लुम्बिनीका तीन भारतीय सीमा नाकामा होल्डिङ सेन्टर बनाउन रकम माग
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले भारतसँग सीमा जोडिएका तीन नाकामा होल्डिङ सेन्टर बनाउन संघीय सरकारसँग रकम माग गरेको छ ।
भारतसँग सीमा जोडिएका प्रदेशका ६ जिल्लामध्ये तीन मुख्य नाका रहेका रुपन्देहीको भैरहवा, बाँकेको नेपालगञ्ज र कपिलवस्तुको कृष्णनगरमा होल्डिङ सेन्टर बनाउने योजनासहित रकम माग गरिएको प्रदेश सरकारले जनाएको छ ।
खुला सीमाबाट आउनेहरुले संक्रमण बढाएका कारण ती क्षेत्रबाट आउनेहरुलाई व्यवस्थापन गर्ने योजना सरकारले बनाएको हो । प्रदेश सरकारले योसहित कोरोना संक्रमण रोकथामको लागि संघीय सरकारसँग १० करोड रुपैयाँ बजेट माग गरेको मुख्यमन्त्री कार्यालयले जनाइको छ ।
मुख्यमन्त्री कूलप्रसाद केसीले प्रधानमन्त्री शेरबहादुर देउवासँग यो रकम उपलब्धताका लागि आग्रह गरेको उनका प्रेस संयोजक मानसिंह बिश्वकर्माले जानकारी दिए । सीमा नाकाबाट अव्यवस्थितरुपमा मानिसहरु भित्रिँदा लुम्बिनीमा संक्रमण तीब्र फैलिएको निष्कर्षसहित सरकारले यस्तो योजना बनाएको उनले जानकारी दिए ।
खुल्ला नाका रहेकोले भारतबाट आउने नागरिकलाई परीक्षण गर्दा कोभिड देखिने र ती नागरिकहरुलाई घरसम्म पठाउनको लागि यातायातका साधनहरु निकै समस्या भएकाले त्यसका लागि संघीय सरकार र प्रदेश सरकारको सहकार्यमा यसलाई अगाडि बढाउने प्रस्ताव केसीले प्रधानमन्त्रीसँग राखेका थिए । केसीको प्रस्तावप्रति प्रधानमन्त्री देउवा सकारात्मक भएको जनाइएको छ । प्रधानमन्त्री देउवाले यो सँगै खोप कार्यक्रमलाई विशेष रुपमा अगाडि बढाउन निर्देशन दिएका थिए ।
यसअघि ती स्थानमा होल्डिङ सेन्टर बनाउने काम अगाडि बढे पनि रकम अभावमा नसकिएको दावी प्रदेश सरकारको छ ।