नवप्रवेशी सातदोवाटोको स्वप्निल यात्रा – Nepal Press
ए डिभिजन लिग

नवप्रवेशी सातदोवाटोको स्वप्निल यात्रा

पहिलोपल्ट ए डिभिजन लिग खेलिरहेको सातदोवाटो युथ क्लबलाई गुमाउनु केही छैन । तर, हासिल गर्नुपर्ने धेरै कुराहरु छन् । अघिल्लो वर्ष बी डिभिजन च्याम्पियन बनेको उसले ए डिभिजनको यो संस्करण आफूलाई टिकाउने लक्ष्य राखेको हो । लक्ष्यभन्दा उच्चकोटीको प्रदर्शन भएकोमा क्लब व्यवस्थापन र टिमका सबैजना दंग छन् ।

२०५३ सालमा स्थापना भएको ललितपुरे क्लबले जारी ए डिभिजन लिगमा ‘जायन्ट किलर’को उपमा पाउन थालेको छ । नपाओस पनि किन– तीनपल्टको लिग च्याम्पियन थ्रीस्टारलाई लिगको दोस्रो चरणमै हराएर सनसनी मच्चाएको उसले नवौं चरणमा आउँदा कीर्तिमानी ८ पल्टको च्याम्पियन मनाङ मस्र्याङ्दीमाथि चर्चित जित निकाल्न सक्यो । यो हार मनाङका लागि लिग च्याम्पियन बन्ने यात्रामा ठूलो धक्का हो ।

सातदोवाटोले ए डिभिजन लिगका लागि अन्य क्लबको तुलनामा सबैभन्दा धेरै (तीन महिना) तयारी गरेको थियो । अनुभवी प्रशिक्षक मेघराज केसीको रणनीति र युवा खेलाडीको मिश्रण देख्नेहरुले पहिल्यै अनुमान गरिसकेका थिए– यसपाली सातदोवाटोले केहि न केहि गर्छ ।

लिग सुरु हुनुअघिको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक केसीले विपक्षीलाई चेतावनी दिँदै भनेका थिए, ‘सातदोवाटोलाई कुनै पनि टोलीले सानो नसोचे हुन्छ ।’ सुरुआती पाँच चरणसम्म अपराजित रहेर केसीले आफ्नो भनाई प्रमाणित गरिसकेका छन् ।

सातदाेवाटाेका मुख्य प्रशिक्षक मेघराज केसी । तस्बिर साैजन्य: एन्फा ।

मनाङ र थ्रीस्टारमाथिको जित तथा आर्मीसँगको बराबरी नतिजाबाटै सातदोवाटोले आफ्नो क्षमता प्रदर्शन गरिसकेको छ । ९ खेलबाट ३ जित, ३ बराबरी र ३ हारसँगै १२ अंक जोडेको सातदोवाटोलाई रेलिगेसनको खतरा छैन । उनीहरुले शीर्ष डिभिजनमा रहिराख्ने लक्ष्य लगभग पूरा गरेका छन् भने उपाधि दावेदार टोलीहरुको टाउको दुखाई बनिरहेका छन् ।

पहिलो चरणमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको सातदोबाटोले दोस्रो चरणमा थ्रीस्टारलाई १–० र तेस्रो चरणमा नेपाल एपीएफ क्लबलाई ४–१ गोलको नतिजामा हराउँदै तेस्रो चरणसम्म तालिकाको शिर्ष स्थानमा रहेको थियो ।

पाँचौ चरणसम्म अपराजित रहेको सातदोबाटोले छैठौं चरणमा जावलाखेलसँग हार्दै लय गुमाउन पुग्यो । सातौं चरणमा पनि हिमालयन शेर्पा क्लबसँग १–० गोेलको नतिजामा पराजित भयो ।

लगातार दुई हार बेहोरेको सातदोबाटोले आठौं चरणमा संकटा क्लबलाई १–१ को बराबरीमा रोक्दै लयमा फर्कियो । नवौं चरणमा त मनाङलाई हराएर सनसनी मच्चायो । यो जित ए डिभिजन लिगमा धेरै पछिसम्म सम्झनायोग्य रहनेछ ।

नवौं चरणसम्मको नतिजालाई हेर्दा मुख्य प्रशिक्षक मेघराज केसी पूर्ण सन्तुष्ट देखिन्छन् । अलिकति मिहिनेत गरेको भए अझै राम्रो प्रदर्शन हुने रहेछ भन्ने उनलाई लागेको छ । ‘पहिलोपल्ट शीर्ष डिभिजनमा आएकाले हामी अनुभव लिने र रेलिगेसनको खतरा टार्ने लक्ष्यमा थियौं,’ घरेलुु फुटबलका सफल रणनीतिक प्रशिक्षक केसीले नेपाल प्रेससँग भने, ‘नवौं चरणसम्म हामी अंकतालिकाको मध्यतिर छौं । अहिले के लागिरहेको छ भने अलिकति मिहिनेत गरेको भए अझै माथिल्लो पोजिसन लिने रहेछौं ।’

खेलाडी अनुबन्ध अवधि लामो समय नरहने र कुनै पनि टिममा एउटै खेलाडी लामो समयसम्म नरहने नेपाली क्लब फुटबलको नियति हो । जसकारण हरेक सिजनमा सबै क्लबहरुले नयाँ टिमजसरी तयारी गर्नुपर्ने हुन्छ । ‘लिगका सबै टिमहरु समान क्षमताका छन् । एउटा सिजनमा राम्रो प्रदर्शन गरेको क्लबले अर्को सिजनमा पनि त्यसलाई निरन्तरता दिन्छ भन्ने निश्चित नै छैन,’ केसीले आफ्नो अभुवन सुनाए, ‘नवौं चरणसम्म आइपुग्दा सातदोवाटोलाई विपक्षीले नयाँ भनेर नजरअन्दाज गर्न नसक्ने बनाएका छौं । हामीसँग खेल्न आउँदा पूरा सजग हुनु पर्ने गरी विपक्षीलाई दवावमा राख्न सक्ने स्थिति सृजना गर्न सक्यौंजस्तो लाग्छ ।’

सातदोबाटोका नाइजेरियन फवार्ड अजयी मार्टिनसले लिगमा पहिलो ह्याट्रिक गरेका थिए । उनी ५ गोलसहित लिगमा धेरै गोल गर्ने खेलाडीको सूचीमा दोस्रो नम्बरमा छन् ।

मनाङविरुद्द गाेल गरेपछि सातदाेवाटाेका खेलाडीकाे खुसी । तस्बिर साैजन्य: एन्फा ।

जारी लिगकै प्रदर्शनका आधारमा सातदोवाटोका दुई खेलाडी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमासमेत बोलाइएका छन् । माघ १५ र १८ गते मोरिसससँग दशरथ रंगशालामा ह्ने मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले प्रारम्भिक चरणको प्रशिक्षणमा सातदोबाटोबा मिडफिल्डर आकाश बुढामगर, सुदीप गुरुङलाई समावेश गरेका छन् ।

च्यासल युथ, फ्रेन्डस र जावलाखेल युथजस्ता पुराना क्लबहरु रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहँदा नवप्रवेशी सातदोबाटो आफ्नो सफलताको उत्सव मनाइरहेको छ । टिमको सफलतामा स्टार खेलाडीको भीड जम्मा गर्ने भन्दा जोशिला युवा खेलाडीहरुको सन्तुलन अपरिहार्य रहने तथ्यमा सातदोवाटो उदाहरण बनेको छ ।

फुटबल विश्लेषकसमेत रहेका ए डिभिजन लिग निर्देशक सन्जीव मिश्रले पनि राम्राे प्रदर्शन गर्नका लागि राष्ट्रिय टिमका स्टार खेलाडीहरु नै हुनुपर्छ भन्ने मान्यतालाई सातदोवाटोले तोडेको स्वीकार गर्छन् । उनले टिमको आत्मविश्वासको पनि प्रशंसा गरे ।

‘पहिलोपल्ट शीर्ष डिभिजन खेल्ने क्लबहरु मुख्यतः रेलिगेसन टार्नमै केन्द्रित हुने गरेको देखेका छौं । तर सातदोवाटोले ए डिभिजनमा पहिलो खेलदेखिनै जुन आत्मविश्वास देखायो, त्यसले उसको प्रदर्शन एकपछि अर्को खेलमा राम्रो हुँदै गयो,’ मिश्रले नेपाल प्रेससँग भने, ‘टिममा कप्तान मानबहादुर तामाङमात्र राष्ट्रिय टोलीको अनुभव भएका खेलाडी छन् । महारथी टोलीहरुमाथि विजय हासिल गर्न स्टार खेलाडीको भेला गर्नुभन्दा पनि सन्तुलित टिम बनाउनुपर्छ भन्ने मान्यतालाई सातदोवाटोले स्थापित गरेको छ ।’

रेलिगेसनको जोखिमबाट लगभग बाहिरिएको सातदोवाटोलाई लिगका बाँकी चार खेलमा पनि कुनै दवाव हुनेछैन । किनभने उनीहरुले यो सिजनका लागि आफ्नो लक्ष्य पूरा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *