देउवा जिताउँदा प्रकाशमानमाथि ‘एट्याक’, क्षेत्र नम्बर १ मा कसले दियो हराउने धम्की ? – Nepal Press

देउवा जिताउँदा प्रकाशमानमाथि ‘एट्याक’, क्षेत्र नम्बर १ मा कसले दियो हराउने धम्की ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भएको महिनादिन बितिसकेको छ । महाधिवेशनको राजनीतिक ‘परकम्प’ भने भर्खर सुरु हुँदैछन् ।

कांग्रेसको १३ औं महाधिवेशनपछि सबैभन्दा धेरै नेतृत्व परिवर्तनको रटान पूर्व महामन्त्री प्रकाशमान सिंहले लगाएका थिए । नेतृत्व परिवर्तनको एजेण्डा लिएर उनले सभापतिमा प्रतिस्पर्धा पनि गरे । पहिलो चरणमा तेस्रो बनेपछि दोस्रो चरणको निर्वाचनमा उनले शेरबहादुर देउवालाई सघाउने निर्णय लिए । ८२ मतले बहुमत पुर्‍याउन नसकेका देउवाका लागि ३ सय ७१ मत ल्याएका सिंहको समर्थन नै ‘सञ्जिवनी’ सावित भयो । जसले देउवा हराउन ५ वर्ष लगातार अभियान छेडे, उनकै समर्थन देउवाको जितका लागि निर्णायक रह्यो ।

कांग्रेस महाधिवेशनको तरंग यत्तिमै सीमित छैन । सभापतिमा प्रतिस्पर्धा गरेका विमलेन्द्र निधि र कल्याण गुरुङले पनि दोस्रो चरणमा देउवालाई नै सघाएका थिए । यद्यपि देउवा जिताएको र नेतृत्वको परिवर्तनको सम्भावना सिध्याएको आरोप भने प्रकाशमानले मात्रै व्यहोरेका छन् ।

किन लडे प्रकाशमान ?

कांग्रेस सभापतिमा प्रकाशमानको दावी अस्वभाविक थिएन । विद्यार्थी राजनीतिदेखि पार्टीको जिल्ला सभापति, केन्द्रीय सदस्य, उपसभापति हुँदै पहिलो निर्वाचित महामन्त्री भइसक्दा सभापतिका लागि उनको ‘वायोडाटा’ कमजोर थिएन । यद्यपि संस्थापनइतर भनिने समूहबाट सिंह उम्मेदवार बन्न सकेनन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘रेस’ छाडेपछि ‘सिनियर’ भएकोले आफूलाई समर्थन मिल्ने सिंहको आँकलन थियो । तर पौडेलले रेस छाडेसँगै इतरसमूहका अधिकांश नेता सिंहसँग सम्पर्कमै रहेनन् । इतर समूहको ‘उत्तराधिकारी’ का रुपमा डा.शेखर कोइराला प्यानलसहित मैदानमा उत्रिए । सिंहले पूर्ण प्यानल त बनाएनन् तर उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्माजत्तिका नेतालाई समेट्न सफल रहे ।

१२ औं महाधिवेशनमा सुशिल कोइरालाको टिमबाट महामन्त्री बनेयता सिंहले देउवाइतर टिमकै नेताका रुपमा आफूलाई अगाडि बढाएका थिए । १३ औं महाधिवेशनमै सभापतिमा दावी गरेपनि पौडेललाई उनले छाडेका थिए । यसपटक भने कसैले सिंहलाई छाडेनन्, यहीकारण उनी मैदानमा उभिए ।

‘सधै गणेशमानकै परिवारले त्याग गर्नुपर्ने ? १३ औं महाधिवेशनमा म र रामचन्द्रजी लड्ने कुरा हुँदा सबैले रामचन्द्रजी सिनियर हो भने तर यसपटक शेखर कोइराला चुनाव लड्छु भन्दा प्रकाशमान सिनियर हो भनेर कसैले भनिदिएन’, सिंहको भनाई छ । देउवाविरुद्ध संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्दासमेत आफूलाई असहयोग भएको सिंहको दावी छ । ‘संसदीय दलको नेतामा लड्दा देउवालाई भोट हाल्नेहरुले अहिले मलाई देउवालाई जितायो भनेका छन्’,सिंहको भनाई छ ।

आफूलाई गणेशमानको छोरा मात्रै नभएर ग्रासरुटबाट आएको कार्यकर्ता भन्न रुचाउने प्रकाशमान १४ औं महाधिवेशनमा नेतृत्व परिवर्तनको एजेण्डाका पक्षमा मत नआएको बताउँछन् । ‘नेतृत्व परिवर्तन र विधिसम्मत पार्टी सञ्चालन गर्ने २ वटा मुख्य एजेण्डा थियो । पहिलो चरणमा मेरो एजेण्डा तेस्रो भयो । नेतृत्व परिवर्तनको एजेण्डाले हारेपनि देउवाजीले विधिसम्मत पार्टी चलाउँछु भनेर प्रतिवद्धता गरेपछि समर्थन दिएको हुँ’, सिंहको भनाई छ ।

प्रकाशमानमाथि ‘पर्सनल एट्याक’

पार्टीको आन्तरिक निर्वाचनमा समूहहरुको निर्माण वा हेरफेर सामान्य कुरा हो । १४ औं महाधिवेशनमा कांग्रेसको ‘संस्थापन इतर’ भनिने समूह चिरा चिरा भयो । वरिष्ठ नेता पौडेल निर्वाचन प्रक्रियाबाट अलग बसे भने डा. शशाकं कोइराला ‘मौन’ रहे । सिंह र कोइरालाले निर्वाचन लड्दा पुरानो ‘इतर समूह’ तितरवितर हुनपुग्यो । यद्यपी यतिबेला प्रकाशमानले आफूमाथि ‘पर्सनल एट्याक’ भइरहेको महसुस गरेका छन् ।

भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा सिंहले पार्टीको आन्तरिक प्रतिस्पर्धालाई लिएर आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताएका छन् । ‘अहिले मेरो विरोध गराइएको छ । ममाथि पर्सनल एट्याक भइरहेको छ । पार्टीभित्रको कुरालाई लिएर काठमाडौं क्षेत्र नम्बर १ मा मविरुद्ध पार्टीकै मान्छेपनि लागेका छन्’, सिंहको भनाई छ । उनले कृष्णप्रसाद भट्टराईमाथि अन्तर्घात भएको क्षेत्रमा आफूविरुद्ध ‘अन्तर्घात’ को गम्भीर आशंका गरेका थिए ।

सिंहनिकट एक नेता महाधिवेशनको विषयलाई लिएर संसदीय निर्वाचनमा ‘देखाइदिने’ धम्की आएको बताउँछन् । यद्यपि कसैको धम्कीले सिंहलाई रोक्न नसक्ने उनको दावी छ । ‘हिजो किसुनजीलाई अन्तर्घात गर्ने र १३ औं महाधिवेशनमै देउवालाई पार्टी बुझाउनेहरुले प्रकाशमानलाई अन्तर्घातको चेतावनी नदिए हुन्छ । प्रकाश दाईलाई हराउने ईच्छा पूरा हुँदैन’, सिंह निकट नेताको दावी छ ।

क्षेत्र नम्बर १ मा के हुँदैछ ?

काठमाडौंको क्षेत्र नम्बर १ प्रकाशमानले पछिल्लो ३ निर्वाचन जितेको क्षेत्र हो । विगतमा कृष्णप्रसाद भट्टराईदेखि लोकेश ढकाल र हरिबोल भट्टराईसम्मले हार व्यहोरेको क्षेत्र नम्बर १ मा २०६४ को संविधानसभा निर्वाचन यता कांग्रेसले जित्दै आएको छ । यद्यपि अघिल्लो निर्वाचनमा सिंहको जित फराकिलो भने हुन सकेन । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र सिंहको निकटतम प्रतिस्पर्धी बनेका थिए ।

२०७४ मंसिरमा सम्पन्न निर्वाचनमा सिंहले १० हजार ९ सय ३६ मत ल्याउँदा मिश्रले १० हजार १ सय १८ मत पाएका थिए । सो क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले ५ हजार ३ सय ३६ मत ल्याउँदा नेपाली कांग्रेस (वीपी)का हरिबोल भट्टराईले १ सय ९६ मत पाएका थिए ।

काठमाडौंको अनामनगर, थापाथली, बानेश्वर , मध्यबानेश्वर, भीमसेनगोला र पुरानो बानेश्वर क्षेत्र नम्बर १ अन्तर्गत पर्दछन् । काठमाडौं महानगरपालिकाको १०, ११ , २९ र ३१ नम्बर वडा पर्ने यस क्षेत्रका ४ मध्ये ३ वडामा कांग्रेसले अध्यक्षसमेत जितेको छ । पछिल्ला निर्वाचनहरुको परिणाम हेर्दा कांग्रेसका लागि असहज नभएपनि सिंहलाई ‘प्रबुद्ध व्यक्तिहरुको मत’ र ‘अन्तर्घात’ भारी पर्नसक्छ ।

‘हिजो टोलको सामान्य कार्यक्रममा आउँदापनि देउवाले जिते कांग्रेसले हार्छ भन्ने उहाँ नै हो । आज देउवा जिताएर भोट माग्न आउँदा उहाँले बुझ्नुभएकै होलानि कांग्रेस हार्छ भन्ने ?’, क्षेत्र नम्बर १ का एक कांग्रेस समर्थकले भने । उनका अनुसार महाधिवेशन पार्टीको आन्तरिक विषय भएपनि क्षेत्र नम्बर १ मा रहेका प्रवुद्ध बुद्धिजिवीहरुको मत पाउन सिंहले चित्तबुझ्दो स्पष्टीकरण दिनुपर्छ ।

क्षेत्र नम्बर १ मा ‘पूर्वेली मत’ निर्णायक रहेको छ । मोरङ, सुनसरी, भोजपुर लगायत जिल्लाका अधिकांश व्यक्तिहरुको स्थायी बसोबास यस क्षेत्रमा रहेको छ । तीमध्ये कतिपय कांग्रेसका कार्यकर्ता, कतिपय शुभेच्छुक त कतिपय गैर कांग्रेसी छन् । कांग्रेस महाधिवेशनको दोस्रो चरणमा डा.शेखर कोइरालालाई समर्थन नदिएका कारण ‘पूर्वेली मतदाता’ सिंहसँग आक्रोशित छ । ‘पूर्वेली मतदातामा आक्रोश बढी देखिन्छ । प्रकाशमानले शेखरलाई किन सहयोग नगरेको ? भनेर प्रश्न गरेको पाइन्छ । अब विस्तारै टोल टोलमा कार्यक्रम गरेर चित्त बुझाउनुपर्छ’, कांग्रेसको क्षेत्रीय कार्यसमितिका एक पदाधिकारीले नेपाल प्रेससँग भने । उनका अनुसार सिंहले कार्यकर्ताभन्दा ‘डेमोक्रेट’ भनिने मतदातालाई चित्त बुझाउन जरुरी छ ।

क्षेत्र नै छाड्छन् की ?

कांग्रेसवृत्तमा नेता सिंहले ३ पटकसम्म जितेको निर्वाचन क्षेत्र नै परिवर्तन गर्ने चर्चा पनि उत्तिकै छ । काठमाडौंको नेवार समुदाय बाहुल्य रहेका क्षेत्रमा सिंहलाई उम्मेदवार बनाउनुपर्ने कतिपयको सुझाव छ । यद्यपि सिंह आफैले भने क्षेत्र छाड्ने संकेत गरेका छैनन् । ‘राजासँग त लडेर आको मान्छे । २-४ जनाले मञ्चबाट कराउँदैमा हुँदैन, प्रकाशमानलाई जनताले चिनेका छन् । म तर्सनेवाला छैन’, सिंहले भनेका छन् ।

काठमाडौं कांग्रेसमा भने क्षेत्र नम्बर १ मा असहजता बढेको अवस्थामा सिंहका लागि उपयुक्त हुने क्षेत्रबारे चर्चा तीव्र छ । क्षेत्र फेर्नुपर्ने अवस्थामा काठमाडौं ८ सिंहका लागि सहज देखिन्छ । विगतमा सो क्षेत्रमा कांग्रेसबाट स्व.नवीन्द्रराज जोशी उम्मेदवार बनेका थिए । १४ औं महाधिवेशनमा सिंह पत्नी सिर्जना र छोरा प्रभासमानले महाधिवेशन प्रतिनिधि जितेको क्षेत्र नम्बर ७ मा पनि उनको सम्भावना उत्तिकै छ । यद्यपि सिंहनिकट नेताहरु क्षेत्र फेर्ने कुरा हल्लामात्रै रहेको बताउँछन् ।

‘काठमाडौंको कुनैपनि क्षेत्रमा कसैले प्रकाशमान हराउन सक्दैन । तरपनि उहाँ क्षेत्र नम्बर १ बाटै चुनाव लड्नुहुन्छ र जित्नुहुन्छ’, सिंहनिकट एक क्षेत्रीय सभापतिले भने । संसदीय निर्वाचनका लागि अझै कम्तीमा १ वर्षको समय बाँकी छ । कांग्रेसमा अन्तर्घात पुरानो रोगका रुपमा रहेको छ । यहीकारण १४ औं महाधिवेशनको ‘तुस’ आगामि निर्वाचनमा नदेखिएला भन्न सकिदैन । यद्यपि अन्तर्घातको ‘बाछिटा’ ले सिंहलाई मात्रै होइन कांग्रेसका ‘जोकोही’ लाई रुझाउनसक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर