कांग्रेस उपसभापतिको प्रश्न- लिपुलेकबारे सरकार किन चुप ? – Nepal Press

कांग्रेस उपसभापतिको प्रश्न- लिपुलेकबारे सरकार किन चुप ?

रुपन्देही । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली भूमिमाथि भारतले दाबा गरिरहँदासमेत सरकार चुप लागेको भन्दै कुटनीति नोटमार्फत् समस्या समाधान गर्नुपर्ने माग गरेका छन् ।

आफ्नै पार्टी सभापति प्रधानमन्त्री रहेको सरकारलाई उनले लिपुलेक, कालापानी र लिम्पियाधुराको समस्या समाधान गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर तीनले शुक्रबार भैरहवामा आयोजना गरेको कार्यक्रममा गुरुङले इतिहासको तथ्यलाई हेर्ने हो भने कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि भएको र ऐतिहासिक दस्तावेजले पनि नेपालकै भएको पुष्टि गरेको बताए ।

अब समस्या समाधान गरी सधैंका लागि हाम्रो भूमि फिर्ता लिनुपर्ने जनाउँदै उनले यी ठाउँ पछिल्लो समय भारतले अतिक्रमण गरेर अघि बढेको भन्दै यसलाई समाधान गरेर अघि बढ्न ढिलाई गर्न नहुने बताए ।

उपसभापति गुरुङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि हो भनेर जान्दाजान्दै लिपुलेकसम्म सडक बनाउँदै छौं भन्नु खेदजनक र भत्र्सनाजनक अभिव्यक्ति भएको टिप्पणी गरे । पछिल्लो समय एमसीसी समस्या बल्झिँदै गएको भन्दै उनले सर्वदलीय संयन्त्र बनाएर समाधान गर्नुपर्ने धारणा राखे ।

एमसीसी सम्झौतामा सुधार गर्नुपर्ने भए सुधार गर्नुपर्ने र नभए फिर्ता गर्नुपर्नेमा बताउँदै उनले एमसीसी भूराजनीतिसँग जोडिएकाले यसलाई राजनीतिक दाउपेच बनाउन नहुने धारणा राखेका छन् । मुलुकको विकास नहुनु एउटा पनि असल नेता नहुनुको कारण भएको बताउँदै गुरुङले मुलुकले अहिले असल नेता खोजीरहेको बताए । हजारौं खराब नेता हुनुभन्दा एउटै नेताले पनि मुलुक बनाएको विश्वमा धेरै उदाहरण रहेको उनको भनाइ छ ।

पछिल्लो समय मुलुकमा भ्रष्टाचारले जरो गाडेको र ठूला नेता फस्ने भ्रष्टाचार काण्डमा अख्तियारले फाइल थन्क्याउने गरेको उनको आरोप छ । नेता गुरुङले वाइडबडी, यति, ओम्नी, रेक्युरिटी प्रिन्टिङ प्रेस खरिद जस्ता काण्डमा अनुसन्धान जरुरी रहेको बताए ।


प्रतिक्रिया

One thought on “कांग्रेस उपसभापतिको प्रश्न- लिपुलेकबारे सरकार किन चुप ?

  1. किनकी सरकार नै उसले बनाईदिएकाे हाे । मालिककाे विरूद्व नाेकर कसरी जावस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर