ओलीपछि शंकर पोखरेलको ‘मधेश मिसन’– आउने चुनावमा प्रदेश २ को पहिलो पार्टी बन्ने कोसिस – Nepal Press

ओलीपछि शंकर पोखरेलको ‘मधेश मिसन’– आउने चुनावमा प्रदेश २ को पहिलो पार्टी बन्ने कोसिस

काठमाडौं । कोरोना संक्रमण जोखिम बढिरहेका बेला एमाले महासचिव शंकर पोखरेल जिल्ला अधिवेशन उद्घाटनका लागि मधेश झरे । फर्किए लगत्तै उनी संक्रमित भए ।

थापाथलीस्थित केन्द्रीय कार्यालयको ‘वार रुम’ २३ पुसमा एकैसाथ देशभरका जिल्ला अधिवेशनका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे थिए । शीर्ष नेताहरु आ आफ्ना जिल्लामा केन्द्रित भएका बेला महासचिव पोखरेल भने मधेश झरे ।

सिरहा,पर्सा र बाराको अधिवेशन उद्घाटन गरेर फर्केपछि उनी कोभिड पोजेटिभ भएर बसेका छन् ।

२५ पुसमा पोखरेलले सिरहा जिल्लाको १०औं जिल्ला अधिवेशन उद्घाटन गर्दै सभालाई सम्बोधन गरे । साथमा थिए प्रदेश २ का इन्चार्ज रघुविर महासेठ, स्थानीय कमिटी सद्यस्य प्रभु साह लगायत ।

त्यसपछि उनले २७ पुसमा पर्सा पुगेर जिल्ला अधिवेशन उद्घाटन गरे । अर्को दिन २८ पुसमा पोखेल बारा पुगे । कलैयामा १० औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै समारोहलाई सम्वोधन गरे ।

कोरोना संक्रमित नभएको भए सम्भतवः पोखरेलले नै १ माघमा हुने रौतहटको अधिवेशनको उद्घाटन गर्ने थिए, उनलाई रोकि हाल्यो । उनीसँगै मधेशका एमाले नेताहरु रघुवीर महासेठ,प्रभु साह,ज्वाला कुमारी शाह,पुरुषोत्तम पौडेल लगायत मधेश दौडाहा थिए ।

ओलीको मधेश दौडाहा

उसो त पोखरेल मात्रै होइन, एमाले अध्यक्ष केपी शर्मा ओली पनि मधेश दौडाहामा गइरहन्छन् । ओली पछिल्लो समय ‘बृहत पार्टी प्रवेश’ कार्यक्रमका नाममा मधेश झरिरहेका छन् ।

महाधिवेशन (मंसिर १०–१२)अघि र पछि पनि ओलीको मधेश दौडाहा निरन्तर छ । ओली ७ साउनमा व्यवसायी दुर्गा प्रसाईंलाई पार्टीमा औपचारिक प्रवेश गराउन झापा पुगेका थिए। यद्यपि उनी त्यसअघिदेखि नै एमालेमा सक्रिय थिए ।

ओलीले कांग्रेसबाट संविधानसभा सदस्य भइसकेका अमृतलाल राजवंशी लगायतलाई पनि एमाले प्रवेश गराए ।

२२ कार्तिकमा ओली पार्टी कार्यक्रमकै शिलशिलामा मोरङ पुगेका थिए । चितवन महाधिवेशनको सम्मुखमा पार्टी प्रवेश कार्यक्रमका लागि ओली १ मंसिरमा विराटनगर पुगेका थिए ।

चितवन महाधिवेशनबाट पुनः निर्वाचित भए लगत्तै ओली ५ पुसमा कपिलवस्तु पुगेका थिए । उनले जसपाका नेता तथा प्रभावशाली नेता मंगल गुप्तालाई एमालेमा प्रवेश गराएका थिए ।

पार्टी प्रवेश कार्यक्रमकै लागि पुसमा ६ मा कपिलबस्तु गएका थिए। ८ पुसमा ओली पर्साको जगरनाथपुर पुगे । त्यहाँ पनि गाउँपालिका अध्यक्ष जालिम मिया,माओवादीबाट सांसद उम्मेदवार बनेर तेस्रो भएका महमद सलिम मन्सुर लगायतलाई एमाले प्रवेश गराए ।

ओली बाँके पुगेर ईश्वर दयाल मिश्र लगायत मधेशका स्थापित नेताहरुलाई एमाले प्रवेश गराए भने त्यसअघि जसपाका पूर्व सचेतक डा.शिवजी यादव एमाले प्रवेश गरेका थिए ।

पूर्व महासचिव पनि गएका थिए मधेश दौडाहामा

हालका वरिष्ठ उपाध्यक्ष,पुनस्थापित एमालेका महासचिव ईश्वर पोखरेल पनि ‘कोर मधेश’को यात्रामा निस्किएका थिए। गत वर्षको पुस ५ मा संसद विघटनपछि रक्षात्मक बनेका बेला पोखरेले साताव्यापी मधेश दौडाहा गरेका थिए। त्यतिबेला तत्कालीन नेकपामा अन्तरसंघर्ष चर्केर प्रचण्ड–माधव पक्ष र ओली पक्ष बनेका थिए।

संसद विघट गरेको १५ दिनपछि पोखरेल २० पुसमा सिराहाको गोलबजारमा पुगेर आमसभालाई सम्बोधन गरेका थिए। भोलिपल्ट धनुषास्थित पार्टी कार्यालय प्रांगणको आमसभालाई पनि उनले सम्बोधन गरेका थिए।

त्यस्तै २७ मा बारा पुगेर त्यहाँस्थित पार्टी कार्यालयमा आयोजित आमसभालाई सम्बोधन गरेका थिए । सर्लाही जिल्लाको सदरमुकाम मलंगवाको आमसभालाई सम्बोधन गर्न उनी २८ पुसमा त्यहाँ गएका थिए।

धनुषामै बसेर भूमिगतकालमा राजनीति गरेका पोखरेललाई मधेशका पूराना नेता कार्यकर्ताले कमरेड नविन भन्छन् । मैथिली भाषामा राम्रोसँग भाषण गर्न सक्ने पोखरेलले मधेशमा एमाले कमजोर हुन नदिन दौडाहा चलाएका थिए ।

‘कोर मधेश’मा मजबूत बन्ने दाउ

त्यो बेला र अहिलेको मधेश दौडाहाले एमालेले कोर मधेशलाई प्राथमिकता राखेको देखिन्छ । तर, एमाले तुलनात्मक कमजोर रहेको पनि कोर मधेश अर्थात प्रदेश २ मै हो ।

प्रदेश २ मा ३२ वटा संघीय निर्वाचन क्षेत्र छन् । माओवादी केन्द्रसँग गठबन्धन हुँदा पनि एमालेले त्यो बेला २ वटा मात्रै क्षेत्रमा निर्वाचन जितिको थियो । १ सय ४ सदस्यीय प्रदेश सभामा एमालेले २१ सिट जितेको थियो ।

पार्टीमा आएको विभाजनपछि एमाले ८ सिटमा मात्रै खुम्चिनुप¥यो । विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) तिर १३ प्रदेश सांसद लागे । प्रदेश २ मा एमालेबाट निर्वाचित जनप्रतिनिधि स्थानीय तहका भने खासै नेकपा एसमा लागेका छैनन् ।

स्थानीय तहमा एमाले तुलनात्मकरुपमा मजबुत पार्टी मानिन्छ । यद्यपी अन्य प्रदेशको तुलनामा प्रदेश २ मा एमालेले स्थानीय तह पनि कम जितेको छ । पछिल्लो पटक नेकपा विभाजनपछि प्रभु साह लगायतका नेताहरु एमालेमै बसेपछि स्थानीय तहमा पनि एमाले बलियो बनेको छ ।

प्रदेश २ का मात्रै माओवादीबाट जितेका ७ मेयर,१० उपमेयर र ८० भन्दा बढी वडाध्यक्षहरु नेकपा एकताको निरन्तरताका रुपमा एमालेमा बसेका कारण मधेशमा एमाले मजबुत बन्न लागेको नेताहरु बताउछन् ।

बिगतमा कमजोर अरहेको अवस्था बदल्न मधेशलाई प्राथमिकता दिइएको प्रदेश २ का एमाले इन्चार्ज तथा केन्द्रीय कमिटीका सचिव रघुविर महासेठ बताउँछन् ।

‘एमाले मधेश विरोधी हो, विकास विरोधी हो, मधेशीलाई हेर्न चाहँदैन भन्ने आरोपलाई कामले पनि र व्यवहारले पनि चिर्न खोजेको हो,’ नेपाल प्रेससँग उनले भने, ‘त्यसकै परिणाम स्वरुप आज एमाले तराईमा पहिले भन्दा अहिले धेरै राम्रो पोजिसनमा पुगेको छ ।’

पहिले कमजोर भए पनि आउँदो चुनावमा नसोचेको नतिजा निकाल्ने दावी महासेठको छ। ‘तपाईंले हेरिरहनु भएको छ जसपा, लोसपा, कांग्रेस, माओवादी सबैका कार्यकर्ता एमालेमा प्रवेश गरिरहेका छन्,’ उनी भन्छन्, ‘आउने स्थानीय, प्रदेश र संघीय चुनावले मधेशमा एमाले एक नम्बर पार्टी हो भन्ने सावित गर्छ । पहिले हामीले संघीय निर्वाचन क्षेत्रमा दुई सिट जितेका थियौं । तर, यसपाली कसैले नसोचेको परिणाम निकाल्छौं ।’

पार्टी विभाजनले पनि खासै फरक नपार्ने उनको भनाइ छ। महासेठ भन्छन्, ‘पार्टी टुक्रिएपछि केही मान्छे गए तर अहिले धेरै मान्छे फर्किसकेका छन् । र, फर्किने क्रम जारी पनि छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर