मधेस आन्दोलनको १५ वर्ष पूरा, बलिदान दिवसका दिन आज मधेस प्रदेशमा सार्वजनिक विदा – Nepal Press

मधेस आन्दोलनको १५ वर्ष पूरा, बलिदान दिवसका दिन आज मधेस प्रदेशमा सार्वजनिक विदा

जनकपुरधाम । मधेस आन्दोलनको आज १५ वर्ष पुरा भएको छ । प्रथम मधेश आन्दोलनको क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतो शहिद भएका थिए ।

प्रथम बलिदानीको सम्झनामा मधेसकेन्द्रित दल र प्रदेश सरकार माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएका छन् । लहानमा रहेको प्रथम शहिद महतोको शालिकमा विगतका वर्षहरुमा माल्यार्पण पश्चात सभा र अन्य कार्यक्रम गरिँदै आएको थियो । तर यसवर्ष मधेस सरकार आज राजविराजमा बलिदानी दिवस मनाउने बताइएको छ ।

२०६३ मा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादवलगायतका नेताहरुले अन्तरिम संविधानको प्रतिलिपि जलाए र प्रहरीले उनलाई पक्राउ गरेपछि आन्दोलन शुरु भएको थियो । आन्दोलनका क्रममा लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतो पहिलो शहिद भए । त्यसपछि मधेशभर आन्दोलन चर्किएको थियो ।

आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले मधेसी मोर्चासँग सम्झौता गरेको थियो । सम्झौता अनुसार अझै माग पूरा भएको छैन । पछि नयाँ संविधान जारी भयो । तर त्योपनि मधेसको मुद्दा सम्बोधन नगरेको मधेसी नेताहरु बताउँछन् ।

संविधान संशोधनबारेमा मधेसमा थुप्रै पटक आन्दोलन भएका छन् । बलिदानी दिवसको अवसरमा मधेस सरकारले आज सार्वजनिक बिदा दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर