खेसरीलालले लगिसके १६ लाख, टिकटको पैसा पनि लुटिएको भन्दै आयोजकको टाउकोमा हात – Nepal Press
बर्जु महोत्सवमा वितण्डा

खेसरीलालले लगिसके १६ लाख, टिकटको पैसा पनि लुटिएको भन्दै आयोजकको टाउकोमा हात

प्रहरी भन्छ- गाउँपालिका अध्यक्ष घटनाको जिम्मेवार

काठमाडौं । सुनसरी जिल्लाको बर्जु गाउँपालिकास्थित सिमसार क्षेत्रमा अवस्थित छ, १५२ बिघा क्षेत्रफलमा फैलिएको बुर्जुताल । पर्यटकीय सम्भाव्यता बोकेको यही तालको प्रचारप्रसारका निम्ति तीन वर्षदेखि बर्जु महोत्सव आयोजना हुँदै आएको छ ।

यसपाली पुस २३ गतेबाट तेस्रो बर्जु महोत्सव सुरू भएको थियो । तर, यसको अन्त्य निकै दु:खद ढंगले भयो । अन्तिम दिन हिजो मंगलबार एक भारतीय कलाकारलाई बोलाएर भव्य समापन गर्ने तयारी आयोजकले गरेका थिए । तर, कार्यक्रम मात्रै विथोलिएन कि ठूलो भौतिक क्षतिसमेत भएको छ ।

भोजपुरी स्टार खेसरीलाल यादवलाई कार्यक्रमस्थलमा पुग्न प्रहरीले रोकपछि दर्शकले वितण्डा मच्चाएका थिए । ठूलो आर्थिक नोक्सानी खेप्नु परेपछि आयोजक बर्जु सामुदायिक विकास केन्द्र अहिले संकटमा परेको छ ।

आयोजकले जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर नै महोत्सवको आयोजना गरेको थियो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले १२ दिने महोत्सवका लागि आफूहरुलाई पूर्वस्वीकृति दिएको आयोजक संस्थाका श्रवण चौधरीले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘त्यसबेला नै हामीलाई कोरोनाको कारण देखाएर रोक लगाइएको भए यो अवस्था आउने नै थिएन ।’

महोत्सव १० दिनसम्म निर्वाध चलेको थियो । पुस २ गते प्रशासनबाट महोत्सव रोक्नका लागि आदेश आएको चौधरीको स्वीकारोक्ति छ ।
उनले भने, ‘प्रहरी र प्रशासनबाट हामीलाई आदेश आएको हो । तर, हामीले भारतीय कलाकारलाई महँगो पारिश्रमिक दिइसकेका थियौं । त्यसैले ४ गतेको कार्यक्रम नरोकिदिन बारम्बार अनुरोध गरेका थियौं ।’

यो पनि पढ्नुहोस् : खेसरीलालले भने- विध्वंसका जिम्मेवार महोत्सव आयोजक, मलाई क्षतिपूर्ति दिनुपर्छ (भिडिओसहित)

आयोजकले भारतमै पुगेर यादवलाई १० लाख भारु (१६ लाख रूपैयाँ) पारिश्रमिक अग्रिम भुक्तानी गरेको थियो । तर, कार्यक्रम रोक्न दवाव आएपछि आयोजक समस्यामा पर्‍यो । यता पारिश्रमिक लिइसकेका यादवले पैसा फिर्ता गर्न चाहेनन् ।

प्रशासनले कार्यक्रम रोक्न आदेश दिएकोबारे आफूलाई पूर्वसूचना नगरिएको दावी यादवले गरेका छन् । तर, जिल्ला प्रशासन कार्यालयबाटै उनलाई कार्यक्रममा नआउन खबर गरिएको स्रोतले बतायो ।

‘कोरोनाका कारण भीडभाड हुने कार्यक्रममा रोक लगाइएको भनेर उहाँलाई अग्रिम जानकारी गराइएको थियो, तर तपाईंहरूको कुरा आपसमा मिलाउनुस्, भन्ने जवाफ मिल्यो,’ स्रोतले भन्यो ।

यादव ३० जनाको टोली लिएर कार्यक्रमका लागि हिजो बिहान ७ बजे नेपाल प्रवेश गरेका थिए । आयोजकले उनीहरुलाई बिराटनगरको एउटा होटलमा लगेर राख्यो । ११ बजे सुरू हुने कार्यक्रमका लागि यादवको टोलीका सबै सदस्यहरू पाँचवटा स्कर्पियो लिएर होटलबाट महोत्सवस्थलमा पुगेका थिए । उनीहरुलाई प्रहरीले रोकटोक गरेन ।

तर, करिब १० बजेतिर यादव जान लाग्दा भने प्रहरी टोली होटल आएर उनलाई घेराउ गरेको थियो । प्रशासनको निर्देशनविपरीत कार्यक्रम गर्न लागिएकाले सुरक्षाको जिम्मेवारी लिन नसक्ने प्रहरीले बताएपछि यादव होटलमै रोकिए ।

प्रहरीले समयमै कार्यक्रममा हस्तक्षेप नगर्दा दु:खद घटना निम्तिएको आयोजकको गुनासो छ ।

चौधरीले भने, ‘अरु कलाकारलाई पनि जान रोकेर कार्यक्रमस्थलमा सुरूमै हस्तक्षेप गरेको भए यो अवस्था आउने थिएन ।’

यादव नआएपछि कार्यक्रम बिथोलियो । आयोजकले बिहानबाट टिकट बेच्न थालेका थिए । कुर्सीमा बस्नेलाई ५ सय रुपैयाँ र भुइँमा बस्नेलाई ३ सय रूपैयाँको टिकट तोकिएको थियो । एक हजारदेखि १५ सयजति टिकट बिकेको हुन सक्ने चौधरीले बताए । हुलदंगाका क्रममा टिकटबाट उठेको सबै रकम लुटपाट भएको उनको भनाइ छ ।

‘आक्रोशित दर्शकले काउन्टरमा समेत आक्रमण गरेर हाम्रो सबै पैसा लुटेर लगे । १०-१२ लाख जति थियो होला,’ उनले भने ।

प्रहरी भन्छ- गाउँपालिका अध्यक्ष जिम्मेवार

प्रहरीले भने पटक-पटक लिखित आदेश दिँदा पनि कार्यक्रम आयोजक र बर्जु गाउँपालिकाको अध्यक्षले जबरजस्ती गर्दा दु:खद घटना भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले संस्थाको नाममा गरिएको भए पनि यो महोत्सवको मुख्य आयोजक बर्जु गाउँपालिका नै भएको बताए ।

उनले भने, ‘केन्द्र सरकारले कोभिडका कारण २५ जनाभन्दा बढी जम्मा हुन नपाइने निर्णय २६ गते गरेसँगै २८ गते जिप्रकाबाट सबै गाउँपालिकालाई यस्ता कार्यक्रम रोक्न पत्राचार गरिएको थियो । त्यसको अटेर गर्दै महोत्सव जारी राखिएपछि माघ २ गते फेरि बर्जु गाउँपालिकालाई लिखित निर्देशन दिइयो । गाउँपालिका अध्यक्षलाई नै सीडीओ कार्यालयमा बोलाएर सम्झाउने प्रयास गरियो । तर, उनले अटेर गरे । जिप्रकाको निर्देशनको अवज्ञा गरेकाले यसमा गाउँपालिका अध्यक्ष पूर्णरुपमा जिम्मेवार छन् ।’

घटना रोक्न प्रहरीले हरसम्भव प्रयास गरेको थापाले बताए ।

उनले भने, ‘हामीले केही गरेनौं भन्ने झूटो कुरा हो । प्रहरीले स्टेज बचाएको छ । साउन्ड सिस्टमहरू जोगाएको छ । हो, बाहिर पार्किङमा राखिएका गाडीहरू जले । तर, प्रहरीले हस्तक्षेप नगरेको भए योभन्दा धेरै ठूलो क्षति हुनेवाला थियो ।’

थापाका अनुसार प्रहरीले धेरै बल प्रयोग गर्न सक्ने अवस्था थिएन ।

‘प्रहरीबाट १५ सेल अश्रु ग्यास प्रयोग भएको छ । गोली मात्र नचलाइएको हो । त्यस्तो भीडभाडमा गोली चलाएको भए भागदौड भएर मान्छे किच्चएर मर्थे । कम्तीमा मानवीय क्षति हुन पाएन । हामीले सुझबुझका साथ काम गरेका छौं,’ उनले भने ।

घटनास्थलमा १७५ जनाको प्रहरी बल तैनाथ रहेको थापाले जानकारी दिए । १० औं हजारको भीडलाई यति सुरक्षाकर्मीले नियन्त्रण गर्न नसक्ने उनको भनाइ छ ।

यो पन पढ्नुहोस् : भोजपुरी स्टारलाई प्रहरीले महोत्सव जान रोकेपछि दर्शकले चारवटा गाडी जलाए (भिडिओ)

यादवको टोलीलाई महोत्सवस्थल पुग्न नरोकेकाले घटना भएको भन्ने आयोजकको भनाइलाई लिएर थापा आक्रोशित बने ।

उनले उत्तेजित बन्दै भने, ‘त्यो चोर, फटाहालाई हामीले बारम्बार कार्यक्रम रोक्न भन्दा अटेर गर्ने, अनि सबै प्रहरीको थाप्लोमा हाल्न खोज्ने ? गजब लाग्छ बा । हामीले बारम्बार बोलाएर सम्झाउँदा त्यसको दिमाग घाँस खान गएको थियो ?’

अरु कलाकारहरूलाई लुकाइछिपाइ चोर बाटोबाट छिराइएको उनले दाबी गरे । मुख्य आकर्षण खेसरीलाल यादव भएकाले प्रहरीको ध्यान उनीतिर हुनु स्वाभाविक भएको उनको भनाइ छ । घटनामा भएको भौतिक क्षतिको जिम्मेवारी आयोजकले नै लिनुपर्ने उनले बताए ।

कार्यक्रम बिथोलिएपछि हिजै खेसरीलाल भारत फर्किसकेका छन् । उनको टिमका ६-७ जना भने नेपालमै छन् । फर्किनुअघि यादवले फेसबुक लाइभमा बोल्दै घटनामा आफूहरूको डेढ करोडको क्षति भएको दाबी गरेका थिए । यसको क्षतिपूर्ति आयोजकले दिनुपर्ने उनको माग छ । यद्यपि, आफूले अग्रिम लिएको १६ लाख पारिश्रमिक फिर्ता गर्न भने उनी तयार छैनन् ।


प्रतिक्रिया

2 thoughts on “खेसरीलालले लगिसके १६ लाख, टिकटको पैसा पनि लुटिएको भन्दै आयोजकको टाउकोमा हात

  1. भारतीय कलाकार #खेसारीलाल यादवको कुरा सुन्दा सुनसरी स्थित #बर्जुको त्यो कार्यक्रममा उनको दोष रहेको जस्तो देखिएन । उनकै भनाईमा ३५ लाखमा आएका उनको करोडको क्षति भएको छ ।।

    यता, त्यहीँ स्थानमा दैनिक कार्यक्रम भैरहँदा कोरोना सर्दैनथ्यो, खेसारीलालको टिमका अन्य कलाकार नाचिरहँदा कोरोना फैलेको थिएन । तर खेसारीलाल आँउदा कोरोना फैल्थ्यो रे, त्यसैले उनलाई होटेलमै प्रशासनले रोकेको थियो रे ।।

    #आयोजक, #पालिका प्रशासन र #जिल्ला प्रशासनको लापरबाही र #असक्षमताका कारण हिजो त्यत्रो ठुलो घटना घटेको देखिन्छ ।।

    आयोजकले #दर्शकलाई भ्रममा राखे, पालिका प्रशासनले #लापरबाही गरे र CDO कार्यालयले एउटा चिठी लेखेर मात्र #प्रक्रिया पुरा गरे ।

    गम्भीरता कुनै पक्षमा देखिएन, सबैले झारो टार्ने कार्य मात्र गर्‍यो । सम्बन्धित सबैलाई आवश्यक कारवाही होस् ।।

  2. एस पि ले जुन किसिमको अभिव्यक्ति दिएको छ यो सरासर गलत हो पुलिस एक गाडी आउदा स्टेज र साउण्ड सिस्टम तोडफोड भएको थियो ,गाडी तोडफोड गरेको थियो । उनिहरु आस्रु ग्यास फायर गरेको हो तर उनिहरु गैसके पछि अनि आगलागी भयो सबै गाडी र जलेर राख भै सके पछि अनि आए दङ्गा प्रहरी दुई गाडी र सस्त्र प्रहरी ।

Leave a Reply to saroj chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *