नेपाली नर्स लैजान बेलायतसँग श्रम सम्झौता हुँदै – Nepal Press

नेपाली नर्स लैजान बेलायतसँग श्रम सम्झौता हुँदै

काठमाडौं । नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका छन् ।

दुवै देशका अधिकारीबीच भएको वार्तामा नेपालबाट श्रमिक पठाउने र बेलायतले उनीहरूलाई रोजगारीका अवसर प्रदान गर्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेशनल हेल्थ सर्भिस’ का प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीचको वार्ताबाट दुवै देशबीच समझदारी गरी नेपाली श्रमिकलाई बेलायतमा रोजगारीको व्यवस्था गर्ने सहमति भएको श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए ।

नेपाली नर्सलाई रोजगारी दिनका लागि बेलायत तयार भएको छ । यसअघि बेलायतले नर्सलाई रोजगारी दिने भनिएको भएपनि औपचारिक निर्णय भने भएको थिएन । नर्स लैजाने विषयमा बेलायतले नेपालसँग आगामी मार्चसम्म श्रम सम्झौता गर्ने तय भएको छ ।

बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेशनल हेल्थ सर्भिस’ का प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीचको वार्ताबाट यस्तो सैद्धान्तिक सहमति जुटेको उनले जनाए ।

बेलायती श्रमिकले पाउने जत्तिकै न्यूनतम तलब र सुविधा नेपाली श्रमिकले पनि पाउने उनले जनाए । 

नेपालले जति संख्यामा नर्स उपलव्ध गराउनसक्छ त्यतिनै नर्सलाई बेलायतले रोजगारीको अवसर दिने बताएको घिमिरेले जानकारी दिए । ‘हामीले जति नर्स दिनसक्छौ‌ त्यतिनै लिने भन्ने कुरा भएको छ, बेलायत सरकार आफैंले सम्पूर्ण खर्च व्यहोरेर नर्स लैजाने सहमति भएको छ,’ घिमिरेले भने ।

नेपाली नर्स लैजाने मोडालिटीको बारेमा भने टुङ्गो नलागेको उनले बताए । नर्स लैजाने भन्ने विषयमा दुईदेश बीच पहिलो वार्ता भएकाले मोडालिटीबारे थप छलफल गरि टुंग्याइने प्रवक्ता घिमिरेले बताए । अहिले नेपालमा ६७ हजारबढी नर्स नेपाल नर्सिङ परिषद्मा दर्ता छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर