बीबीएल : सन्दीपको उत्कृष्ट प्रदर्शनसँगै हुरिकेन्स प्लेअफमा


काठमाडौं । बिग बास लिग- बीबिएल क्रिकेटअन्तर्गत मंगलबार भएको खेलमा सन्दीप लामिछाने आवद्ध रहेको होबर्ट हुरिकेन्सले मेलबर्न रेनेगेड्समाथी ६ रनको रोमान्चक जित हात पार्दै प्ले अफमा स्थान बनाएको छ ।
एक सय ८३ रनको लक्ष्य पाएको रेनेगेड्सले निर्धारित २० ओभर खेलेपनि ६ विकेट गुमाएर एक सय ७६ रन मात्र जोड्न सक्यो । सन्दीपले चार ओभरमा २७ रन खर्चिएर दुई विकेट लिए । तर उनले लिएका विकेट हुरिकेन्सको जितमा महत्वपूर्ण रहे ।
रेनेगेड्सलाई अन्तिम ५ ओभरमा ४५ रन चाहिएको थियो भने उसँग ८ विकेट बाँकी थिए । १५ औँ ओभरमा उनले लयमा रहेका सन मार्सलाई आउट गरे । मार्सले ५१ रन जोडे । अन्तिम तीन ओभरमा २६ रन मात्र आवश्यक रहेका बेला सन्दीपले १८ औँ ओभरमा उन्मुक्त चन्दलाई व्यक्तिगत ६ रनमा आउट गरेका थिए ।
त्यस ओभरमा सन्दीपले ८ रनमात्र दिएका थिए। १९ औँ ओभरमा टम रोजर्सले तीन रन दिएर २ विकेट लिएपछि अन्तिम ओभरमा रेनेगेड्सलाई १५ रन चाहिएको थियो । १३ खेलबाट २७ अंक भएको हुरिकेन्स तालिकाको पाचौँ स्थानमा रहेको छ । अघिल्लो खेलमा पनि हुरिकेन्सले सिड्नी थन्डरमाथि ९ रनको रोमान्चक जित हात पारेको थियो ।