डेजी पाण्डे- राजनीतिसँगै कृषिकर्ममा रमाइरहेका एक नेता – Nepal Press

डेजी पाण्डे- राजनीतिसँगै कृषिकर्ममा रमाइरहेका एक नेता

कैलाली । नेकपा एमाले कैलालीको सचिव पदमा निर्वाचित भएको तेस्रो दिन डेजी पाण्डे धनगढीमा देखिएनन् । उनी आफ्नै माछा फर्ममा व्यस्त थिए । हो, उनी अहिले राजनीतिसँगै सिर्जनशील कृषि कर्ममा व्यस्त छन् ।

पाण्डेले एमालेमा झण्डै तीन दशक बिताइसकेका छन् । २०४८ सालमा कैलालीको बौनियामा रहेको रधुनाथ माध्यमिक विद्यालयमा अखिलको अध्यक्ष भएका पाण्डे त्यसको करिब ९ वर्षपछि सुदूरपश्चिम प्रदेशकै सबैभन्दा धेरै विद्यार्थि अध्ययन गर्ने कैलाली बहुमुखी क्याम्पसको स्ववियु सभापति भए ।

२०५८ सालमा केन्द्रीय स्ववियु काउन्सिलका सहसंयोजक रहेका पाण्डे त्यसपछि पार्टी राजनीतिमा सक्रिय भए । एमालेको कैलाली जिल्ला सचिवालय सदस्य रहेका पाण्डे अखिल नेपाल राष्ट्रिय किसान महासंघको स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम सचिव थिए । २३ गतेदेखि सुरु भएको एमाले कैलालीको जिल्ला अधिवेशनबाट उनी सचिव पदमा निर्वाचित भए ।

उनी सक्रिय राजनीतिमा आउनुभन्दा अघि पनि किसान नै थिए । र अहिले पनि उनले आफ्नो पेसा छाडेका छैनन् । बरु झन् परिष्कृत र सिर्जनशील ढंगमा कृषिकर्म गरिरहेका छन् ।

‘राजनीति हाम्रो पेसा होइन, सेवा हो । पेसा अर्काे नभए सेवामा स्वार्थ मिसिएको हुन्छ’ उनी भन्छन् ‘सेवामा स्वार्थ नहोस् भनेर मैले माछापालन गरेको हुँ ।’

पाण्डे प्रायः कैलाली भजनी नगरपालिका–९, पचमुडियामा भेटिन्छन् । करिब ९० विगाह क्षेत्रफलमा फैलिएको घोडतालमै उनको दैनिकी कट्छ ।

सुरुमा एक करोड २५ लाख लगानीबाट सुरु गरेको व्यवसायमा अहिले करिब पौने दुई करोड बढीको लगानी भइसकेको छ ।

भजनी नगरपालिकासँग पाँच वर्षको ठेक्का सम्झौता गरेका उनले वार्षिक ४५ लाख रुपैयाँ बुझाउँदै आएका छन् ।

‘कैलालीमा माछाको धेरै सम्भावना छ’ उनले भने ‘त्यहीं सम्भावना देखेर मैले यहाँ लगानी गरेको छु ।’

कैलाली मत्स्य तथा कृषि कम्पनी प्रालि दर्ता गरेर ठूलो लगानीमा माछापालन गरिरहेका युवा नेता पाण्डेले पोखरी रेखदेख तथा काममा सहजताका लागि केही कर्मचारी राखेका छन् । माछा मार्दा ५० जनालाई दैनिक रोजगारी दिइरहेका छन् ।

पाण्डेले यो वर्ष पोखरीमा सात लाख ५० हजार माछाका भुरा हालेका थिए । अहिले ती भुरा फस्टाएका छन् । माछा किन्न व्यापारीहरू उनको फर्मसम्मै पुग्ने गर्छन् । उनले यसबाट राम्रो आम्दानी हुने गरेको सुनाए ।

कसरी बन्यो योजना ?

कैलालीको लम्की चुहा नगरपालिका– ९, प्रतापुर निवासी डेजी पाण्डे २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्यका लागि तयारीमा जुटेका थिए । तर, अन्तिम अवस्थामा उनी निर्वाचनमा होमिन पाएनन् ।

तत्कालीन अवस्थामा उनको क्षेत्रमा वाम गठबन्धनको सहमतिअनुसार माओवादी केन्द्रका नेताले टिकट पाए । उनले टिकट नपाए पनि वाम गठबन्धनका नेतालाई चुवानमा जिताउन हिँडे र त्यसपछि उनी फुर्सदिला भए ।

सोही समय भजनी नगरपालिकाले ताल ठेक्काका लागि बोलपत्र आह्वान गरेको उनले जानकारी पाए । उनले ताल ठेक्का लिनका लागि टेन्डर भरे । बढाबढको आधारमा खोलिएको टेन्डरमा उनले वार्षिक ४५ लाख दिने उल्लेख गरेका थिए । उनले सो ठेक्का पाए ।

एउटा ठोका बन्द हुँदा अर्काे ठोका खुल्छ भनेझैँ तत्कालीन अवस्े व्यवसाय अहिले निकै राम्रोसित फस्टाएको छ । अहिले वार्षिक सय क्विन्टल माछा उत्पादन गरिहरेको उनी बताउँछन् । उत्पादन निकै राम्रो भए पनि माछाको लागि आवश्यक दाना नहुँदा उनलाई निकै समस्या परेको छ ।

‘भैरहवाभन्दा नजिक माछाको दाना छैन । असार १४ गते सात लाख ६० हजारको दानाको अग्रिम पैसा दिएको छु’ उनी भन्छन्, ‘लामो समयसम्म न पैसा पाएँ, न दाना ।’

यसअघि लगातार दुई वर्ष कोरोना कहरका कारण लकडाउन बेहोरेका पाण्डेलाई यसपटक पनि त्यस्तै नियति दोहोरिने हो कि भन्ने चिन्ता छ ।

‘अघिल्लो दुई वर्षमा लकडाउन फेस गरे । त्यो बेला पूरै माछा निकाल्न पाइँन’ उनले भने ‘अहिले पनि नयाँ स्रक्रमणको हल्ला चलेको छ । यसले थप समस्या दिन्छ । ’

अहिले कैलालीमा उत्पादित वस्तुले बजार पाउन निकै समस्या छ । उनलाई भने अहिलेसम्म त्यस्तो समस्या परेको छैन । बरु उनले अझै मागलाई धान्न सकेका छैनन् । उनको सबैभन्दा ठूलो समस्या भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्नु हो । ‘भारतमा ५० प्रतिशत सस्तो दाना छ । भुरा पनि त्यहाँ निकै सस्तो छ यस्तो अवस्थामा उनीहरूसँग प्रतिस्पर्धा गर्न निकै समस्या छ’ उनी भन्छन् ।

खुला सिमानाले गर्दा पनि समस्या भएको उनको भनाइ छ ।

सक्रिय राजनीतिमा कमब्याग गरेका पाण्डे अहिले आफ्नो सबै खर्च माछा बेचेर गर्दै आइरहेका छन् । बेरोजगार भएर राजनीतिमा लाग्नुभन्दा कुनै पेसा गरेर राजनीतिमा होमिनुपर्ने उनको सुझाव छ ।

‘मेरो पुस्ता नारा जुलुसमै केन्द्रित बन्यो । मैले पनि विगतमा त्यहीं गरे’, उनले भने , ‘सधैँ नारा जुलुसले मात्रै जिन्दगी चल्दैन भनेर कृषि पेसा अंगालेको हु ।’

माछापालन गर्नुभन्दा पहिलो उनले विभिन्न ठाउँमा गएर यसबारे धेरै ज्ञान लिएको बताउँछन् । ‘हामीले थाहा नपाएर कुनै पनि कामको सुरुवात गर्न हुँदैन’, उनले भने, ‘मैले माछाका विषयमा धेरै कुरा सिकें, अनि यसमा हात हालेको हुँ । चन्दा उठाएर धन्दा चलाउने प्रथाको अन्त्य गर्न आवश्यक छ । त्यसको लागि हामी उत्पादनमा जोडिन आवश्यक छ ।’

सिर्जनशील सोच

पाण्डे यसअघि पनि विभिन्न कार्यक्रमहरू आयोजना गर्दा चन्दा उठाउनु हुँदैन भन्दै आइरहेका हुन्थे । उनी कुनै न कुनै सिर्जनशील काम गरेर आर्थिक व्यवस्थापन गर्दै आइरहेका थिए ।

कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनमा सभापतिको उम्मेदवारी दिँदा पनि उनले नयाँ कामको सुरुवात गरे । बलिदान चलचित्रको च्यारिटी सो गरेर ८४ हजार रकम संकलन भएपछि उनी चुनाव लडेका थिए ।

‘आर्थिक पाटोमा हामी बलियो हुनुपर्छ, नत्र समाजले औंला उठाउन सक्छ’ उनी भन्छन् ‘यस्तै व्यापार व्यवसायसँगै राजनीति गरेमा अरूका लागि पनि प्रेरणाको पात्र बन्न सकिन्छ ।’

यहाँ घोड्ताल बाहेक ८० हेक्टर क्षेत्रफलमा फैलिएको लौकाहा भौकाहा ताल, ४० हेक्टर क्षेत्रफलमा फैलिएको सोनिया ताल, ६६ हेक्टर क्षेत्रफलमा फैलिएको पुरैना ताल, ३५ हेक्टर क्षेत्रफलमा फैलिएको खौरहवा तालसमेत छन् । यी सबै तालमा व्यवसायिक माछापालन हुँदै आएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर