शीर्ष स्थानको मच्छिन्द्रले लियो चार अंकको अग्रता


काठमाडौं । स्ट्राइकर विमल घर्ती मगरको दुई गोलप्रेरित मच्छिन्द्र क्लबले आइतबार ब्रिगेड ब्वाइज क्लबलाई ४-० ले पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा आइतबार भएको पहिलो खेलमा मछिन्द्रको जितमा विमलले दुई र रेजिन सुब्बा र अभिषेक रिजालले एक÷एक गोल गरे ।
जितसँगै तालिकामा स्पस्ट तीन अंक जोडेको मछिन्द्रलाई उपाधि होडमा सहज भएको छ ।
खेलको ५६औं मिनेटमा बिमलले गोल गर्दे मछिन्द्रलाई अग्रता दिलाएका थिए । त्यसको सात मिनेट नबित्दै बिमलले टोलीको अग्रता दोब्बर पारे । उनले खेलको ६२औं मिनेटमा ब्रिगेडका डिफेन्डर इबोडे ओटुलाई छल्दै वान भर्सेज वानमा गोल गरेका थिए ।
मछिन्द्रको अग्रता ३–० बनाउँन रेजिनले ८४औं मिनेटमा गोल गरे । उनले बिमलको पासलाई सदुपयोग गर्दै पेनाल्टी एरियाबाट सुन्दर फिनिस गरेका थिए । दोस्रो हाफको इन्जुरि समयमा अभिषेकले गोल गर्दै मछिन्द्रको जित सुनिश्चित गरे ।
ब्रिगेडमाथि निरन्तर दवाव बनाएको मघिन्द्रले यसअघि थुप्रै गोल गर्ने अवसर खेर फालेको थियो । भने, ब्रिगेडले पनि पाएका अवसर सदुपयोग गर्न सकेन ।
ब्रिगेडका लागि अनिल गुरुङले नवौं मिनेटमा गरेको प्रहार मछिन्द्रका गोलकिपरले बचाएका थिए ।
यस्तै, खेलको १५औं मिनेटमा मछिन्द्रका डिफेन्डर रन्जित धिमालको कर्नरमा देवेन्द्र तामाङले हेडरमार्फत गरेको प्रहार क्रसबारभन्दा माथिबाट बाहिरिएको थियो ।
जितसँगै, ९ खेलबाट २३ अंकजोड्दै मछिन्द्र तालिकाको शिर्ष स्थानमा यथावत छ । पराजित ब्रिगेड समान खेलबाट ६ अंकसहित तालिकाको १२औं स्थानमा छ ।
आज हुने च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको दोस्रो खेल खेलाडीमा कोरोना पुष्टि भएकाले स्थिगित भएको छ ।