राष्ट्र बैंकको नयाँ प्रावधानले राजस्व संकलन लक्ष्य भेट्टाउन मुस्किल ! – Nepal Press

राष्ट्र बैंकको नयाँ प्रावधानले राजस्व संकलन लक्ष्य भेट्टाउन मुस्किल !

रुपन्देही । राष्ट्र बैंकले लागु गरेको नयाँ प्रावधानले यसअघिका हरेक महिनामा लक्ष्यभन्दा धेरै राजस्व संकलन गरेको भैरहवा भन्सार कार्यालयले पुस महिनामा लक्ष्य भेटाउन सकेको छैन् ।

वीरगन्जपछि देशकै दोश्रो ठूलो भन्सार नाका रहेको यो नाकामा आर्थिक वर्ष २०७८/०७९ को सुरुवातबाट हरेक महिना लक्ष्यभन्दा बढी राजस्व संकलन भएको थियो । तर पुस महिनामा ८७ दशमलव १३ प्रतिशत मात्र राजश्व संकलन भएको छ ।

भन्सार विभागले पुस महिनाका लागि ११ अर्ब ३ करोड १५ लाख लक्ष्य दिएकोमा कार्यालयले पुस मसान्तसम्म ९ अर्ब ६१ करोड २२ लाख मात्र राजस्व संकलन गरेको भन्सार कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका सूचना अधिकारी तिर्थराज पासवानका अनुसार साउनदेखि हरेक महिना १० अर्बको हराहारीमा लक्ष्य थियो । तर राष्ट्र बैंकले लागु गरेको नयाँ प्रावधानले राजस्व संकलनमा कमि आएको पासवानले बताए ।

पुस ५ गतेबाट लागू हुने गरी नेपाल राष्ट्र बैकले १८ वटा शीर्षकका विलासिताका वस्तुहरुको आयातमा अनिवार्य प्रतितपत्र (एल.सी.) खोलेर शतप्रतिशत र दुई वटा शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेसँगै लक्ष्य पार गर्न नसकेको उनको भनाइ छ ।

कार्यालयलाई आव २०७८/७९ का लागि विभागले १ खर्ब २७ अर्ब ४२ करोड ६८ लाख वार्षिक लक्ष्य दिएको छ, कार्यालयले ६ महिनामा कुल लक्ष्यको ५२ दशमलव ७२ प्रतिशत राजस्व संकलन गरिसकेको छ ।

विलासिताका वस्तुहरुको आयातमा राष्ट्र बैंकले नयाँ प्रावधान ल्याएसँगै आयातमा गिरावट आएको छ ।

दैनिक ६–७ सय मालवाहक गाडी जाँच पास हुँदै आएको भैरहवा भन्सार कार्यालयमा पुस ५ गतेदेखि यो संख्या घटेर २ सय ५० हाराहारीमा झरेको सूचना अधिकारी पासवानले बताए ।

राजस्व कम संकलन हुने कारण विलासिताका वस्तु आयतमा कमी नै हो । पुसमा विगत ५ महिनाको तुलनामा कार जीप र भ्यान, चकलेट, टायल, मार्बल, ग्रेनाइट, मोटरसाइकल, स्कुटरलगायतका वस्तुको आयात घटेको छ ।

मुख्यतया मसला, चकलेट, पेयपदार्थ, सुर्तीजन्य वस्तु, कस्मेटिकका सामान, काठ र फर्निचर, जुत्ता चप्पल, टोपी हेलमेट, टायल, मार्बल, ग्रेनाइट, सिसाका सामान, आर्टिफिसियल ज्वलरी, तासलगायतका वस्तुमा शतप्रतिशत र हलुका सवारी साधन कार, जीप, भ्यान, मोटरसाइकल, स्कुटरमा ५० प्रतिशत एलसी खोल्दा नै बैंकमा भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।

अहिलेको व्यवस्थाले साना व्यवसायी मर्कामा परेका छन् । भारतबाट सामान ल्याएर बेचेर केही समयपछि पैसा पठाउने गरेकोमा यो व्यवस्थाले अग्रिम पैसा फसाएर पूँजी नै रोकिने गरेकोले ती उद्योगी व्यवसायीहरुको सामान आयातमा कमी देखिन्छ ।

लकडाउन र निषेधाज्ञाका कारण समग्र व्यापारमा गिरावट आए पनि भैरहवा नाकामा खासै असर परेको थिएन । तर राष्ट्रबैकको नयाँ नियमले राजश्व संकलनमा असर गरेको छ ।

मुख्यतः १० वस्तुको आयातले लक्ष्य पार गर्न योगदान गर्ने गरेको थियो । ती वस्तुमध्ये केही वस्तु आयात गर्दा शतप्रतिशत भुक्तानी गरी एलसी प्रतितपत्र खोल्नुपर्ने प्रावधान आएको छ ।

कार्यालयले सवारीसाधान, टायल मार्वल, एमएस विलेट, डिजेल, पेट्रोल, कोइला, मोबाइल फोन, पोलिथीन दाना, जर्दा खैनी, ग्लासलगायतका वस्तुबाट बढी राजस्व संकलन गरिरहेको थियो ।

पछिल्लो समय विलासी वस्तुको खारिदमा हाम्रो विदेशी मुद्रा धेरै खर्च भएकोले र आन्तरिक उत्पादन कम भएकोले देशभित्रको विदेशी मुद्राको संचितिलाई सन्तुलनमा राख्न नेपाल राष्ट्र बैंकले परिपत्र गरेको हो ।

अतिआवश्यक वस्तुमा भने यो व्यवस्था छैन । विलासिताका वस्तुमा मा लागू भएको छ । परिपत्र आउनुअघि यी २० वटा शीर्षकका वस्तु १० प्रतिशत वा केही शर्तमा बैंकमार्फत एलसी खोलेर आयात हुँदै आएको थियो ।

कार्यालयले साउनमा १ सय ५ दशमलव ५८ प्रतिशत, भदौमा १ सय ९ दशमलव ५९ प्रतिशत, असोजमा १ सय १२ दशमलव ८० प्रतिशत, कार्तिकमा १ सय ३ दशमलव ६९ प्रतिशत र मंसिरमा १ सय १ दशमलव शून्य ८ प्रतिशत राजश्व संकलन गरेको थियो ।

पुसमा भने लक्ष्यभन्दा १२ दशमलव ८७ प्रतिशत कम राजस्व संकलन भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *