त्रिवि मैदानमा लोकेश बमको विष्फोट ! १८ बल खेल्दा ९ छक्का – Nepal Press

त्रिवि मैदानमा लोकेश बमको विष्फोट ! १८ बल खेल्दा ९ छक्का

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट अन्तरगत आज भएकाे सेमिफाइनलमा एपीएफ १६.३ ‌ओभरमा २ विकेट गुमाएर एक सय ६२ रनमा खेल्दै थियो । भर्खरै शरद भेषावकर व्यक्तिगत ९ रनमा आउट भए ।  त्यसपछि इन्ट्र भयो लाेकेश बमकाे ।

उनी आउनुअघि नै एपीएफले त्रिभुवन आर्मी क्लबसामु चुनौतीपूर्ण योगफल तयार गरिसकेको थियो । त्यसैले विस्फोटक ब्याट्सम्यानको पहिचान बनाएका बमसामु खुलेर खेल्ने अवसर थियो ।  क्रिज सम्हालेको पहिलो बलदेखि नै ठूला प्रहार गर्नु पक्कै पनि सजिलो हुँदैन् ।

तर कीर्तिपुरस्थित क्रिकेट मैदानमा मंगलबार प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा लोकेशले पहिलो बलदेखि नै छक्काको वर्षा गरे ।

१७ औँ ओभरको तेस्रो बलमा भेषावकर आउट भएपछि क्रिजमा आएका लोकेशले त्यो ओभरमा बाँकी तीन बलमा जितेन्द्र मुखियालाई लगातार छक्का प्रहार गरे ।

१८ औँ ओभरमा एक छक्का र एक चौका प्रहार गरेका लोकेशले १९ औँ ओभरमा पनि लगातार तीन छक्का हिर्काएका थिए, जितेन्द्र मुखियालाई। अन्तिम ओभरमा दुई छक्का र एक चौका प्रहार गरेका लोकेश १८ बलमा ६६ रन जोड्दै अविजित रहे ।

उनले ९ छक्का र २ चौका प्रहार गरेका थिए । लोकेशले २० औँ ओभरको पहिलो बलमा सुसन भारीलाई चौका प्रहार गर्दै १४ बलमा अर्धसतक पुरा गरेका थिए ।

त्यसअघि प्रदिप ऐरी र आसिफ शेखले १५ ओभरमा एक सय ५० रनको साझेदारी गर्दै आफुपछि आउने ब्याट्सम्यानलाई सहज बनाएका थिए ।

ऐरी ५७ रनमा अविजित रहे भने आसिफले ८४ रन रन बनाए । यी दुईको शानदार साझेदारीपछि क्रिजमा आएका लोकेश खेलको अर्को आकर्षण बनेका हुन् ।

उनको आक्रमक ब्याटिङपछि एपीएफले २ सय ३१ रनको लक्ष्य दिएको थियो । यो खेलमा ४७ रनको जित हात पार्दै एपीएफले नेपाल पुलिससँग उपाधि भिडन्त पक्का गरेको छ । यो नतिजाले पनि एपीएफको पालीमा लोकेशको प्रदर्शन कति महत्वपूर्ण रह्यो भन्ने देखिएको छ ।

सुदूरपश्चिमको धनगढीका लोकेश माथिल्लोक्रमका ब्याट्सम्यान हुन् । उनले लिग चरणमा बागमती प्रदेशविरुद्ध ५० रन बनाएका थिए । अन्य तीन खेलमा भने उनले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

नेपालको यू-१९ राष्ट्रिय टोलीबाट खेलिसकेका लोकेशले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा भने त्यो अवसर पाइसकेका छैनन् ।

टी-ट्वेन्टी विश्वकपको आसन्न विश्वस्तरीय छनोटका लागि छानिएका ३० जना खेलाडीको सूचीमा लोकेश छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *