भोलिसम्म स्थानीय निर्वाचनको मिति नतोके सडक आन्दोलन गर्ने एमाले नेता पोखरेलको चेतावनी (भिडिओसहित) – Nepal Press

भोलिसम्म स्थानीय निर्वाचनको मिति नतोके सडक आन्दोलन गर्ने एमाले नेता पोखरेलको चेतावनी (भिडिओसहित)

काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले समयमा नै स्थानीय तहको निर्वाचन नगराए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

बुधबार काठमाडौंमा आयोजितसाक्षात्कार कार्यक्रममा बोल्दै नेता पोखरेलले समयमा नै स्थानीय तहको निर्वाचन गराउन सरकारलाई दवाव दिएका हुन् ।

उनले स्थानीय तहको निर्वाचनमा नेकपा एमाले एक्लैले ७५ प्रतिशत सिट जित्ने दाबी समेत गरे । नेता पोखरेलले एमालेको लोकप्रियताबाट गठबन्धन सरकार अत्तालिएर निर्वाचन नगराउने षड्यन्त्रमा लागिपरेको आरोप समेत लगाए ।

निर्वाचन आयोगले भोलि ९बिहीवार० सम्म स्थानीय तहको निर्वाचनको मिति नतोके सरकारविरुद्ध सडकमा जनता परिचालन गरेर निर्वाचनको मिति तोक्न बाध्य बनाउने उनको भनाइ छ ।

नेता पोखरेलले भने, ‘म भन्न चाहन्छु नेकपा एमाले सर्वोच्च अदालतबाट जबरजस्ती गलत्याइएको दल हो । नेकपा एमाले चुनावको पक्षमा छ ।सरकारलाई कम्तिमा निर्वाचन आयोगले दिएको तिथि वैशाख १४ र २२/२३ गतेभित्र चुनाव गराउनको लागि म आह्वान गर्न चाहन्छु । एमाले अहिले पनि जनताको लोकप्रिय पार्टी हो । हामी स्थानीय तहको निर्वाचनमा विजय प्राप्त गर्नेछौँ । म घोषणा गर्न चाहन्छु, कम्तिमा ७५ प्रतिशत सिट नेकपा एमालेले स्थानीय तहमा जित्नेछ ।

यसबाट अत्तालिएर अहिलेको गठबन्धन सरकार निर्वाचन नगराउने षड्यन्त्र गरिएको छ, यो षड्यन्त्रलाई चिर्नको लागि हामी भोलिसम्म पर्खन्छौँ । निर्वाचनको तिथि भोलिसम्म घोषणा भएन भने सडकबाट जनता उरालेर परिचालन गरेर निर्वाचनको माग गर्न हामी सडकमा जान्छौँ । त्यसकारण स्थानीय तहको निर्वाचन नगराउने कुरा दिमागमा नसोचियोस् । पराजित मानसिकताले हाम्रो संविधान र कानून, निर्वाचन प्रणाली कमजोर बनाउने प्रयत्न नगरियोस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *