कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीको बाँकी भत्ता दिन मन्त्रालयको माग (भिडिओ) – Nepal Press

कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीको बाँकी भत्ता दिन मन्त्रालयको माग (भिडिओ)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड रोकथाम, नियन्त्रण तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ताको पुनः व्यवस्था मिलाई दिन संसदीय समितिलाई गुहारेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले यही माघ, फागुन र चैत्र महिनाका लागि भएपनि कोभिड रोकथाम, नियन्त्रण र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ताको पुनः व्यवस्था मिलाई दिन संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिलाई आग्रह गरेका हुन् ।

मंगलबार सिंहदरवारमा आयोजित समितिको बैठकमा बोल्दै उनले स्वास्थ्यकर्मीहरुले सो भत्ता चालू आर्थिक वर्षयता नपाएको उल्लेख गर्दै त्यसबारे आफूहरुले अर्थ मन्त्रालयसँग कुरा गर्दा विवाद हुने गरेकाले समितिलाई नै सो व्यवस्था गरिदिन आग्रह गर्नु परेको स्पष्ट पारे ।

सचिव पोखरेलले आफू स्वास्थ्य सचिव नै भएको नाताले पनि समितिमा सो विषयमा ध्यानाकर्षण गराउनु परेको बताए ।

उनले भने, ‘असारयता हामीले पुससम्म दिन सकेका छैनौं । त्यही भएर माननीय सभापतिज्यू, मेरो एउटा स्वास्थ्य सचिवको हैसियतले ती स्वास्थ्यकर्मीहरुलाई पुनः ३ महिनाको ५० प्रतिशत भत्ताको चाँही माघ, फागुन, चैत्रको फेरी पनि भन्दिने होकि भन्ने कुरा । यो चाँही अर्थसँग बजेट छैन । स्वास्थ्य मन्त्रालय माग्न गयो भने सधैं विवाद भईरहने हुँदाखेरी माननीयज्यूहरुबाटै यो कुरा अर्थ मन्त्रालयमा गएको खण्डमा स्वास्थ्यकर्मीहरुले ती भत्ता पाउँथेकि भन्ने कुरा स्वास्थ्यकै सचिव भएको नाताले मैले राख्न चाहे । त्यो भयो भने उहाँहरुको काम गर्ने मनोबल बढने थियो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *