१७ वर्षपछि किन फरक खेलाडीलाई दिइयो बेलोन डीओर र फिफा बेस्ट अवार्ड ? – Nepal Press

१७ वर्षपछि किन फरक खेलाडीलाई दिइयो बेलोन डीओर र फिफा बेस्ट अवार्ड ?

काठमाडाैं । विश्व फुटबलका दुई सर्वाधिक प्रतिष्ठित अवार्ड हुन् बेलोन डीओर र फिफा बेस्ट प्लेयर । वर्षभरको प्रदर्शनका आधारमा विश्वभरबाट एक जनालाई यो अवार्ड दिने गरिएको छ। विगतमा बेलोन डीओर विजेताको घोषणापछि फिफा बेस्ट प्लेयर पाउने खेलाडीबारे अनुमान सहजै लगाउन सकिन्थ्यो ।

दुवै अवार्ड प्राय एउटै खेलाडीले पाउने गरेको भएपनि यसपटक त्यस्तो भएन । बेलोन डीओर बार्सिलोनाका अर्जेन्टिनी खेलाडी लियोनल मेस्सीले पाए भने फिफा वर्ष खेलाडी अवार्ड बायर्न म्युनिखका पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले प्राप्त गरे ।

यसअघि अन्तिम पटक सन् २००४ मा मात्र बेलोन डीओर र फिफा वर्ष खेलाडीमा अलग विजेता देखिएका थिए । त्यतिबेला फिफा वर्ष खेलाडी बार्सिलोनाका ब्राजिलियन स्ट्राइकर रोनाल्डिन्हो र बेलोन ‍डओर एसि मिलानका युक्रेनियन स्ट्राइकर आन्द्रेय सेभचेन्कोले पाएका थिए ।

सन् २०१० देखि २०१५ सम्म यी दुवै अवार्डलाई मिलाएर फिफा बेलोन डीओरका रुपमा प्रदान हुने गरेको थियो । सन् २०१६ देखि यी दुवै अवार्ड छुट्टीए पनि विजेतामा भने फरक आएको थिएन ।

सन् २०२० मा फिफा वर्ष खेलाडी अवार्ड प्रदान गरिएपनि कोरोना महामारीको कारण देखाएर बेलोन डीओर भने वितरण गरिएन । त्यतिबेला फिफा वर्ष खेलाडी अवार्ड पाएका लेवान्डोस्की बेलोन डीओरको पनि उत्तिकै हकदार थिए ।

यसपटक बेलोन डीओरमा लेवान्डोस्की दोस्रो स्थानमा रहेका थिए । तर मेस्सीलाई प्रदान गरिएसँगै यो अवार्ड प्रदान गर्ने फ्रेन्च म्यागजिनको चर्को आलोचना भएको थियो । लेवान्डोस्कीले गत सिजन क्लबका लागि ४० खेलमा ४८ गोल गरेका थिए ।

उनी बुन्डेस लिगाको एकै सिजन सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका थिए । उनले युरोपका शीर्ष लिगमा सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिने युरोपियन गोल्डेन बुट पनि जित्न सफल भएका थिए । बायर्न घरेलु लिगको विजेता बनेको थियो ।

लेवान्डोस्कीले सन् २०२१ मा सिनियर राष्ट्रिय टोलीका लागि १२ खेलमा ११ गोल गरेका थिए । चालु सिजन उनले क्लबका लागि २६ खेलमा ३४ गोल गरेका छन् । लेवान्डोस्कीले सन् २०२१ मा क्लब र राष्ट्रका लागि ६९ गोल गरेका थिए ।

यता मेस्सीले गत सिजन क्लबका लागि ४७ खेलमा ३८ गोल गरेका थिए भने यो सिजन १६ खेलमा ६ गोल गरेका छन् । मेस्सी पहिलोपटक सिनियर राष्ट्रिय टोलीका लागि अन्तर्राष्ट्रिय उपाधि जित्न सफल भएका थिए, कोपा अमेरिकाका रुपमा ।

बेलोन डीओर मेस्सीले सर्वाधिक सातपटक जितेका छन् । क्रिस्टियानो रोनाल्डोले पाँचपटक हात पारेका छन् ।

यसैगरि मेस्सीले फिफा वर्ष खेलाडी अवार्ड (फिफा मेन्स प्लेयर अफ दी इयर, फिफा वर्ल्ड प्लेयर अफ दी इयर, फिफा बेलोन डीओर जेजे नाममा दिएपनि एउटै हो) ७ पटक जितेका छन् । यसैगरि रोनाल्डोले पनि यो अवार्ड पाँचपटक जितेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *