प्रदेश एकमा प्रहरी निरीक्षक लिम्बु र प्रहरी जवान कार्की पुष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित – Nepal Press

प्रदेश एकमा प्रहरी निरीक्षक लिम्बु र प्रहरी जवान कार्की पुष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

बिराटनगर । प्रदेश नम्बर एक मातहतका कार्यालयमा कार्ररत प्रहरीमध्ये प्रहरी निरीक्षक (इन्सपेक्टर ) देउप्रसाद लिम्बु र प्रहरी जवान नरबहादुर कार्की पुष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । इलाका प्रहरी कार्यालय पशुपतिनगर ईलाममा कार्यरत इन्सपेक्टर लिम्बु र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरमा कार्यरत प्रहरी जवान कार्की पौष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

उनीहरु दुवै जनाले विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्नुका साथै अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याएकाले सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रवक्तासमेत रहेको प्रहरी उपरीक्षक (एसपी) नविनराज राईले जानकारी दिए । उनका अनुसार दुवै जनाले २० बर्ष अगाडी कर्तव्य गरी ज्यान मारेको तत्काल अभियुक्त नखुलेको कर्तव्य ज्यान मुद्दामा संकित व्यक्तिलाई निगरानिमा राखी प्रतिवादीको पहिचान गरी थप प्रमाण जुटाई पक्राउ गर्न सफल भएका थिए ।

यस्तै अनुमति प्राप्त नभएको डुंगा संचालन गरी क्षमता भन्दा बढी यात्रु हालेर लापरवाही गरी सप्तकोशी नदिमा डुंगा चलाएको कारण दुर्घटना भई डुंगा पल्टिदा करिव १५ जना बेपत्ता पारेको ज्यान सम्बन्धी कसूर मुद्दामा वारदात पश्चात ८ बर्षसम्म फरार रहेका प्रतिवादीलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

यतिमात्र नभई आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनेतर्फ प्रशंसनीय कार्य गरेकोले इलाका प्रहरी कार्यालय पशुपतिनगर, इलाम दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक लिम्बु र इलाका प्रहरी कार्यालय वाना, संखुवासभा दरबन्दी भई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरमा कार्यरत प्रहरी जवान कार्कीले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७८ साल पुस ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको हो ।

प्रहरी कर्मचारीको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले एक नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीमध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आएको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स प्रिण्ट गरेर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा प्रदेश अन्तर्गत रहेका ‘क’ स्तरसम्मका सबै इलाका प्रहरी कार्यालयमा एक महिनासम्म राख्ने गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *