नियमित निर्वाचन नगर्न प्रधानमन्त्रीलाई गठबन्धनभित्रै दबाब, प्रवक्ता भन्छन्– उपयुक्त समयमा निर्णय लिन्छौं – Nepal Press

नियमित निर्वाचन नगर्न प्रधानमन्त्रीलाई गठबन्धनभित्रै दबाब, प्रवक्ता भन्छन्– उपयुक्त समयमा निर्णय लिन्छौं

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधानतः नियमित निर्वाचन नगराउन सत्तारुढ गठबन्धनभित्र दबाब बढेको छ ।

२०७४ साल बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल सकिनै लाग्दा बैशाखमा स्थानीय तहको निर्वाचन नगराउन सत्तारुढ गठबन्धनका दलहरुले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई दबाब दिएका हुन् ।

सत्तारुढ पाँचदलीय गठबन्धनका मुख्य घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले स्थानीय निर्वाचनको सट्टा पहिले संसदीय निर्वाचन गर्न वा तीनवटै तहको निर्वाचन एकैसाथ गर्न प्रधानमन्त्रीलाई दवाव दिएका छन् ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन तयारी थाल्दै राजनीतिक दलहरुसँग छलफल गरिसकेको छ ।

आयोगले एकै चरणमा निर्वाचन गर्नुपर्दा २०७९ बैशाख २२ गते र दुई चरणमा निर्वाचन गर्नुपर्दा २०७९ बैशाख १४ र २२ गते निर्वाचन गर्न प्रस्ताव गरेको छ । संविधानतः हरेक ५ वर्षमा हुनुपर्ने स्थानीय तहको निर्वाचनको मिति तोक्ने अधिकार मन्त्रिपरिषदमा निहित छ ।

सत्तारुढ दलहरुबीच निर्वाचनबारे साझा धारणा नबनेका कारण स्थानीय तहको निर्वाचनबारे अन्यौल बढेको हो ।

सत्ता गठबन्धनभित्र चुनाव सार्ने पक्षमा माओवादी र नेकपा एसलाई राष्ट्रिय जनमोर्चाले साथ दिएको छ । जनता समाजवादी पार्टीले भने नियमित चुनावको पक्षमा निर्वाचन आयोगको बैठकमा अभिव्यक्ति दिएको थियो ।

के चाहन्छन् माओवादी–समाजवादी ?

नेकपा विभाजनका दौरान क्षति व्यहोरेको नेकपा माओवादी केन्द्र र नेकपा एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादी दुवैले प्रधानमन्त्री देउवासमक्ष पहिले संसदीय निर्वाचन गर्न प्रस्ताव गरेका छन् ।

अधिकांश स्थानीय तहमा एमालेको नेतृत्व रहेकाले नियमित निर्वाचन गर्दा एमालेले स्थानीय सरकारको ‘साधन स्रोत’ परिचालन गर्ने माओवादी र नेकपा एसको बुझाई छ ।

२०७४ सालमा तेस्रो चरणको स्थानीय निर्वाचन भएको मितिलाई आधार मानेर अधिकांश स्थानीय तहको नेतृत्वविहीन राखेर संसदीय निर्वाचनमा जानु उपयुक्त हुने उनीहरुको बुझाई छ ।

ती २ दलले एकैपटक तीनै तहको निर्वाचन गर्नसकिने प्रस्ताव पनि गर्दै आएका छन् । तीनै तहको निर्वाचन एकैसाथ हुँदा गठबन्धन कायम राखेर अधिक लाभ लिन सकिने उनीहरुको बुझाई छ ।

गठबन्धनको समन्वय समितिमा रहेका एक नेताका अनुसार बैशाखमा स्थानीय तहको निर्वाचन गर्नुभन्दा संसदीय निर्वाचन पहिले गर्नु उपयुक्त हुने सुझाव आएको छ ।

‘माओवादी र समाजवादीका साथीहरुले एकैसाथ सबै चुनाव गर्ने वा बैशाखको सट्टा असोजमा स्थानीय चुनाव गर्ने प्रस्ताव ल्याउनुभएको छ’, ती नेताले भने ।

कांग्रेस अझै अलमलमा

हालै १४ औं महाधिवेशन सम्पन्न गरेको कांग्रेसमा राष्ट्रिय राजनीतिका विषयमा छलफल वा समिक्षा भएको छैन । पार्टीभित्र शक्तिशाली बनेका प्रधानमन्त्री देउवा स्वयं निर्वाचनबारे निकटस्थहरुसँग परामर्शमै छन् ।

कांग्रेसका केही नेताहरु संसदीय निर्वाचन पहिले गर्नुपर्ने पक्षमा छन् । स्थानीय निर्वाचन पहिले हुँदा गठबन्धनको चुनावी तालमेल सम्भव नरहने, एमालेले आफ्नो शक्ति जोगाएर आमनिर्वाचनलाई पनि प्रभावित पार्नसक्ने आँकलन केही नेताको छ ।

‘वडासम्मै गठबन्धनको चुनवी तालमेल हुन सम्भव छैन । स्थानीय तहमा एमाले कमजोर भइसकेको पनि छैन । त्यसैले पहिला संसदीय निर्वाचन गर्नुपर्छ । त्यसमा तालमेल गरेर गठबन्धनले जितेपछि स्थानीय निर्वाचन सहज हुन्छ’, सभापति देउवानिकट एक कांग्रेस नेताको भनाई छ ।

ती नेताका अनुसार कांग्रेसका अधिकांश शीर्ष नेताहरु पहिले संसदीय निर्वाचन गराउनेमा सकरात्मक छन् । ‘संवैधानिक र राजनीतिक हिसाबले गार्हो नपार्ने हो भने कांग्रेस पहिले संसदीय चुनावकै पक्षमा उभिन्छ’, ती नेताले भने ।

संसदीय निर्वाचनमा ‘जित निश्चित’ देखेका कांग्रेस नेताहरु पहिलो पार्टीका रुपमा स्थानीय निर्वाचनमा होमिदा पार्टीलाई लाभ हुने बताउँछन् ।

उपयुक्त समयमा निर्णय लिन्छौं : सरकारका प्रवक्ता

नियमित निर्वाचनका लागि मिति तोक्न निर्वाचन आयोगले ताकेता गरिसकेको छ । स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजिएको आरोप प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगाइसकेको छ । यस्तो अवस्थामा सरकार भने अनिर्णित छ ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की निर्वाचनबाट गठबन्धनमा अलग–अलग प्रस्ताव आएको बताउँछन् ।

‘नियमित निर्वाचन गर्ने, तीनै तहको निर्वाचन एकैसाथ गर्ने र पहिले संसदीय निर्वाचन गरेर स्थानीय निर्वाचन गर्ने भनेर तीनखाले धारणा आएका छन् । सरकारले यसबारे परामर्श गर्दैछ’, मन्त्री कार्कीको भनाई छ ।

सिंहदरबारमा पत्रकारहरुसँगको भेटमा मन्त्री कार्कीले निर्वाचनबारे सरकारले उपयुक्त समयमा उपयुक्त निर्णय लिने बताए ।

‘यो विषम परिस्थितिमा बनेको सरकार हो । सरकारका विशेष उद्देश्यहरु छन् । निर्वाचनबारे आएका सबै धारणाबारे पर्याप्त छलफल गरेर उपयुक्त समयमा उपयुक्त निर्णय दिन्छौं’, मन्त्री कार्कीले भने ।


प्रतिक्रिया

3 thoughts on “नियमित निर्वाचन नगर्न प्रधानमन्त्रीलाई गठबन्धनभित्रै दबाब, प्रवक्ता भन्छन्– उपयुक्त समयमा निर्णय लिन्छौं

  1. यी फटाहाले सम्बिधानको धज्जी आफू उडाएर अरुलाई प्रतिगामी भन्छन।देश डुबाउने भए।

  2. यी खातेहरुले सम्बिधानको धज्जी उडाएर अरुलाई प्रतिगामी देख्छन।यो देउबा आए पछि देश जहिले प्रतिगमन तर्फै लाग्नुको कारण,पद भए पुग्यो।जनता र देश भाडमा जाओस।उहिले राजाको प्यारो भएर भित्र्यायो,अब बिदेशी दलाल जङ्गली र घर भडुवाको सल्लाहमा पार्टी चलाउदै छ।

  3. यो विशेष परस्तिथि भनेको के हो प्रष्ट खुलाउँदा जनता ले पनि पढन सजिलो हुन्थ्योकी मन्त्री and सरकारका प्रवक्ता ज्यू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर