सिके राउतको उत्तेजक भाषणः सत्तामा पुगेका जरासन्धहरुलाई समाप्त पार्नुपर्छ (भिडिओ) – Nepal Press

सिके राउतको उत्तेजक भाषणः सत्तामा पुगेका जरासन्धहरुलाई समाप्त पार्नुपर्छ (भिडिओ)

सिराहा । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पार्टीले आयोजना गरेको भेलामा उत्तेजक अभिव्यक्ति दिएका छन् ।

उनको पार्टीले जारी राखेको किसान आन्दाेलनलाई सम्बोधन गर्दै सांसद र मन्त्रीलाई जनकारवाही गर्ने चेतावनी पनि दिए ।

उनले मन्त्री, सांसद र नेताहरुलाई भौतिकरुपमा नै समाप्त पानुपर्ने आशय व्यक्त गरे ।

राउतले भने, ‘जसरी जरासन्धलाई बलरामले कोदालोले बध गरेका थिए । त्यसरी नै तपाईं किसानहरुले सत्तामा पुगेका जरासन्धहरुलाई कोदालोले अन्त्य गर्नुपर्छ । किसानले आफ्नो ताकत देखाउनुपर्छ ।’

उनले थपे, ‘एक-दुई टकाको दाना खाएपछि बगरा (चरा) लाई मार्ने प्रयास गर्छौं । तर अबौंको मल खाने कृषिमन्त्रीलाई के गर्ने ? यो कुरा तपाईं किसाहरुले बुझनुपर्छ ।’

उनले अब बगरालाई छाडेर भ्रष्टाचारमा लिप्त मन्त्री र सांसदलाई लखेट्नुपर्ने उल्लेख गरे । राजमार्ग बन्दको घोषणा गरेर मात्र माग पुरा नहुने भन्दै राउतले अब राजमार्गमै खाना पकाएर खाने पनि बताए ।

उनले भने, ‘राजमार्गमै अब भट्टी जलाउछौं । खाना पकाएर खान्छौं । र सांसद मन्त्री आए त्यहीँ जनकारबाही गर्छौं ।’

राउतले २१ दिन आन्दोलन गर्दा राजतन्त्र ढलेको तर किसान आन्दोलनको २२ दिन पुरा हुँदा पनि माग पुरा गर्न चासो नदेखाइएको गुनासो गरे । किसानकै मत लिएर सत्तामा पुगेकाहरू अहिले किसानमाथि नै गोली बर्साइरहेको उनको आरोप थियो ।

‘यति दिन आन्दोलन गर्दा माग पुरा भएन भनेर कोही पनि हतास नहुनुहोला’, उनले भने, ‘सँधै नेतालाई सत्तामा पुर्‍याउन आन्दोलन गरेका छौं । आज बल्ल आफ्नो माग पुरा गराउन सडकमा छौं । त्यसैले माग पुरा नभएसम्म आन्दोलन जारी रहन्छ ।’

अध्यक्ष राउतले किसानको खेतबाट मोटर समात्न जाने विद्युतका कर्मचारीलाई जनकारवाही हुने चेतावनी समेत दिए ।

उनले भने, ‘सरकारले सिंचाईको व्यवस्था नगर्ने, अनि किसानले मोटर चलाएर बालीनालीमा पानी हालेपछि समात्न मिल्छ ? मिल्दैन । अब मोटर समात्न जाने विद्युतका कर्मचारीलाई जनकारबाही हुन्छ । तपाईंहरु जनकारबाही गर्न तयार हुनुस् ।’

जनमत पार्टीले विभिन्न माग राखेर मधेसका सबै जिल्लाको सदरमुकाममा प्रदर्शन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर