यी पाँच सांसद, जसले प्रदेशको नामाकरण र राजधानी चयनमा भोट हालेनन् – Nepal Press

यी पाँच सांसद, जसले प्रदेशको नामाकरण र राजधानी चयनमा भोट हालेनन्

जनकपुरधाम । सोमबार प्रदेशसभाको दुईतिहाइ बहुमतबाट प्रदेश २ को नाम मधेस र राजधानी जनकपुरधाम पारित भयो । यहाँ प्रदेशसभा गठन भएको चार वर्षपछि नाम र राजधानीको टुंगो लागेको हो ।

प्रदेशको नाम र राजधानी चयन हुनु एउटा ऐतिहासिक सवाल हो । तर यहाँका पाँच सांसदले प्रदेशको नाम र राजधानी चयनका लागि भएको निर्वाचनमा मतदान गरेनन् । १०४ सांसदमध्ये ९९ सांसदले मात्रै नाम र राजधानीको विषयमा भएको मतदानमा सहभागिता जनाए ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवका अनुसार सांसदहरु डिल्लीप्रसाद उप्रेती, गोविन्दबहादुर न्यौपाने, शोभा लामा, अनिता कुमारी यादव र डा. रिना यादव मतदानमा सहभागी भएनन् ।

अनुपस्थित भएका उप्रेती सर्लाही निर्वाचन क्षेत्र ३ (१) बाट तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनी अहिले नेकपा एकीकृत समाजवादीमा छन् ।

सप्तरी निर्वाचन क्षेत्र ४ (१) बाट एमालेको टिकटमा निर्वाचित भई हाल नेकपा एकिकृत समाजवादीमै रहेका सांसद गोविन्दबहादुर न्यौपाने पनि मतदानमा भाग लिएनन् । स्रोतका अनुसार क्यान्सरपीडित उनी उपचाररत रहेकाले प्रदेशसभामा उपस्थित हुन नसकेका हुन् ।

त्यस्तै बाराकी कांग्रेस समानुपातिक सांसद लामा, धनुषाकी नेकपा एमाले समानुपातिक सांसद अनिताकुमारी यादव र महोत्तरीकी जसपा सांसद डा. रिना यादव पनि प्रदेशसभामा अनुपस्थित थिइन् ।

प्रदेशसभामा उपस्थित ९९ सांसदमध्ये प्रदेशको स्थायी राजधानी जनकपुरधाम बनाउन ७८ र मधेस नामाकरण गर्न ८० सांसदले मतदान गरेका थिए । यो दुईतिहाइ बहुमतभन्दा अधिक संख्या भएकाले दुबै प्रस्ताव पारित भएको सभामुख सरोज कुमार यादवले घोषणा गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर