८ बुँदे मापदण्ड जारी गर्दै युवासंघले भन्यो– गफ मात्रै गर्नेलाई बिदा गरिएको हो, कस्लाई के जिम्मेवारी ? – Nepal Press

८ बुँदे मापदण्ड जारी गर्दै युवासंघले भन्यो– गफ मात्रै गर्नेलाई बिदा गरिएको हो, कस्लाई के जिम्मेवारी ?

काठमाडौं । नेकपा (एमाले) निकट युवा संघको पुस अन्तिम साता बसेको केन्द्रीय सचिवालयको दोस्रो पूर्ण बैठकले नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनायो ।

उक्त कमिटीमा नअटाएका कतिपय युवा संघका नेताहरुले भने कमिटी गठनमा पक्षपात गरिएको भन्दै समानान्तर कमिटी बनाउने चेतावनी दिएका छन् । संगठनभित्र विवाद बढेपछि युवासंघले मापदण्डसहित कमिटी गठन गरिएको भन्दै स्पष्टीकरण दिएको छ।

बुधबार संघले बुधबार कमिटी गठन गर्न अपनाएका ८ बुँदे मापदण्डसहित नै स्पष्ट पारेको हो ।

‘कमिटी गठन र १०% मनोनीत तथा ५% समायोजन हुन बाँकी कमरेडहरुको सम्बोधन सम्बन्धि निर्णयलाई तोडमरोड गर्दै आयोजक कमिटीमै रहेका र आयोजक कमिटीमै नरहेका केही व्यक्तिहरुले संगठनको स्थापीत मुल्य–मान्यता,विधि र पद्धति लाई लत्ताउँदै संगठनका असल र ईमानदार कार्यकर्तालाई भ्रमित पार्ने कोशिस गरिरहेका छन्,’ युवा संघले भनेको छ ।

युवासंघका प्रचार विभाग प्रमुख महाराज गुरुङ कमिटी गठन मापदण्डमा आधारित भएर गरेको र कसैलाई पक्षपात नगरिएको बताउँछन् । ‘पार्टीको केन्द्रीय कमिटीको दोस्रो बैठकले भातृसंगठन व्यवस्थित पार्न निर्देशन दिएको थियो,’ नेपाल प्रेससँग उनले भने, ‘त्यसै अनुसार मापदण्ड बनाएर हामीले कमिटी बनाएको हौं । समायोजन हुन आएका र कलष्टर मिलाँदा केही साथी पर्नु भएन । विरोध गर्नेहरुमध्यका धेरै त उमेर हद पार गरेका हुनुहुन्छ । उहाँहरुले अब पार्टीमा गएर काम गर्ने हो भनेर कमिटीमा नराखेको हो ।’

गुरुङले कतिपय कमिटीमा मात्रै बस्ने, संगठनको काम नगर्ने र विरोध मात्रै गर्दै हिँड्नेलाई भने संगठनमा नराखिएको बताए। ‘कतिपयको कामै विरोध मात्रै गर्ने हुँदो रहेछ,’ उनले भने, ‘उहाँहरु एकै पटक बैठकमा मात्रै देखिनुहुन्छ । त्यसपछि कहाँ गएर काम गर्नुहुन्छ केही थाहा हुन्न । उहाँहरुलाई नराखिएकै हो।’

पोखरामा सम्पन्न सचिवालय बैठकले किरण पौडेल संयोजक र सन्जि झा तथा क्रान्ति बुर्लाकोटी सहसंयोजक रहेको महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो । युवा संघका इन्चार्ज महेश बस्नेतले आयोजक कमिटी तथा केन्द्रीय कार्यालयको नाम वाचन गर्दा केही नेता बहिस्कार गरेर हिँडेका थिए ।

कसलाई के जिम्मा ?

युवा संघले संयोजक र सहसंयोजक बाहेक अरु सबैलाई आयोजक कमिटी सदस्य बनाएको छ । पूर्व पदाधिकारीहरुलाई विभिन्न विभाग र प्रदेश इन्चार्जको जिम्मा दिइएको छ ।

बैठकले क्षितिज थेबेलाई संगठन विभाग, पुष्प श्रेष्ठलाई युथफोर्स विभाग, रमेश आचार्यलाई सूकल तथा नेतृत्व विकास विभाग र रामजी सापकोटालाई कार्यालय विभाग प्रमुखको जिम्मा दिएको छ ।

त्यस्तै सम्राट गौचन प्रकाशन विभाग,महाराज गुरुङ प्रचार विभाग,सुनिता कार्की मानव अधिकार विभाग,उर्मिला सुनुवार महिला विभाग,सीता सुवेदी पर्यटन विभाग र बिष्णुराज बिसी कानून विभाग प्रमुख तोकिएका छन् ।

संघले राकेश लामालाई स्वयंसेवक विभाग,हिमेश केसीलाई नर्विाचन आयोग प्रमुख तोकेको छ । निर्वाचन आयोग उपप्रमुख बाबु छतकुली छन् भने दिनेश थापा अनुशासन आयोग प्रमुख र प्रकाश लामिछाने लेखा आयोग प्रमुख बनेका छन् ।

युवा संघले प्रदेश इन्चार्जहरु पनि हेरफेर गरेको छ । जस अनुसार प्रदेश १ मा अन्जना अधिकारी,मधेश प्रदेशमा सत्यनारायण यदाव,वागमतीमा अमित लामा,गण्कडीमा सन्तोष रावल,लुम्बिनीमा सुमन पुरी, कर्णालीमा राजन थापा,सुदूरपश्चिममा विसनाथ चन्द र अन्तर जिल्ला इन्चार्जमा बलराम बेल्बासे तोकिएका छन् ।

यस्ता छन् कमिटी बनाउँदा अपनाईएका आठ मापदण्ड

१) पार्टी निर्देशन अनुसार राष्ट्रिय महाधिवेशन आयोजक कमिटी निर्माण गरि महाधिवेशन आयोजक कमिटीको सदस्य,सचिवालय,स्थायी कमिटी पदाधिकारी र कार्यालय कमिटीको संख्या घटाईएको ।

२) उमेर हद पार गरेका कमरेडहरुलाई अहिलेसम्म संगठनमा पुराउनु भएको योगदानको उच्च कदर गर्नका लागि पुर्ववत हैसियत सम्मानयोग्य होस् भन्ने कुरा ख्याल गर्दै महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।

३) पार्टीको भौगोलिक प्रदेश र जिल्ला कमिटी पदाधिकारी र पालिका कमिटीमा अध्यक्ष र सचिवको जिम्मेवारीमा रहनुभएका कमरेडहरुलाई महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।

४) नेतृत्वले पटकपटक सजग गराउँदा पनि संगठनको जिम्मेवार तहमा बसेर पार्टी र संगठनको मुल नेतृत्व र नितिको बद्ख्वाई गर्दै हिड्ने कमरेडहरुलाई महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।

५) संगठनको उपल्लो तहको जिम्मेवारीमा रहेर पनि संगठनको काममा ६ महिना भन्दा बढी निष्क्रिय रहेका कमरेडहरुलाई विधानको आदेशअनुसार महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।

६) महाधिवेशन आयोजक कमिटी निर्माण गर्दा समावेशी सिद्धान्तलाई पुर्ण पालना गरिएको । जसअन्तर्गत :-

१ र २ निर्वाचन क्षेत्र भएका जिल्ला २ खुल्ला १ महिला

३ र ४ निर्वाचन क्षेत्र भएका जिल्ला ३ खुल्ला १ महिला

५ र ६ निर्वाचन क्षेत्र भएका जिल्ला ४ खुल्ला १ महिला

१० निर्वाचन क्षेत्र भएका जिल्लाबाट ५ खुल्ला १ महिला

जनजाति तर्फबाट ६ खुल्ला ४ महिला

मधेसी तर्फबाट ६ खुल्ला ३ महिला

मुस्लिम तर्फबाट ३ खुल्ला १ महिला

उत्पिडित÷दलित तर्फबाट २ खुल्ला १ महिला

थारु समुदाय तर्फबाट २ खुल्ला १ महिला

पिछडिएको क्षेत्र तर्फबाट २ खुल्ला १ महिला

अल्पसंख्यक तर्फबाट २ खुल्ला १ महिला

अपांग (विशेष क्षेत्र) तर्फबाट १ खुल्ला १ महिला

विशेष योगदान गरेकाहरु मध्येबाट २ खुल्ला १ महिला

खुल्ला तर्फबाट २७ खुल्ला १३ महिला

कार्यालय कमिटी १० खुल्ला ३ महिला

७) नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बाट १०% मनोनीत (मनोनीत गर्दा आन्दोलनमा विशेष योगदान गर्नुभएका केन्द्रीय सदस्य कमरेडहरुलाई प्राथमिकतामा राखिएको) र ५% समायोजन प्रक्रियामा छुट्नुभएका कमरेडहरु लाई समावेश गरिएको ।

८) पार्टी केन्द्रले तोकिदिएको नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको सिमित संख्या भित्र समावेश गर्न छुट्नुभएका कमरेडहरुलाई योग्यता,क्षमता र क्रियाशीलता अनुसार केन्द्रीय आयोगहरु ( लेखा,अनुशासन र निर्वाचन) , केन्द्रीय विभागहरु,केन्द्रीय युवा परिषद र प्रदेश तथा विशेष प्रदेश कमिटीमा जिम्मेवारी प्रदान गर्ने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर