धुर्मुसलाई दुत्कार्नेहरुका नाममा… – Nepal Press

धुर्मुसलाई दुत्कार्नेहरुका नाममा…

चितवन रंगशालालाई अर्को मुलपानी नबनाउँ

काठमाडौं । केही समयदेखि हास्यकलाकार धुर्मुसको अनुहारबाट हाँसो हराएको छ । हास्यरसको कलाकारिताले ख्याति कमाएका उनी वास्तविक जीवनमा ‘करुणरस’ मा पिल्सिएका छन् । उनको दिल–दिमागमा एउटै विषय पिलो जसरी टन्टनाइरहेको छ– रंगशाला ।

जनस्तरबाट सहयोग जुटाएर नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न तम्सिने ‘दुस्साहसपूर्ण अपराध’ गरेवापत् चितवनकै एक ‘क्रिकेटप्रेमी’ ले धुर्मुसविरुद्ध अख्तियारमा उजुरी हालेको समाचार अस्ति बाहिरियो । उजुरीपछि सामाजिक सञ्जालमा देखिएका धेरै प्रतिक्रिया हेर्दा यस्तो लाग्छ, मानौं धुर्मुस देशकै ठूला अपराधि हुन् र उनलाई जेल कोच्न ढिलाइ भइसकेको छ । त्यसो त पहिल्यैबाट प्रहार हुँदै आएका तिखा लाञ्छनाका बाणहरुले ‘अपराधि धुर्मुस’ थिलोथिलो भइसकेका थिए । जेलै जानु पर्यो भने पनि उनलाई योभन्दा बेसी मानसिक पीडा सायदै होला ।

अब एकछिन सबैले ठण्डा दिमागले विवेचना गरौं, के रंगशाला निर्माणको पहलकदमी लिनु धर्मुसको अपराधकर्म नै हो त ? सबैले आफू धुर्मुसको स्थानमा उभिएर सोचौं न, के बिग्रिन्छ ?

०००

धुर्मुस–सुन्तली फाउन्डेसनको पहलमा चितवनको भरतपुरमा निर्माणाधीन क्रिकेट रंगशालाको काम रकम अभावका कारण अवरुद्ध बनेको चार महिनाभन्दा बढी भयो । ठूलो उत्साहका साथ सुरु गरेको महत्वाकांक्षी परियोजनालाई टुंगोमा पुर्याउन नसक्दाको पीडा धुर्मुसलाई भन्दा बढी कसलाई होला ? आपूर्तिकर्ताहरुलाई सामानको उधारोवापत तिर्नुपर्ने १७ करोड रुपैयाँको बोझले उनी निस्सासिने गरी थिचिएका छन् । हरेक बिहान पैसाको ताकेताका लागि बज्ने फोनका घन्टीले ब्युँझदाको सकस उनलाई मात्र थाहा छ । त्यसमाथि, सामाजिक सञ्जालमा आउने अवगालहरुले सुइरो झैं घोप्छन् । राति निदाउन पनि ‘मेडिटेसन’ गर्नुपर्ने अवस्थामा छन् उनी ।

एउटा कलाकार आफ्नो गरीखाने पेशालाई थाँति राखेर देश निर्माणको अभियानमा होमिन्छ । आफ्नो निजी जीवनलाई पन्छाएर सम्पूर्ण समय र श्रम देशका लागि खर्चिन्छ । तर, बदलामा स्यावासी होइन, दुत्कार र लाञ्छना भोग्न वाध्य हुन्छ भने त्योभन्दा ठूलो प्रताडना के होला ?

मानिसहरुका अगाडि सकभर पीडा लुकाउन खोज्छन् धुर्मुस । गहमा भरिएको आँशु जसरी पनि रोक्नुपर्ने चुनौति छ उनलाई । यदि खसिहाल्यो भने ‘ड्रामा गरेको’, ‘आँशु बेच्न खोजेको’, ‘नौटंकीवाज’ जस्ता आरोपको वर्षा हुने निश्चित छ ।

यस पंतिकारले केही साताअघि भेट्दा अनौपचारिक कुराकानीमा रंगशालाको विषयले आफ्नो निजी जीवनलाई कसरी तहसनहस बनाइरहेको छ भन्ने बेदना पोखेका थिए । आफू मात्र नभएर सिंगै परिवार (८ वर्षकी छोरीसमेत) लाई मानसिक असर पर्न थालेको सुनाइरहँदा उनले निकै मुस्किलले आफ्ना आँशु रोकेका थिए । एक मात्र सन्तानको रुपमा रहेकी छोरीमा जन्मजात देखिएको शारीरिक समस्या अहिले धुर्मुसका लागि गौण भएको छ । उनले नलेख्न आग्रह गरेका थिए, मैले यतिचाहिँ लेखिदिएँ ।

तीन वर्षअघि देशका प्रधानमन्त्रीसहित शीर्षनेताहरुलाई साक्षी राखेर रंगशाला निर्माणको घोषणा गरिरहँदा धुर्मुसले आजको निसहाय अवस्थाको सायदै परिकल्पना गरेका थिए । जनताकै हौसला र प्रेरणाले धुर्मुस कलाकारिताबाट समाजसेवातर्फ मोडिएका हुन् । कुनै बेला सिंगो देश धुर्मुसको पछाडि थियो । आज उनको पक्षमा बोलिदिनेको पनि खडेरी छ । धुर्मुस सबैबाट एक्लिएका छन् । आखिर किन आयो यो परिस्थिति ?

धेरैले धुर्मुसमाथि अहिले लगाउने गरेको आरोप हो, अरुको पैसामा समाजसेवी बन्न खोजेको । हो, धुर्मुसले आफ्नो पैसाले नभएर जनतासँग सहयोग संकलन गरेर सामाजिक कामहरु गर्दै आए । र, उनले आफूलाई ‘समाजसेवी’ भनेर चिनाएका पनि छैनन् । भूकम्पपछिको राहत र पुनर्निमाणमा खटिने क्रममा उनले एकीकृत वस्ति निर्माणको काम अघि बढाए । त्यसबेला उनलाई चौतर्फी सहयोग प्राप्त भयो । तत्पश्चात यही मोडलबाट उनले अरु चारवटा एकीकृत वस्ति बसाए । यदि जनतासँग सहयोग लिएर सामाजिक काम गर्नु गलत थियो भने बेलैमा उनलाई यो ‘चेतना’ कसैले दिएन ? त्यसबेला किन देवत्वकरण गरियो ?

जनताबाट उठाएको एक–एक पैसाको पूर्ण सदुपयोग हुने विश्वास धुर्मुसले आर्जन गरेका थिए । तब न मानिसहरुले उनलाई आँखा चिम्लेर पैसा पठाए । कतिले आफ्नो गाँस काटेर पनि उनलाई पैसा दिएका छन् । सदुपयोग हुन्छ भन्ने विश्वासले हो । उनले जबरजस्ती गरेर, धम्क्याएर पैसा उठाएका हुन् र ? धन र मन भएका तर, लाभग्राहीसम्म आफैं पुग्न नसक्नेहरुको लागि विश्वसनीय माध्यम बनिदिनु पनि आफैंमा एउटा परोपकारी काम नै होइन र ? यसमा आफ्नो पैसा नलागे पनि समय र श्रम त लागेकै हुन्छ ।

हो, अहिले अरुसँग पैसा मागेर परोपकार गर्ने कथित सामाजिक अभियन्ताहरु टोलटोलमा उम्रेका छन् । उनीहरुमध्ये कतिले राम्रो काम गरेका छन् त कति बदनाम पनि भएका छन् । कुनै आर्थिक पारदर्शीताबिना हातमा पैसाको बिटो बोकेर सडकमा बाँड्दै हिँड्ने सामाजिक अभियन्ताको म पनि विरोधि हुँ । तर, धुर्मुस त्यो कोटीमा पर्दैनन् । उनले व्यक्तिगतस्तरमा नभएर फाउन्डेसन खोलेर संस्थागतरुपमा काम गरिरहेका छन् । जे–जति काम गरेका छन्, त्यसको हिसाबकिताब दुरुस्त र पारदर्शी छ । अहिलेसम्म सम्पन्न गरेका कुनै पनि परियोजनामा एक पैसा हिनामिनाको आरोप उनीमाथि लागेको छैन ।

०००

रंगशालाको हकमा कुरा गर्दा, म पनि स्वीकार्छु, यस्ता ठूला विकास पूर्वाधारहरुको निर्माण गर्नुपर्ने दायित्व सरकारकै हो । तर, अर्को तरिकाले पनि सोचौं । सरकारले खर्च गर्ने पनि जनताकै पैसा हो । सरकारले जनताबाट राजश्वका रुपमा वर्षेनी उठाउने खरबौं रकम विकासमा खर्च गर्ने मान्यता राखिन्छ । तर, नेपालमा चाहिँ राजश्वबाट उठेको पैसा कर्मचारीको तलबभत्तामै सकिन्छ । अनि विकास–निर्माणका लागि विदेशीसामू हात पसारिन्छ । यदि जनताकै पैसाबाट देशमा एउटा गर्विलो संरचना बन्छ, भने त्यसमा गलत के छ ?

यही मोडलबाट देश विकास हुन्छ भनिएको होइन । तर, सरकारलाई झक्झक्याउनका लागि, जनताको आत्मविश्वास बढाउनका लागि यो नमूना परियोजना औचित्यपूर्ण थियो । देशभित्रकै जनशक्तिबाट छोटो समयमै ठूलो पूर्वाधार निर्माण हुन सक्छ भन्ने मानक यसले कायम गर्ने थियो, जुन सरकारका लागि समेत मार्गदर्शक हुन सक्थ्यो ।

अनि, देशमा एउटा अन्तर्राष्ट्रियस्तरको खेल रंगशाला अत्यावश्यक पनि त छ । सरकारले बनाउला भनेर यतिञ्जेल प्रतीक्षा गरिएकै हो । दशकौंदेखि मुलपानीको रंगशाला अलपत्र रह्यो । अझै कहिलेसम्म अलपत्र रहने हो टुंगो छैन । यदि आर्थिक व्यवस्थापन भएको भए धुर्मुसले घोषित समयमै सम्पन्न गर्न सक्थे । यसले समग्र खेलक्षेत्र लाभान्वित हुन सक्थ्यो । खेलाडीहरुलाई राहत मिल्थ्यो ।

जनतालाई छाक टार्न गाह्रो छ, किन चाहियो रंगशाला ? भन्नेजस्ता टिप्पणीहरु पनि सुनिन्छन् । यो भनेको सोचाइको लघुताभाष मात्र हो । गरिबी निवारण अवश्य पनि राज्यको प्राथमिकतामा पर्नुपर्छ । तर, त्यसबाहेकका अरु कुरालाई बेवास्ता गर्न मिल्दैन । जनताको जीवनस्तर उठाउने प्रयत्न आफ्नो ठाउँमा जारी राख्दा देशको आधुनिकीकरण एवं विकास–निर्माणका कामहरुलाई पनि रफ्तारमा लैजानैपर्छ । संसारमा सबैभन्दा धेरै भिखारी भारतमा छन् । त्यही भारतमा दर्जनौं अन्तर्राष्ट्रियस्तरका क्रिकेट रंगशाला छन् ।

केही महिनाअघि युनाइटेड अरब इमरेट्स (युएई) ले ट्वान्टी–२० क्रिकेट विश्वकपको सफल आयोजना गर्‍याे । क्रिकेटमा यूएई नेपालभन्दा पछाडि छ । तर, त्यहाँ अन्तर्राष्ट्रियस्तरका भव्य क्रिकेट रंगशालाहरु छन् । तटस्थ मैदानका रुपमा अन्य देशका क्रिकेट म्याचहरु पनि त्यहाँ हुने गर्छन् । यसले युएइको पर्यटन विकासमा मद्दत गरेको छ । नेपालमा पनि त्यस्तो सम्भावना प्रचुर छ । तर, हामीसँग संरचना छैनन् । त्रिवि क्रिकेट मैदानबाहेक क्रिकेट खेल्ने गतिलो ठाउँ छैन । यो रंगशालाले आशाको झिल्को बालेको थियो, जुन निभ्न आँटेको छ ।

एउटा कुरा सत्य हो । ३ अर्ब रुपैयाँको परियोजना जनताबाटै पैसा उठाएर सम्पन्न गर्न निकै चुनौतिपूर्ण थियो । यसमा धुर्मुसले जोखिम लिएकै हुन् । महत्वाकांक्षी भएकै हुन् । तर, धुर्मुसमा यस्तो महत्वाकांक्षा कसले जगायो ? तपाईं–हामीले नै होइन ? एकपटक पछाडि फर्केर हेरौं ।

०००

पाँचवटा वस्ति निर्माणमा प्राप्त सफलतापछि धुर्मुस–सुन्तली फाउन्डेसनले ‘नमूना नेपाल’ नामक एउटा मौलिक परियोजना अघि बढाएको थियो । त्यसैबेला नेपालले एकदिवसीय क्रिकेट राष्ट्रको मान्यता पायो । अनि, देशमा तत्काल एउटा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको आवश्यकता महसुस गरियो । क्रिकेट खेलाडी स्वदेश फर्किँदा समर्थकहरुले एयरपोर्टमै नारा लगाए– रंगशाला चाहियो–चाहियो । एकदिवसीय क्रिकेट खेल्ने राष्ट्रमा एउटा गतिलो रंगशाला नहुनु लाजमर्दो कुरा पनि त हो ।

सरकारबाट कुनै आशा नराखेका क्रिकेट समर्थकहरुले धुर्मुसको मुख ताके । खासै औचित्यपूर्ण नदेखिएको ‘नमूना नेपाल’ को साटो क्रिकेट रंगशाला निर्माण गर्दा देशका लागि हितकारी हुने भन्दै उनीमाथि तीव्र दवाव पर्न थाल्यो । डेलिगेसनमाथि डेलिगेसन धुर्मुसकहाँ पुगे ।

दवावपछि धुर्मुसले सामाजिक सञ्जालमै प्रश्न गरे, ‘नमूना नेपाल कि क्रिकेट रंगशाला ?’ त्यसमा आएका सात हजारभन्दा बढी प्रतिक्रियामा झण्डै सतप्रतिशत क्रिकेट रंगशालाको पक्षमा थिए । त्यो मात्रै होइन, कमेन्ट बक्समा नै करोडौं करोड सहयोगका प्रतिवद्धताहरु व्यक्त गरिए । अन्ततः धुर्मुस नमूना नेपाल छाडेर रंगशालातर्फ मोडिए । रंगशाला बनाउने घोषणा सामाजिक सञ्जालबाट गर्दा उनलाई प्राप्त चौतर्फी शुभकामना अनि जयजयकार अहिले एकादेशको कथा जस्तो भएको छ ।

रंगशाला कहाँ बनाउने भन्ने सवालमा पनि देशभरका स्थानीय तह र प्रदेश सरकारको तानातानमा परेका थिए धुर्मुस । ‘हाम्रो ठाउँमा बनाइदिनुपर्यो’ भन्दै उनीसँग बिन्तिभाउ गर्नेमा स्थानीय तहका प्रमुखदेखि मुख्यमन्त्रीसम्म थिए । धेरै ठाउँ साइट भिजिट गरेपछि धुर्मुसले चितवनलाई सदर गरेका हुन् । तर, त्यहाँ जग्गा प्राप्तिको प्रक्रियामा अनावश्यक ढिलाइ भइदियो । यही ढिलाइलार्ई नै देशको माहोल र जनताको मनोदशामा आएको परिवर्तनको प्रमुख कारकतत्व मान्न सकिन्छ ।

जग्गा प्राप्तिपछि रंगशाला निर्माणमा होमिने बेलासम्म आइपुग्दा पहिलेको उत्साह आधा सेलाइसकेको थियो । यसर्थ सुरुबाटै सोचेको गतिमा आर्थिक संकलन हुन सकेन । त्यसपछि कोभिडको महामारीले लक्ष्यित पैसा उठ्ने सम्भावनाको अन्त्य गरिदियो । आर्थिक संकलनकै लागि भरतपुर महानगरको समन्वयमा महायज्ञ आयोजना गरियो । तर, त्यसमा प्रतिवद्धता भएको रकम आधा पनि उठेन । महायज्ञमा ६९ करोडको कबोल भएकामध्ये प्रदेश ३ सरकारले ३० करोड दिने भनेको थियो । तर, ३ करोड मात्रै दियो । कोरोनाको कारण देखाएर व्यक्तिगत दाताहरुले पनि दिएनन् । अहिलेका मन्त्री उमेश श्रेष्ठले ११ लाख ५१ हजार रुपैयाँ दिने भनेका थिए, तर एक पैसा दिएका छैनन् ।

यो बीचमा रंगशालाको विषयलाई तीव्र राजनीतिकरणसमेत गरियो । तत्कालीन नेकपा विभाजनको बाछिटा रंगशालामा पर्‍याे । माओवादी नेतृत्वको भरतपुर महानगरले रंगशालालाई आफ्नो उपलब्धीका रुपमा प्रचार गर्ने देखेर एमालेको केन्द्रीय सरकारले असहयोग गरेकै हो । रंगशाला निर्माणको घोषणा हुँदा केपी ओली प्रधानमन्त्री थिए । घोषणा कार्यक्रममा उनी स्वयम् उपस्थित भएर धुर्मुसकाे गाथा गाएका थिए । तर, उनै ओली पछि धुर्मुसलाई ‘दर्शनभेट’ दिनसम्म तयार भएनन् । बारम्बार प्रयास गर्दा पनि धुर्मुसले ओलीलाई भेट्न पाएनन् ।

ओली प्रधानमन्त्रीको कुर्सीबाट ओर्लिएर शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् । माओवादी सत्ता साझेदार दलका रुपमा छ । अर्थमन्त्रालय माओवादीसँगै छ । तर पनि रंगशालाको भवितव्य फेरिन सकेको छैन । भरतपुर महानगरकी प्रमुख रेणु दाहाल रंगशाला निर्माणलाई अघि बढाएर यसको जस लिन चाहन्छिन् । तर, उनको कार्यकाल धेरै छैन । महानगरको मात्रै बजेटले यो निर्माण हुन पनि सक्दैन । अब स्थानीय चुनावबाट भरतपुरको नेतृत्वमा आउनेले रंगशालालाई प्राथमिकतामा नराख्न सक्छ । यदि राख्यो भने पनि केन्द्रको मुख ताक्नैपर्छ । केन्द्र र महानगरबीच समन्वय भएन भने रंगशाला अघि बढ्न सक्दैन ।

धर्मुस-सुन्तली फाउन्डेसनले हात झिक्नुको अर्थ यो रंगशाला अर्को मुलपानी बन्ने निश्चित भएको छ । सरकारको मातहतमा आउनासाथै यसको निर्माणमा अनेक झमेला उत्पन्न हुनेछन् । सरकारी तौरतरिकाबाट काम गर्दा प्रक्रियागत कारणले ढिलासुस्ती हुन्छ नै । ठेकेदारको कमिसन लगायत कारणले लागत ह्वात्तै बढ्नेछ । निर्माणको गुणस्तरमा पनि ढुक्क रहन सकिँदैन किनकी ठेकेदारले सस्तो सामान्य प्रयोग गरेर बढी मुनाफा खान खोज्छ नै ।

अझै पनि अवसर छ । सरकारले स्रोत जुटाएर धुर्मुस-सुन्तली फाउन्डेसनकै संयोजनमा कामलाई निरन्तरता दिने । हो, सरकारबाट यति ठूलो रकमको विनियोजनामा प्राविधिक समस्याहरु हुन सक्छन् । तर, कुनै उपाय ननिस्किने भन्ने हुँदैन । एकै निकायबाट सबै रकम निकासा हुन सक्दैन, तर हामीसँग केद्रदेनि गाविससम्म सरकारै सरकार छन् । सबैले थोरैथोरै रकम सहयोग गरे भने २-३ अर्ब ठूलो पैसा होइन । आर्थिक सुनिश्चितता भए अहिले पनि धुर्मुस तयारै छन् ।

०००

हो, प्रश्नको घेराबाट बाहिर कोही पनि छैन । धुर्मुसलाई प्रश्न सोध्ने अधिकार सबैलाई छ । तर, ती प्रश्न अनर्गल हुनुहुँदैन । आरोपहरु अवाञ्छित हुन हुँदैन ।

यदि संरचनाको डिजाइनमा खोट भेटिएको भए, काममा ढिलासुस्ती गरेको भए, निर्माणको गुणस्तरमा लापरवाही पाइएको भए, उठेको पैसा हिनामिना भएको भए, धुर्मुसमाथि जति पनि गाली वर्षाउन सकिन्थ्यो । स्रोत नजुटेकाले निर्माण अगाडि बढ्न सकेन । यसमा उनले धेरै के गर्न सक्थे ? उनले आफ्नो श्रीसम्पत्ति बेचेर पनि पुरा हुने आयोजना थिएन ।

स्रोतले साथ दिउञ्जेलसम्म धर्मुसले दिनरात नभनि मरिमेटेर काम गरेकै हुन् । कोभिड उत्कर्षमा रहेका बेला आफू र पत्नी दुवैलाई एकसाथ भएको संक्रमण अनि गम्भीर बिमारी अवस्थालाई गोप्य राखेर पनि उनले कामलाई निरन्तरता दिएका थिए । चाडवाडमा पनि जहान-परिवारलाई बिर्सेर निर्माणस्थलमै कामदारसँग रमाए । चौबिसै घन्टा निर्माणस्थलमा खटिए ।

धुर्मुसले स्रोत व्यवस्थापनको लागि पनि आफ्नो बर्कतले भ्याएसम्म प्रयास गरेका हुन् । देश दौडाहा गर्दै जनताको घर–घर पुगेर हात पसारेनन् कि ? नेता-मन्त्रीको दैलो चहार्दै याचना गरेनन् कि ? रंगशालाका कुर्सीदेखि कक्षहरु प्रायोजन गर्ने जुक्ती लगाएनन् कि ? केही गर्दा पनि नलागेपछि अन्ततः निर्माण रोक्नुको विकल्प उनीसँग रहेन । जब निर्माण रोकियो, अनि सुरु भयो अबगाल ।

बलेको आगो ताप्ने र ओरालो लागेकालाई लखेट्ने नेपालीको राष्ट्रिय चरित्र हो । त्यसमाथि हामीसँग यस्तो सामाजिक सञ्जाल छ, जसले जो कसैलाई रातारात हिरोबाट भिलेन बनाइदिन सक्छ । हिजो धुर्मुसलाई काँधमा बोक्ने प्रतिस्पर्धा थियो । काँध–काँधमा चढाएर धरहराको उचाईंमा पुर्याइयो । अहिले क्रमशः सबैले काँध छोड्दै भुईंमा पछारिने अवस्था आएको छ । हिजोको ताली आज गालीमा परिणत भएको छ ।

अहिले आर्थिक अनियमितताका आरोपसमेत लगाउन थालिएका छन् । तर, कुनै आधारबिनै । रंगशालाको आम्दानी–खर्चको विवरण धुर्मुस सुन्तली फाउन्डेसनले सार्वजनिक गर्नै बाँकी छ । रंगशालाको स्वामित्व महानगरलाई हस्तान्तरण गरेपछि हरहिसाब सार्वजनिक गर्ने फाउन्डेसनले बताइरहेको छ । सबै विवरण आइसकेपछि त्यसमा खोट देखियो भने प्रश्न गर्दा भयो । अहिले अनुमानका भरमा, आशंकाका भरमा एउटा राष्ट्रसेवीमाथि हिलो छ्याप्ने काम भइरहेको छ । देश किन बनेन भनेर चिन्ता लिइबस्ने, तर बनाउन अघि सर्नेहरुको खुट्टा तान्न खोज्ने भेडो समाज हौं हामी । हामी तीन करोड नेपालीहरु, तीन करोड भेडा हौं । यो प्रवृत्तिबाट मुक्त नभएसम्म देश बन्दैन ।

धुर्मुस समाजका एक आदर्श बिम्ब हुन् । यस्ता बिम्बहरुलाई निभ्न दिनु हुँदैन । एउटा धुर्मुस निराश हुनु भनेको उनलाई प्रेरणा मान्ने लाखौं नागरिक निरुत्साहित हुनु हो । अहिलेको चुनौति धुर्मुसका लागि एउटा अग्निपरिक्षासरह छ । उनी सहजै डग्मगाउने मनुवा होइनन् । तर, उनको पनि फलामको मुटु अवश्य छैन । टुट्न सक्छन् । उनी टुट्नु, विरक्तिनु भनेको एउटा राष्ट्रसेवी देशका लागि क्षति हो । यो क्षति जसरी पनि रोकौं ।

प्रतिक्रिया

18 thoughts on “धुर्मुसलाई दुत्कार्नेहरुका नाममा…

  1. यथार्थसहितको आलेख पढ्न पाइयो खुशी लाग्यो । नेपाली जनतामा किन अरुको खोइरो खन्ने प्रबित्ति दिमागमा रोग बनेर बसेको छ । यस्तो रोगले आफू बन्ने त कुरै छोडौ अरुलाई पनि बन्न दिदैन । तसर्थ यो बेला धुर्मुस,सुन्तलीलाई सबैको साथ सहयोगको जरुरी छ ।

  2. धुर्मुस जस्ता कलाकार समाजसेवीलाई निरुत्साहित गर्न खोज्ने त उपचार गर्न पनि सम्भव नहुने स्तरका मानसिक रोगी हुन्। यो जुनीमा अघोसित पागलको जीवन भोगेर मर्छन्।

  3. धुर्मुस सुन्तली फाउण्डेसनले ठूला पूर्वाधार विकासको परियोजनामा हात हाल्नु हुन्थेन। यो खालको परियोजनामा ईच्छा राखेर प्रक्रिया अघि बढाउँदा राज्यले त्यतिखेर रोक्नुपर्थ्यो। यहाँ फाउण्डेसन र राज्य दुवैको गल्ति छ। रह्यो कुरो क्रकेट रङ्गशाला बनाउन त्यतिखेर फाउण्डेसन दबावमूलक काम गर्नुपर्थ्यो नकि कसैलाई राजनीतिक लाभ पुग्ने गरी प्रयोग। यो यथार्थ हामी भन्न सक्नुपर्छ। तर अझैपनि हामी ठीकलाई ठीक बेठीकलाई बेठीक भन्न सकिरहेका छैनौं। रङ्गशाला निर्माणको मोडल कमजोर भएकाले आज समस्या आएको हो। सुरूमा फाउण्डेसन राज्यको प्रतिद्वन्द्वी जस्तो भएर देखियो अनि हामी जनता पनि भावनात्मक भएर फाउण्डेसनसँग जोडियो। त्यसले हुन्छ कि भन्ने भ्रम धुर्मुस सुन्तलीमा भयो। अहिले आएर पछुताउनु भन्दा पनि राज्यलाई निर्माण कार्य सम्पन्न गर्न दबाव बढाउनु पर्छ। आयव्ययको विवरण प्रस्तुत गर्ने दायित्व धुर्मुस सुन्तलीको नै हो। यो जटिलता आउँछ भनेर मैले त्यतिखेर पनि भनेको हुँ, तर विकास निर्माण कार्यको विरोधी भनेर ट्याग लगाइयो।

  4. अपरिपक्व सोच्, श्रोतको व्यवस्थापन विनाको योजना, अति महत्वाकांक्षी (राजनितिक भविष्य पनि) अपेक्ष्या, वस्ती विकास र खेलकुद विकासको लागी गर्नुपर्ने योजनाको लागी सामाजिक र आर्ठीक पाटो छुट्टै हो भन्ने खुट्याउन नसक्नु, यस्ता वृहत योजना सञ्चालन सरकारी स्तर बाट गर्ने कि व्यक्तिगत स्तर बाट गर्ने भन्ने छुट्याउनु नसक्नु नै कमजिरी रह्यो । देशको भू राजनितिक अवस्था लाई पनि ध्यान दिएको भए नेपालामा ठुलठुला योजनाहरु किन ढिला हुन्छ वा तुहिन्छ भन्ने कुरोको जवाफ पाइन्थ्यो । लेखमा सबैखाले कम्जोरी र जवाफ पनि पढ्न पाइयो । जय होस ।

    1. सुरुवात भएकै छ अब स्थानीय सरकार र केन्द्र सरकारले केहि पहल गर्ला आखिर जस्ले बनाए पनि आम खेल प्रेमीलाई त चाहिएको रंगशाला न हो । जे होस हिम्मत गरेर धुर्मुस सुन्तलीले सुरुवात गरेर पनि सम्पन्न गर्न कठिनाई पर्यो । अब बाकि कामको लागी राज्यले दायित्व लिएर काम गरोस

    2. लेखक लाई धेरै धेरै धान्यबाद यो लेख्नु जरुरि थियाे। मानिसकाे देश र जनताप्रितकाे भाबनालाई उजागर गरि देश बनाउन अाहुति दिएकाे याैदा लाई म नमन गर्छु। याे एउटा च्यालेन्ज हाे तर यसमा नेपालिकाे खुट्टा तान्ने प्रबिति र गलत कुदृिस्ट र राजनैतिक नीति बाट गलह्यत्याउन खाेजिएकाे छ । हामी 15% नेपालिले बुछाै बाकिका सबै फटाहा,र अन्य हुन जसले अरुकाे भलाे हुने काम साेच्दैनन् ।याे रंगशाला बन्नु पर्छ जसरि पनि बन्छ भन्ने मेराे िबश्वास छ ।सबैमा मेराे शुभकामना र धुर्मुस सुन्तली फाउन्डेसन परिबार प्रति मेराे प्रगाड माया ।
      तपाईकाे भलाे चिताउने मान्छे ।

  5. सहानुभूतीपूर्ण लेख राम्रो लाग्यो तर घांटी हेरेर हाड़ निल्नु पर्छ भन्ने सन्देश जानुपनि त्यतीकै जरूरी छ । फेरी सबैले आ-आफ्नो काम गर्ने हो नी ।

  6. बास्तबमा मागेर समाजसेवा हुदैन। कलाकार लाइ कलाकार बन्न देउ। हैसियत नभएको धुर्मुस सुन्तली ले आटे पछि यस्तै हो। उनीहरुलाई लाग्यो भावनात्मक भएपछि जति पनि पैसा उठ्छ अनि आफ्नो मन मर्जी ले पैसा चलाउन पाइन्छ। सक्छौ भने रोजगारी सिर्जना गर्ने उद्धोग खोल कम्पनि खोल नाफा कमाउ अनि जे गरेनी गर। नत्र तिम्लाई सुहाउने कलाकारिता हो उतै जम।

  7. यु ट्युब मा गएर हेर डाँका लेखनु भन्दा पहिला । भो कृषि युनिभर्सिटी को जग्गा हो । यो पछि भत्किन्छ यहाँ नबनाऊ अन्तै बनाऊ भनेर भनेको धेरै भिडियो छन्। खुबै जान्ने सुन्ने भाको डाम्ना ।

  8. मैले ५० करोड भन्दा उठाउ सक्दैनन् त्यसैले यस्ताे काममा हात हाल्नु हुँदैन भनेकै थिएँ सामाजिक सञ्जालमा । ३अर्ब सानो रकम हुँदै होइन।

  9. धुर्मुस सुन्तली जस्ता कलाकार समाजसेवीलाई निरुत्साहित गर्न खोज्ने मनोरोगी हरु धेरै छन् हाम्रो देश र समाजमा, आफु भने सिन्को नभाँच्ने अरुले गरेको राम्रो कामलाई खोट लगाउने। यस्ता तल्लो स्तरका मानसिक रोगी हुन्।
    देश र जनताले राम्रो सँग चिनेको छन् कलाकार द्वयलाइ ।तर राजनैतिक बिकराल सोच राख्ने नेता र तिनका धुपौरे कार्यकर्ता को मनोदशा मा पेलिन पुगेका हुन् धुर्मुस सुन्तली।अब सरकारले रंगशाला निमार्णका को लागि बजेट उपलव्ध गराएर धुर्मुस सुन्तली फाउण्डेशन द्वारा नै निर्माण गरियोस् । अन्यथा कमिसन खाने चक्कर मा निर्माण अन्य ठेकेदार लाइ दिन राम्रो होइन।

  10. नेपाली राजनितिको खराब असर पर्यो,जब सम्म बिकास र अन्य राजनिती बाहिरका बिषयमा राजनितिक दाउपेछ आग्रह पुर्बाग्रह हावी हुन्छ कुनै क्षेत्रमा पनि अपेक्षाक्रीत बिकास हुनै सक्दैन

  11. भेडा नेपालीको बुद्धि र बिबेक भएको भय त बारम्बार घुष्याहा र भ्रष्ट नेताहरुलाई जितायर देशको यो हालत बनाउने नै थियनन नि ।। यो सतिले सरापेको देश हो , राम्रो गर्नेको भलो हुदैन ।।

  12. अपरिपक्व सोच सहितको भरतपुर नगरपालिकासंगको सम्झाैता । कार्यान्वयनमा पनि केही अपरिपक्वता । जब श्रोतको व्यवस्थापन नगरपालिकाले गर्ने भनेपछि धुर्मुस सुन्तली अाफै अगाडि बढ्नु नै एउटा अपरिपक्व सोच भएको देखिन्छ । अर्कोतिर नगरपालिकाले श्रोतको व्यवस्थापन गर्न नसकेमा जुन रूपसम्म बनेको हुन्छ हस्तान्तरण गर्न सकिने व्यवस्था हुदाहुदै धुर्मुस सुन्तली श्रोत संकलनलाइ अगाडि अाउनु नपर्ने हो । तर यस्ता स्थितिलाइ त्यसबेला सामान्य मानिएकोले पनि अहिलेको समस्या अाउन सकेको हुनसक्छ । तर जतिसुकै विवेचना गरिएपनि कुराको चुरो भने नगरपालिकाको जिम्मेवारीमा निहित रहेको छ ।अहिले पनि नगरपालिकाले अाफ्नो जिम्मेवारी पुरा गरेमा निर्माण अगाडि बढ्न सक्छ ।

  13. Developmental infrastructure economic opportunities
    ….
    ….
    ….
    So many things can be achieved through one VISION.

    No what’s next?

    Well well well…
    hasta 🙏sabailai
    Thake Mero aaula Ani saabda haru
    Sapanaka sabai mitha Aassharu

  14. एकदमै महत्त्वपूर्ण लेख मलाई लाग्छ हाम्रो देशमा 5%मात्रै कहि गर्न मैदानमा उत्रिने मान्छे छ्न भने लगभग 45%मान्छे आफू सिन्को नभाच्ने तर गर्नेको खुट्टा काट्ने तर नाममा शिक्षित भनिएका मान्छे छन भने करीब 50%मान्छे गरिबी र अशिक्षाको भुमरीमा पिल्सिएका मान्छे छन।केही मान्छेहरु अफवाह फैलाउनमा माहिर छन भने केही कुनै सोच बिचार र अध्ययन नगरी त्यसी अफवाहलाई शिरोपर गरि हिड्ने तर धुर्मुस सुन्तली यस्ता मान्छे हुन जुन नेपाली समाजले अपबादमा बाहेक पाउदैन।यदि नेपाललाई समृद्ध बनाउने हो भने यस्ता अपबादहरुलाई सुरक्षित राख्न जरुरी छ।

  15. यो लेख पढे मैले पनि र यो लेख सग म पुर्णरुपमा सहमत छु हो हामी जनता वास्तवमै भेडो छौ केही गर्न खोज्नेलाई हरेक नभएका प्रमाण बिना बोल्छौम र गाली गर्छौ तर सरकार पाटिका नेताले खुल्लम खुल्ला भ्रष्टाचार गर्दा मेरो पाटी ठिक छ भन्दै हिड्छौ र तर धुर्मुस सुन्तलीले हामी सवै हिसाब किताब सार्वजनिक गर्छौ भनिरहेका छन तर केही फटाहा हरुले भ्रष्टाचार भयो भनेर मिडियाबाजी गरिरहेका छन प्रमाण बिना यस्तालाई के भन्ने हो हिसाब किताब सार्वजनिक भए पछि चित्त नबुझेमा प्रस्न गर्न सकिन्छ तर यहा त एक किसिमका बिकास बिरोध र यदि धुर्मुस सुन्तलीले काम छोडे हामी कमिसन खान पाउछौ भनेर कोकोहोलो गरेका हुन र अब बाकी काम तीन तहकै सरकारबाट रकम छुट्याएर काम धुर्मस सुन्तली फाउन्डेसनलाई गर्न दिने हो भने रंगशाला समयमै र गुणस्तरको बन्छ । र धुर्मुस सुन्तलीलाई के भन्छु भने हिम्मत नहार्नुहोस नबिराउनु नडराउनु किन टेन्सन लिनु कुकुर भुक्तै गर्छ भुक्न दिनुहोस …

  16. लेखले हामी जस्तो आम मानिसहरुको धुर्मुस सुन्तली र फाउन्डेसन प्रति र तेस्तै प्रकृतिका अन्य ब्यक्ति – ब्याक्तित्व प्रतिको असन्तुलित बिचार र दृष्टिकोणलाई उजागर गर्ने र आफ्नो अनुहार पहिले ऐनामा हेरेर अरुको मुल्यांकन गर्न सुझाएको मैले पाँए !
    समय सान्दर्भिकताले अपरिहार्य ठहर्‍याएको लेखको लागि लेखक साधुबादका पात्र बन्नु भएको छ !
    बस्तु परिस्थितिको उचित र समग्र मुल्यांकन बिना आरोपको लागि आरोपको मात्र आधारमा धुर्मुस – सुन्तली लाई दन्डित गर्ने कार्य ले समयले हामीलाई पनि झनै महा-अपराधबोध को सामाना गर्नु पर्ने तुल्याउन सक्छ ! सबैलाई चेतना भया: !

Leave a Reply

Your email address will not be published.