नेपालको वैदेशिक व्यापारघाटा झन् बढ्दो, भटमासको तेल बेचेर डिजल किनिँदै – Nepal Press
संकटमा अर्थतन्त्र

नेपालको वैदेशिक व्यापारघाटा झन् बढ्दो, भटमासको तेल बेचेर डिजल किनिँदै

काठमाडौं । नेपाली अर्थतन्त्रका लागि व्यापार घाटा सधैको चुनौती बन्ने गरेको छ । सरकारी नीति र निजी क्षेत्रको चासो उत्पादनभन्दा व्यापारकेन्द्रीत भएका कारण वर्सेनि नेपालको व्यापारघाटा बढ्दो छ । ठूलो परिमाणको आयात र नगण्य परिमाणको निर्यातले यो वर्ष पनि निरन्तरता पाएको छ ।

चालु आर्थिक वर्षको पहिलो ५ महिनाको तथ्यांक हेर्ने हो भने व्यापार घाटाको ग्राफ बढ्दो छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालको व्यापारघाटा गत वर्षको भन्दा ५४ प्रतिशतले बढेको छ ।

यो अवधिमा नेपालले १ खर्ब २ अर्ब ९२ करोड बराबरको निर्यात गर्दा ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाखको आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ५ महिनामै नेपालको व्यापार घाटा ७ खर्ब ३५ अर्ब ४८ करोड ६७ लाख रुपैयाँ पुगेको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा पहिलो ५ महिनाको अवधिमा यसवर्ष निर्यात र आयात दुवै बढेको छ । निर्यातभन्दा आयातको वृद्धि अनुपात धेरै भएकोले व्यापार घाटा फराकिलो भएको हो । अघिल्लो वर्ष यही अवधिमा व्यापार घाटा ५ खर्ब २५ अर्ब ४९ करोड ८१ लाख रहेको थियो ।

भारत र चीनसँगको व्यापारमा उच्च घाटा

नेपालले वैदेशिक व्यापार गर्दै आएका लगभग सबै देशसँग व्यापार घाटा व्यहोर्दै आएको छ । जसमध्ये भारतसँगको व्यापार घाटा सबैभन्दा उच्च छ । नेपालको आयात र निर्यात व्यापार दुवै भारतसँग हुने भएकोले उच्च घाटापनि भारतसँगकै व्यापारमा छ ।

गत असारदेखि मंसिरसम्मको तथ्यांक अनुसार नेपालले चालु आर्थिक वर्षमा भारतसँग मात्रै ४ खर्ब १५ अर्ब ८८ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । यो अवधिमा नेपालले भारतबाट ५ खर्ब ४ करोड बराबरको आयात गर्दा ८४ अर्ब १५ करोड बराबरको मात्रै निर्यात गरेको छ ।

भारतपछि चीनसँग नेपालले उच्च व्यापार घाटा व्यहोरेको छ । ५ महिनामै चीनसँग नेपालले १ खर्ब २१ अर्ब ८१ करोड बराबरको व्यापार घाटा सामना गरेको छ । चीनबाट १ खर्ब २२ अर्ब १९ करोडको वस्तु आयात हुँदा चीनतर्फ ३८ करोड १६ लाखको मात्रै निर्यात हुन सकेको छ ।

भूकम्पपछि तातोपानी भन्सार ठप्प हुँदा नेपाल–चीन व्यापार प्रभावित भएको छ । अझ कोरोनाका कारण नेपालबाट हुने निर्यातको अनुपात लगातार घट्दो क्रममा छ ।

पेट्रोलियम पदार्थको आयात उच्च

भन्सार विभागका अनुसार नेपालमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा उच्च रहेको छ । पछिल्लो ५ महिनाको अवधिमा मात्रै ४९ अर्ब २ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ । दोस्रो स्थानमा भटमासको आयात उच्च रहेको छ ।

५ महिनाको अवधिमा ३३ अर्ब ६६ करोड रुपैयाँ बराबरको भटमास नेपाल भित्रिएको छ । त्यस्तै पाम आयलको कच्चा पदार्थको आयात तेस्रो नम्बरमा छ । ५ महिनामा पाम आयलको कच्चा पदार्थ २४ अर्ब ६१ करोड बराबरको आयात गरिएको छ । उच्च आयात हुने वस्तुमध्ये पेट्रोल चौथो नम्बरमा छ । चालु आर्थिक वर्षको ५ महिनामा २४ अर्ब १ करोड मूल्य बराबरको पेट्रोल आयात भएको छ । त्यस्तै खाना पकाउने ग्यास २३ अर्ब ११ करोड र मोबाइलमात्रै २० अर्ब ३५ करोड बराबरको आयात भएको छ ।

नेपालले के धेरै बेच्छ ?

व्यापार घाटा उच्च रहेका कारण नेपालको निर्यात अनुपात निकै कम छ । यद्यपि निर्यात हुनेमध्ये चालु आर्थिक वर्षको पहिलो ५ महिनामा भटमासको तेलको निर्यात उच्च रहेको छ । नेपालले ३० अर्ब ५५ करोड बराबरको भटमासको तेल पाँच महिनामा निर्यात गरेको भन्सार विभागको तथ्यांक रहेको छ ।

त्यस्तै सोही अवधिमा २७ अर्ब ४२ करोड बराबरको पाम आयल निर्यात गरिएको छ । त्यस्तै नेपाली उत्पादनको गलैंचा ३ अर्ब ७३ करोडको नियाँत हुँदा हस्तकला र जुटबाट बनेका कपडा २ अर्ब ६५ करोड बराबरको निर्यात भएका छन् ।

भारतीय भन्सार नीतिमा आइरहने परिवर्तनका कारण नेपाली उत्पादनको निर्यातमा पनि समस्या हुने गरेको छ । नेपालबाट अत्यधिक निर्यात हुने पाम तेल, मफी , चिया लगायतका वस्तुमा भारतले विभिन्न समयमा निर्यात बन्द गरेका कारण नेपाल मारमा पर्ने गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेशलाल श्रेष्ठले व्यापार घाटा कसरी कम गर्ने विषयमा सबै सरोकारवाला चिन्तित रहेको बताउँछन् । सरकारी नीतिले नै उत्पादनभन्दा व्यापारलाई प्रश्रय दिएको श्रेष्ठको आरोप छ ।

‘नेपालमा उदोग खोलेर उत्पादन गरेर निर्यात गर्नुभन्दा विदेशी उत्पादन ल्याएर बेचेर नाफा खान सजिलो छ । सरकारी नीतिले पनि यसैलाई प्रोत्साहन गरेको पाइन्छ । उत्पादन लागत र ढुवानी खर्च नेपालमा धेरै छ । व्यापार घाटा कम गर्ने हो भने यसमा नीतिगत सुधार गर्नुपर्छ’, श्रेष्ठले भने । त्यस्तै निर्यातमुखी उद्योगहरु स्थापना गर्दा जग्गा र बिजुली सस्तोमा दिनसके निर्यात व्यापार बढ्नसक्ने श्रेष्ठको सुझाव छ ।

‘कानूनी झन्झट हटाएर उत्पादन उद्योग बढाउन सहज हुने व्यवस्थाहरु लागु गर्ने हो भने व्यापारघाटा कम गर्न सकिन्छ’, श्रेष्ठले भने । नेपालमा पछिल्लो समय विलासीका वस्तु मात्रै नभएर दैनिक उपभोग्य वस्तुकै आयात समेत बढ्दो क्रममा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *