‘ए’ डिभिजन लिग : एनआरटीसँग जावलाखेल पराजित


काठमाडौं । दर्शन गुरुङको दुईगोल प्रेरित न्युरोड टीम (एनआरटी) ले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबलाई २–० गोलको नतिजामा पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा सोमबार भएको नवौं चरणको अन्तिम खेलमा एनआरटीलाई जित दिलाउन गुरुङले दुई गोल गरेका हुन् ।
खेलको ६९औं मिनेटमा गोल गर्दै दर्शनले एनआरटीलाई अग्रता दिलाएका थिए । उनले मेसुके ओल्मोउको पासमा पेनल्टी एरियाबाट रन बनाउँदै उत्कृष्ट फिनिस गरेका थिए । त्यसको तीन मिनेटपछि दर्शनले पुनः गोल गर्दै एनआरटीको अग्रता दोब्बर पार्दै जित सुनिश्चित गरे ।
यसअघि पहिलो हाफमा औशत प्रदर्शन गरेका दुवै टोलीले गोल गर्ने थुपै्र अवसरलाई सदुपयोग गर्न सकेनन् ।
एनआरटीका फरवार्ड स्टेफेन विनङले १३औं मिनेटमा जावलाखेलका गोलकिपर टिकेन्द्र सिंह थापा बिट भैसकेको अवस्थामा पेनाल्टी एरियाबाट गरेको प्रहार फ्रेममा परेन ।
डिफेन्डर दिपेन्क राज सिंहको लङरेन्जर प्रहार क्रसबार माथिबाट बाहिरिदा जावलाखेलले अग्रता लिने अवसर खेर फालेको थियो ।
जावलनखेलका लागि पहिलो हाफको इन्जुरी समयमा आङ्गुना जुनियरको क्रसमा रुप बहादुर लामाको प्रहार क्रसबार नजिकैबाट बाहिरियो ।
त्यसको एकमिनेट नबित्दै सुरज ठकुरीको क्रसमा राजेन्द्र रावलको हेडर सिधै एनआरटीका गोलकिपर अजित प्रजापतिको हातमा परेको थियो ।
जावलाखेलले खेलको ८५औं मिनेटमा गोल गर्ने सुन्दर मौका गुमाएको थियो । रुप बहादुर लामाले फ्रि–किक मार्फत गरेको प्रहार एनआरटीका गोलकिपरले पन्चआउट गर्दै उत्कृष्ट बचाउ गरे ।
जितसँगै एनआरटी ९ खेलबाट १३अंकसहित लिग तालिकाको छैठौं स्थानमा उक्लिएको छ । पराजित जावलाखेल समान खेलबाट ८अंकसहित दसौं स्थानमा छ ।
यससँगै लिगमा नवौं चरणका खेलहरु सकिएका छन् । नवौं चरणको समाप्तिमा साविक विजेता मछिन्द्र फुटबल क्लब स्पस्ट चार अंकको अग्रतासहित तालिकाको शिर्ष स्थानमा रहेको छ ।