगायौँ : उपेन्द्र यादव

  1. मधेशमा पनि यादव जातीवाला परे यी मनुवा । संसारै यादव भन्दा अरू जान्दैनन् यिनले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर