राष्ट्रियसभा चुनाव : लुम्बिनीबाट मैदानमा रहेका कुन नेता कस्ता ? – Nepal Press

राष्ट्रियसभा चुनाव : लुम्बिनीबाट मैदानमा रहेका कुन नेता कस्ता ?

रुपन्देही । माघ १२ गते लुम्बिनीबाट राष्ट्रियसभाका ३ सदस्यका लागि निर्वाचन हुँदैछ । एमालेविरुद्ध सबै दलले गठबन्धन गरेको यो निर्वाचनमा मतभारको अंकगणितले एमालेको पराजय निश्चित छ ।

तर, सरकारमा सहभागी दलबीचको एकआपसमा मत आउने निश्चितता नबन्नु, यो प्रदेशमा माओवादीको उम्मेदार नहुनु, जसपाका मतदाता एक नहुनु र राप्रपा तथा स्वतन्त्र रहेको केही मत चोरेर जित निकाल्ने रणनीतिमा एमाले लागेको छ ।

यसअघि एमाले प्रदेश सांसद छाडेर कांग्रेस छिरेर राष्ट्रियसभा सदस्य बनेका दृघनारायण पाण्डेले गठबन्धनबाटै सजिलै जित निकालेका कारण गठबन्धन दलहरू सहजै जित हुनेमा ढुक्क छन् ।

यो निर्वाचनमा दुवै पक्षले पाका र अनुभवी नेताहरूलाई मैदानमा पठाएको छ ।

लुम्बिनी प्रदेशबाट रिक्त महिला, दलित र अन्य समुदायका गरी तीनजनाका लागि हुने निर्वाचनमा प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी २९३ मतदाता रहेका छन् ।

नेकपा एमालेको तर्फबाट खुल्लाबाट दाङका रामदयाल गुप्ता, महिलाबाट बाँकेकी भारती खनाल र दलितबाट गुल्मीका कृष्णबहादुर सुनार उम्मेदार बनेका छन् । गठबन्धनको तर्फबाट नेपाली काँग्रेसले बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादी पार्टीले पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाले रुपन्देहीका तुलप्रसाद विश्वकर्मालाई उम्मेदार बनाएको छ ।

कस्ता उम्मेदवार छन् मैदानमा ?

गठबन्धन दलका बलिया उम्मेदवारहरूसँग भिड्न एमालेले मैदानमा लामो समय अनुभव संगालेकालाई पठाएको छ ।

उत्पीडित समुदायका भरोसा कृष्ण सुनार

गुल्मीको साबिक अर्खले गाविस वडानम्वर ५ बालकाटेका कृष्ण सुनारको अहिलेको ठेगाना रेसुङ्गा नगरपालिका वडा नं- ६ मा पर्छ ।
२०२२ साल साउन २२ गते जन्मेका सुनार २०३९ सालदेखि तत्कालीन नेकपा मालेको भूमिगत राजनीतिमा लागेका हुन् । वडा कमिटी सदस्य, गाउँ कमिटी सदस्य, इलाका कमिटी सदस्यसमेत बनेका उनी अहिले जिल्ला कमिटी उपाध्यक्ष बनेका छन् । २०४९ सालमा उत्पीडित जातीय मुक्ति समाजको जिल्ला कमिटी सदस्य र सोही संगठनको २०५६ सालमा जिल्ला कमिटी उपाध्यक्ष भएका थिए ।

२०६२ सालमा साबिक लुम्बिनी अञ्चल कमिटी सचिवालय सदस्य बनेका उनी २०५४ सालको चुनावमा साविक अर्खले गाविस वडा नम्वर ५ को निर्वाचित वडाध्यक्षसमेत बनेका थिए ।

२०६८ सालमा मुक्ति समाजको केन्द्रीय सदस्य,सचिवालय सदस्य र लुम्बिनी प्रदेश कमिटी सहइन्चार्ज बनेर काम गरेका छन् । २१ वर्षअघि नेकपा एमालेको जिल्ला कमिटी सदस्य हुँदै नेकपा एकता हुँदा पार्टीको जिल्ला कार्यालय सदस्य बनेका उनी अहिले उपाध्यक्ष छन् ।

जातीय विभेद र छुवाछुतमुक्त समाज निर्माणमा सक्रियतापूर्वक लाग्दै आएका उनलाई एमालेको दलित कोटाबाट राष्ट्रिय सभाको उममेद्वार बनाएको छ । दलित आन्दोलनका पाका नेता भएकाले त्यो क्षेत्रका केही मत क्रस गरेर ल्याउनसक्ने आंकलन उनी निकट नेताहरूको छ । उनीसँग सांगठनिक हिसाबले कमजोर पार्टी जनमोर्चाका उम्मेदार गठबन्धनमा परेकाले उनलाई सहजता देखिएको एक नेताको दाबी छ ।

भारती खनाल उपाध्याय

महिलालाई आयआर्जनसँगै राजनीतिमा सक्रिय बनाउनुपर्ने अभियान चलाएकी बाँकेकी भारती खनाल उपाध्याय २०३७ सालदेखि राजनीतिमा लागेकी हुन् । तनहुँको भानुभक्त नगरपालिकामा २०१० सालमा जन्मेकी भारतीको तनहुँकै विष्णुहरि खनालसँग विवाहपछि बर्दियामा बसाइँ गए । पछि बाँकेको कोहलपुरमा ४४ सालदेखि बसोवास गरेकी खनाल २०३७ सालदेखि नै नेकपाको राजनीतिमा सक्रिय भइन् । ४६ सालको आन्दोलनकोसमेत अगुवाइ गरेकी उनी एमालेको कोहलपुरको इलाका कमिटी सदस्य, जिल्ला कमिटी सदस्य हुँदै प्रदेश सदस्य र अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य हुन् ।

पार्टी र जनसंगठनमा लामो मेहनत गरेकी भारतीले कसरी जित निकाल्छिन् त्यो नतिजाले देखाउनेछ । गठबन्धनमा उनकै पार्टीबाट नयाँ पार्टी बनाएको नेकपा एसकी राजेन्द्रलक्ष्मी गैरेले उम्मेदारी पाएकाले मत चोर्न त्यति सहज छैन । पार्टीको योजनामा अन्य दलबाट केही मत क्रस गराएर उनको जित निकाल्ने दाउमा एमाले नेता लागेका छन् ।

रामदयाल गुप्ता

एमालेले दाङका पुराना व्यवसायी रामदयाल गुप्तालाई यो पटक अवसर दिएको छ । पार्टीमा इमान्दार र पुराना अनुभवी मानिएका उनले तराईका केही मत तान्ने एमाले नेताहरूले आशंका गरेका छन् ।

बुबा दुखराम बनिया र आमा अयोध्यादेवी गुप्ताको कोखबाट गुप्ता २०१० सालमा जन्मिएका ६८ वर्षीय गुप्ता २०३५ सालदेखि दाङमा व्यवसायिक यात्रा सुरु गरेका थिए । व्यापार व्यवसाय गर्नेक्रममा एमालेमा लागेका गुप्ताले २०४५ सालदेखि व्यवसायसंगै राजनीति सुरु गरेका थिए । दाङ जिल्ला उद्योग वाणिज्य संघको कार्य समिति सदस्य, उपाध्यक्ष र संघको अध्यक्ष तीन कार्यकाल भएर अनुभव संगालेका छन् । पार्टीको प्रदेश कमिटीमा रहेका गुप्ताले जित निकाल्नसक्ने दावी एमाले नेताहरूको छ ।

यस्ता छन् गठबन्धनका उम्मेदवार

पाँच दलीय गठबन्धनबाट नेपाली यो निर्वाचनमा कांग्रेस, नेकपा एस र जनमोर्चाले भागबण्डा पाएका छन् । माओवादी र जसपाको उम्मेदार नपरेकाले केही मत चारिने त्रासमा उम्मेदवारी पाएका दलका नेताहरूले आशंका गरिसकेका छन् ।

देउवासँगै राजनीति गरेका शर्मा

नेपाली कांग्रेसले उम्मेदवार बनाएका बाँकेका युवराज शर्मा पार्टी सभापति शेरबहादुर देउवासँगै एउटै कमिटीमा बसेर काम गरेका पाका नेता हुन् । बाँकेको नेपालगञ्ज नगरपालिका वार्ड नम्बर २ मा २००७ साल चैत १२ गते जन्मेका शर्मा २०२४ सालमा पञ्चायतको विरोध गर्दा पहिलोपटक जेल परेका थिए । त्यसपछि पटक पटक जेल परे । त्यो बेला एकपटक पक्राउ परेपछि ६ महिना र ९ महिना जेल राख्ने नियम थियो ।

२०३० सालमा भूमिगत रुपमा पार्टीको जिल्ला सचिवसमेत बनेका उनी नेपाली काँग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघको दोस्रो महाधिवेशनमा चितवनको भरतपुरमा शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको सभापति हुँदा उपसभापति बनेको बताउँछन् । राजनीतिसँगै अध्यापनको अनुभवी उनले बाँकेमा २०४६ सालमा आन्दोलनको नेतृत्व गरेको बताउँछन् । १६ वर्ष पढाएको पेन्सन नखाँदै पार्टीमा होमिएका उनी बाँकेको पूर्व सभापति हुँदै अहिले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि छन् । धेरै पटक अवसर नपाएको लिस्ष्मा नाम परेका उनको जित निश्चित भएको कांग्रेस नेताहरू बताउँछन् ।

भाग्यमानी राजेन्द्रलक्ष्मी

पाल्पाको रामपुरमा जन्मिएकी राजेन्द्रलक्ष्मी गैरे आफ्नो दलको मत निकै थोरै भएपनि उम्मेदार पाउने भाग्यमानी बनेकी छन् । एकीकृत समाजवादीबाट उम्मेद्वार बनेकी उनी २०२४ सालमा जन्मेर २०३६ सालदेखि नै राजनीतिमा सक्रिय भएकी हुन् । रामतुल्सी मावि रामपुर अध्ययन गर्दै गर्दा बहुदल र निर्दल राजनीति पाल्पामा राम्रैसँग लागेको थियो ।

३७ सालमा विद्यार्थी हत्याकाण्ड र झापा काण्डले उनलाई राजनीतिप्रति लाग्न प्रेरित गर्‍यो । उनी ३९ सालमा अनेरास्ववियुको जिल्ला सदस्य बनिन्, त्यसपछि निरन्तर पार्टीमा नै छन् । पाल्पा जिल्ला कमिटी सदस्य ४ पटक र जिल्लाको लेखा आयोगको अध्यक्ष पनि बनेर काम गरेको अनुभव रहेको छ ।

एमालेको नवौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा थोरै मतले पराजित उनी महिला संगठनको केन्द्रीय सदस्य बनेर काम गरिन् । संसद विघटनपछि एमालेको विरोधमा उत्रिएकी उनी एकीकृत समाजवादीमा अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्जको र पार्टी केन्द्रीय सदस्य छन् ।

गठबन्धनको पहिलो स्वाद लिँदै जनमोर्चाका राजेश

एमालेविरुद्धको गठबन्धनमा पहिलेबाट साथ दिएको जनमोर्चाले अहिले बलियो भाग हात पारेको छ । राष्ट्रियसभा निर्वाचनमा यो प्रदेशबाट जनमोर्चाको तर्फबाट तुलप्रसाद विश्वकर्मा (राजेश विक) उम्मेद्वार बनेका छन् । लामो समय जनमोर्चा निकट रक्तिम सांस्कृतिक अभियान, पार्टी निकट पत्रिकामा काम गरेका विश्वकर्मा बागलुङमा २०१५ सालमा जन्मिएका हुन् । बागलुङको गलकोट मावि हुँदै पिएन क्याम्पस पोखरामा आईए पढेपछि केही वर्ष शिक्षण पेशामा लागेका थिए ।

पार्टीको होलटाइमर कार्यकर्ता नबन्दासम्म पढाएका उनी होलटाइमर बनेपछि पार्टी केन्द्रीय कार्यालयले भारतको संगठन निर्माणका लागि खटाएको थियो । भारतको एकता समाजमा काम गर्दै पार्टीको युवा मोर्चा अखिल भारत नेपाली वामपन्थी युवक मोर्चाको महासचिव बनेर काम गरे ।

केही वर्षपछि नेपाल आएर अनि पार्टी प्रतिबन्धित अवस्थामा नै पार्टी साँस्कृतिक मोर्चाको संयोजक बने जसको सदस्यमा जीवन शर्मा र मणि थापा सदस्य रहेका बनेका थिए । उनी कलाकार पनि हुन् । रक्तिमको भाग १ देखि ३ सम्म उनका गीतहरू पनि छन् । पार्टीमा उनी राजेश विक नामले चिनिन्छन् । आफ्नो पार्टीको मत कम रहेकाले गठबन्धनबाट धोका नभए उनले जित निकाल्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर