खेसरीलालले भने- विध्वंसका जिम्मेवार महोत्सव आयोजक, मलाई क्षतिपूर्ति दिनुपर्छ (भिडिओसहित) – Nepal Press

खेसरीलालले भने- विध्वंसका जिम्मेवार महोत्सव आयोजक, मलाई क्षतिपूर्ति दिनुपर्छ (भिडिओसहित)

काठमाडौं । सुनसरीमा आयोजित बुर्जु महोत्सवमा हिजो भोजपुरी स्टार खेसरीलाल यादव नआएको भन्दै दर्शकले विध्वंस मच्चाए ।महोत्सवस्थलमै चारवटा स्करर्पिओ गाडीमा तोडफोड र आगजनी भएको थियो ।

कलाकार यादवले यस विषयमा मुख खोल्दै सबै दोष आयोजकलाई दिएका छन् । आफू बसेको होटलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रशासनले दिएको अनुमति रद्द भएको विषयमा आयोजकले आफूलाई कुनै जानकारी नदिएको गुनासो गरे । साथै, हिजोको घटनामा आफ्नो डेढ करोडको क्षति भएको दावी गर्दै उनले आयोजकले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

यादवले भने, ‘यो घटनामा जनताको दोष छैन, न त प्रशासनको न मेरो दोष छ । दोषि भनेका आयोजक हुन् । उनीहरुले मलाई नै गुमराहमा राखे ।’

उनले घटनामा आफ्नो टोलीका सदस्यहरु घाइते भएको र चारवटा स्करपिओ जलेको बताए । यस विषयमा आयोजकले क्षतिपूर्ति दिनुपर्ने भन्दै उनले यसका लागि प्रशासनको सहयोग लिने बताएका छन् ।

यादवका अनुसार उनलाई महोत्सवमा आयोजकले टिकट बेचेकोसमेत जानकारी थिएन । आफू दर्शकलाई मनोरञ्जन दिलाउन आएको तर नपाउँदा दुख लागेको उनले बताए ।

गत २३ पुसदेखि सुरु भएको महोत्सवको अन्तिम दिन हिजो यादव आउने भनेर आयोजकले टिकट बेचेका थिए । दुई दिन अगाडि नै जिल्ला प्रशासन कार्यालयले कोभिड महामारीका कारण भिडभाड गर्न नमिल्ने भन्दै कार्यक्रम रोक्न आदेश दिएको थियो । तर, आयोजकले त्यसलाई अटेर गर्दै यादवलाई निम्त्याए । यादवलाई आयोजकले पैसा अग्रीम भुक्तानी गरिसकेको थियो ।

कार्यक्रम रद्द गर्न आदेश दिइएको बारे आफूलाई जानकारी नगराइएको भन्दै यादवले रोष व्यक्त गरेका हुन् । ‘यदि मलाई बताइएको भए लाइभमा आएर दर्शकसामू क्षमा माग्दै आउन नसक्ने जानकारी गराउने थिएँ,’ यादवले भनेका छन् ।

कार्यक्रमका लागि आयोजक र यादवबीच गत १६ जनवरीमा मात्रै सम्झौता भएको थियो । दुई दिनअघि आयोजकलाई आफूले भिडियो पठाएको यादवले बताएका छन् । त्यतिबेलासम्म प्रशासनको आदेश आइसकेको भए पनि आफूलाई नभनिएको उनको भनाइ छ ।

‘आदेश आइसक्दा पनि आयोजकले टिकट बेचिरहेका रहेछन्, मलाई थाहै थिएन,’ उनले भने ।

यादव हिजो ११ बजे महोत्सवमा उपस्थित हुने भनिएको थियो । उनी बिहान ७ बजे आफ्नो टोलीसहित नेपाल प्रवेश गरेका थिए । आयोजकका प्रतिनिधिले उनलाई स्वागत गरेका थिए । बिहान ९ बजे उनलाई बिराटनगरको एउटा होटलमा पुर्‍याइएको थियो । १० बजे उनी कार्यक्रममा जाने तयारी गर्दै गर्दा प्रहरीले होटलमा घेरा हालेर उनलाई जान रोकेको थियो ।

‘कार्यक्रम रद्द गर्न आदेश भएकाले सुरक्षाको जिम्मेवारी लिन नसक्ने प्रहरीले बताएपछि यादव रोकिएका थिए । तर, उनका टोलीका मानिसहरु वाद्य सामग्रीसहित कार्यक्रम स्थलमा पुगिसकेका थिए । यादव नआउने सूचना आएसँगै दर्शकहरु आक्रोशित भएर ढुंगामुढा र आगजनी गरेका हुन् । लामो समयसम्म दर्शकले विध्वंश मच्चाउँदा पनि प्रहरीको उपस्थिति देखिएको थिएन ।

बर्जु महोत्सवको आयोजना बर्जु सामुदायिक विकास केन्द्र सुनसरीले गरेको थियो ।

याे पनि पढ्नुहाेस्

भोजपुरी स्टारलाई प्रहरीले महोत्सव जान रोकेपछि दर्शकले चारवटा गाडी जलाए (भिडिओ)


प्रतिक्रिया

One thought on “खेसरीलालले भने- विध्वंसका जिम्मेवार महोत्सव आयोजक, मलाई क्षतिपूर्ति दिनुपर्छ (भिडिओसहित)

  1. भारतीय कलाकार #खेसारीलाल यादवको कुरा सुन्दा सुनसरी स्थित #बर्जुको त्यो कार्यक्रममा उनको दोष रहेको जस्तो देखिएन । उनकै भनाईमा ३५ लाखमा आएका उनको करोडको क्षति भएको छ ।।

    यता, त्यहीँ स्थानमा दैनिक कार्यक्रम भैरहँदा कोरोना सर्दैनथ्यो, खेसारीलालको टिमका अन्य कलाकार नाचिरहँदा कोरोना फैलेको थिएन । तर खेसारीलाल आँउदा कोरोना फैल्थ्यो रे, त्यसैले उनलाई होटेलमै प्रशासनले रोकेको थियो रे ।।

    #आयोजक, #पालिका प्रशासन र #जिल्ला प्रशासनको लापरबाही र #असक्षमताका कारण हिजो त्यत्रो ठुलो घटना घटेको देखिन्छ ।।

    आयोजकले #दर्शकलाई भ्रममा राखे, पालिका प्रशासनले #लापरबाही गरे र CDO कार्यालयले एउटा चिठी लेखेर मात्र #प्रक्रिया पुरा गरे ।

    गम्भीरता कुनै पक्षमा देखिएन, सबैले झारो टार्ने कार्य मात्र गर्‍यो । सम्बन्धित सबैलाई आवश्यक कारवाही होस् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर