कालिका पावर कम्पनीद्वारा १५ प्रतिशत शेयर लाभांश वितरण – Nepal Press

कालिका पावर कम्पनीद्वारा १५ प्रतिशत शेयर लाभांश वितरण

चितवन । स्थापनाको पाँच वर्षपछि कालिका पावर कम्पनी लिमिटेडले १५ प्रतिशत शेयर लाभांश वितरण गरेको छ । चितवनको भरतपुरमा शुक्रबार सम्पन्न १४औँ वार्षिक साधारणसभाले कम्पनीका शेयर होल्डरहरुलाई १५ प्रतिशत शेयर लाभांश प्रदान गर्ने निर्णय गरेको कम्पनीका सचिव किशोर कुमार डङ्गोलले जानकारी दिए ।

गोरखाको अजिरकोट गाउँपालिकामा दरौँदी खोलाबाट ६ मेघावाट विद्युत् उत्पादन गर्दै आएको कालिका पावरले उत्पादन सुरु गरेको पाँच वर्षपछि यस वर्ष पहिलो पटक शेयर लाभांश वितरण गरेको हो ।

कम्पनीले ६० करोड पुँजीको १५ प्रतिशत हुन आउने रकमको नौ करोड बराबरको शेयर लाभांश प्रदान गरेको डंगोलले बताए । कालिका पावरको ६० लाख कित्ता शेयरमध्ये संस्थापक शेयर धनीहरुको ४२ लाख, उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि छ लाख कित्ता र कर्मचारी र सर्वसाधारणहरुको १२ लाख कित्ता शेयर रहेको छ ।

यसैबीच, कम्पनीका संस्थापक शेयर धनी एवं पूर्वमन्त्री विक्रम पाण्डेले सोही दरौँदी खोलाबाट थप १८ मेघावाट विद्युत् उत्पादन गर्नेगरी दुई वटा परियोजना सञ्चालन गर्न लागिएको जानकारी दिए। गोरखाकै बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिकामा एकै ठाउँमा ८।२ मेघावाट र ९।८ मेघावाटको दुई वटा परियोजना सञ्चालन गर्न लागिएको पाण्डेले बताए ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी तीन अर्ब ५० करोड लागतमा दुई वटा आयोजना यसै वर्ष सञ्चालन गरिने पाण्डेले बताए । १८ मेघावाट विद्युत् उत्पादनका लागि एक वर्ष भित्र हकप्रद शेयर निकाल्ने तयारी गरिएको समेत पाण्डेको भनाइ छ । सो परियोजना सम्पन्न गर्न ३ देखि साढे ३ अर्ब रुपैयाँ लाग्ने छ । हाइड्रोपावर निर्माणका लागि कम्पनीले शेयर आह्वान गर्ने उनले बताए ।

२०६४ सालमा स्थापना भएको यस कम्पनीले गोरखामा ६ मेगावाटको विद्युत उत्पादन गरिरहेको छ । सो पावर निर्माण गर्न १ अर्व ३८ करोड रुपैयाँ लागत लागेको कम्पनीले जनाएको छ । पाँच बर्षदेखि विद्युत बिक्री गर्दै आएको छ ।

आज (शुक्रबार) भरतपुरमा भएको १४औँ बार्षिक साधरण सभाले विक्रम पाण्डेको अध्यक्षमा चार सदस्य सञ्चालक समिति गठन गरेको हो । सञ्चालक सदस्यमा पार्वती पाण्डे, युव बहादुर क्षेत्री, र ठाकुर प्रसाद ढकाल रहेका छन् । सात सदस्य सञ्चालक समिति रहने कम्पनीमा बाँकी तीन सदस्य अर्को बर्ष चयन गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *