पर्यटन बोर्डका सिइओले अवैध रुपमा सुन ल्याउँदा जफत भई जरिवाना तिरेको रेकर्ड भन्सारले पठायो – Nepal Press

पर्यटन बोर्डका सिइओले अवैध रुपमा सुन ल्याउँदा जफत भई जरिवाना तिरेको रेकर्ड भन्सारले पठायो

काठमाडौं । नेपाल पर्यटन बोर्डका सिइओ धनन्जय रेग्मीले बेलायतबाट फर्किदा भन्सारमा रक्सी काण्ड मच्चाएकोमा छानविन समिति नै गठन भएपछि उनले माफी माफी मागेका थिए ।

तर रेग्मीले भन्सारबाट नियमविपरित रक्सीमात्र होइन यसअघि सुन पनि भित्र्याउन खोज्दा जफत भएर जरिवाना तिरेको खुलेको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले रेग्मीले अवैध रुपमा चोरी पैठारीगरी ल्याएको ३० ग्राम सुन जफत गरेर जरिवाना गरिएको जानकारी दिएको छ ।

भन्सार कार्यालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पठाएको विवरणमा २०७४ पुस ९ गते विस्कुट आकारका तीन थान सुनका डल्ला जफत गरिएको र बिगो बमोजिम एक लाख ४० हजार ६८५ रुपैया जरिवाना हुने निर्णय भएको जनाइएको छ ।

रेग्मी कतार एयरलायन्सको उडानबाट नेपाल आउँदा अवैध रुपमा सो सुन ल्याएको भन्सार कार्यालयले जनाएको छ । रेग्मीमाथि छानविन भइरहेका बेला मन्त्रालयले रक्सी काण्डबारे विवरण माग्दा भन्सार कार्यालयले अवैध रुपमा सुन ल्याउँदा कारवाही भएको जानकारी दिएको हो ।

रेग्मीले ल्याएको सुन प्रकरणमा मुद्दाको किनारा भने २०७७ भदौमा लागेको थियो । त्यसको एक वर्षपछि गत पुसमा फेरि रक्सीको लफडा निस्किएको हो ।

रेग्मीले भन्सार नियमविपरित रक्सी भन्सारबाट छिराउन खोज्दा कर्मचारीसँग झगडा परेको थियो । त्यसक्रममा भन्सार कर्मचारीमाथि दुव्र्यवहार गरेको भनी रेग्मीमाथि छानविन समेत भएको थियो ।

यसबीचमा रेग्मीले बोर्डमा अनियमितता गरेको भन्दै पर्यटन बोर्डले छानविन समिति गठन गरि अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *