जनकपुरधाम प्रदेश राजधानी भएपछि युवाहरुले मनाए दिपावली


जनकपुरधाम । प्रदेशको स्थायी राजधानी जनकपुरधाम पारित भएपछि युवाहरुले दिपावली मनाएका छन् । जनकपुरधामको चोक चोकमा पटाका पड्काउदै युवाहरु दिपावली मनाएका हुन् ।
प्रदेशसभा गठन भएको चार वर्षपछि आज प्रदेशले जनकपुरधाम राजधानी र मधेस नाम पाएको छ ।
नाम र राजधानी पारित गरेका साँसदहरुलाई जनकपुरका यूवाहरु प्रदेशसभा परिसरमै पुगेर बधाई दिनुका साथै सम्मान गरेका थिए ।
उद्योग बाणिज्य संघका अध्यक्ष जीतेन्द्र महासेठ र जनकपुरधामका मेयर लालकिशोर साहले जनकपुरधामलाई राजधानी बनाएको खुशियालीमा दिपावली गर्न अपिल गरेका थिए ।
अब जनकपुरधाममा लगानी भित्रिने वातावरण निर्माण भएकोले यहाँका व्यवसायीहरु खुशी भएको संघका अध्यक्ष महासेठले बताए ।
यता, वीरगञ्जमा भने मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गरिएको छ ।
वीरगञ्जलाई राजधानी बनाउन भुमिका नखेलेको भन्दै मुख्यमन्त्री राउतको यूवाहरुले पुत्ला दहन गरेका हुन् । वीरगञ्ज मुख्यमन्त्री राउतको गृहनगर हो ।
प्रदेशको नाम मधेस भएको खुशीयालीमा सरकारले भोली सार्वजनिक विदा दिएको छ ।