सुपारी आयात खुलाउन ५० करोडको डिल, यी हुन् खटाइएका विचौलिया – Nepal Press

सुपारी आयात खुलाउन ५० करोडको डिल, यी हुन् खटाइएका विचौलिया

काठमाडौं । राष्ट्र बैंकले देशको अर्थतन्त्र संकटमा परेको विवरणसहित विदेशी मुद्रा सञ्चिति दयनीय रहेको आँकडा सार्वजनिक गरेकै भोलिपल्ट उद्योगमन्त्रालयबाट कम्तीमा पौने चार अर्बको सुपारी आयातका लागि प्रस्ताव अघि बढाइएको छ ।

नेपाल प्रेसले अघिल्लो साता नै सुपारी तस्करीको लाइन खुलाउन कांग्रेसका पूर्वसांसद समेत रहेका वीरगञ्जका उद्योगपति अनिल रुङटा, डडेलधुराका रामचन्द्र भट्ट र श्रीराम गुट्खा उद्योगका कमलकिशोर मालपानी तथा विराटनगरका उद्योगी दिनेश राठीहरूले मेहनत गरिरहेको समाचार बाहिर ल्याएको थियो ।

स्रोतका अनुसार नेपाल टिम्बर कर्पोरेशनका पूर्वमहाप्रबन्धकसमेत रहेका डडेलधुराका भट्टले  सुपारी तथा गुट्खा व्यापारीसँग डिल गरिसकेका छन् । उनी हालैमात्र भैरहवामा गएर मालपानीसँग भेट गरेका थिए ।

कम्तीमा पौने चारदेखि ५ अर्बको सुपारी भित्र्याउँन ५० करोड रूपैयाँ परिमाणात्मक बन्देज खुलाएवापत व्यापारीले खर्च गर्दैछन् । त्यसको ‘टोकन मनी’ प्राप्त भइसकेपछि माथिको दबाबमा उद्योग विभागले सिफारिस अघि बढाइसकेको छ र मन्त्रिपरिषदमा लगेर पारित गरिँदैछ ।

अहिले उद्योगमन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवा आफैंसँग छ । सुपारीको डिल भने सीधै अनिल रुङटा र रामचन्द्र भट्टले गरिरहेको उद्योगमन्त्रालयका एक उच्च अधिकारीले बताए ।

सुपारी आयात खुलाउन ठूलो आर्थिक चलखेल भइरहेको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारीहरू झस्किएका छन् । विभागीय मन्त्री नभएको बेला सीधै सुपारीको ‘लाइन’ खुलाउन दबाब आएपछि केही गर्न नसकिएको उनीहरूको भनाइ छ ।

यो पनि पढ्नुहोस् : सुपारी तस्करीको लाइन खुलाउन आर्थिक चलखेल, आयात बन्देज हटाउन मन्त्रिपरिषदमा प्रस्ताव

स्रोतकाअनुसार अघिल्लो सरकारले परिणात्मक बन्देज लगाएको सुपारी केही व्यापारीलाई फाइदा पुग्ने गरी आयात अनुमति दिन मन्त्रालयबाट फाइल अघि बढेको छ ।

यसको संयोजन पूर्वमा विराटनगरका व्यवसायी दिनेश राठीले गरेको बताइन्छ । औद्योगिक कच्चा पदार्थ आयात भनेर आयात खुलाउने तयारी भइरहेको स्रोतले जनाएको छ । नेपालमै ७ हजार टन सुपारी उत्पादन हुने गरेकोमा अहिले एकाएक चलखेल गरेर खुलाउनुको मुख्य कारण यसको तस्करीबाट मनग्गे पैसा आउने भएकैले हो ।

मागभन्दा बढी परिणाममा तेस्रो मुलुकबाट सुपारी आयात गरेर ती व्यापारीले भारततिर तस्करी गर्छन् । नेपालको भन्सार दर सस्तो भएकाले तस्करहरूले नेपालमा चलखेल गरेर आयात खुलाउने र सुपारी ल्याएर भारततिर लैजाने गर्छन् ।

सुपारी मुख्यतया इन्डोनेसिया, मलेसिया, थाइल्याण्डलगायतका तेस्रो मुलुकबाट नेपाल आयात हुन्छ । आयात भएको सुपारी भारत तस्करी हुने गरेकाले अघिल्लो सरकारले परिमाणात्मक बन्देज लगाएको थियो । पछिल्लो समय केही व्यवसायीले पैसा संकलन गरेर आयात खुलाउन खर्च गरेका हुन् ।

केही वर्षअघि सुपारी तस्करले पूर्वका उच्च सरकारी अधिकारीहरूको सरुवामै दख्खल राख्थे । केही व्यवसायीहरूको सुपारी आयात नै मुख्य धन्दा हो । भारतमा सुपारी आयात बन्देज छ । त्यसैले नेपालका केही व्यापारीले सरकारलाई प्रभावित पारेर आफूलाई फाइदा हुनेगरी आयात खुलाउने र तेस्रो मुलुकबाट आयात गरेर अवैध बाटो हुँदै भारत लैजान्छन् ।

झापा, मोरङतिर सुपारी खेती हुन्छ । केही व्यापारीले तेस्रो मुलुकबाट सुपारी आयात गरी भन्सारका कर्मचारीसँग मिलेमतोमा विदेशी सुपारीलाई नेपाली उत्पतिको प्रमाणपत्रसमेत लिने गरेका थिए । जबकी हाम्रो सुपारी निर्यात भएन, विदेशी सुपारी नेपाली भनेर निर्यात गरियो ।

मुलुकमा डलर सञ्चिति नरहेको अवस्थामा सुपारी आयातका लागि मन्त्रिपरिषद्‍बाटै बन्देज खुला गराउन खोजिएपछि यसमा ठूलो आर्थिक चलखेल भएको भन्दै उच्च अधिकारीहरू डराएका छन् ।


प्रतिक्रिया

3 thoughts on “सुपारी आयात खुलाउन ५० करोडको डिल, यी हुन् खटाइएका विचौलिया

  1. प्रधानमन्त्री र उनकी पत्नी, गृहमन्त्री र उनकी पत्नी नै यस्ता काम लागेकाे मेराे बिचराे देश ।

  2. कुइरेनीले दशै डुबाउनीभै।
    प्रकाशसरणहरू यसैको धोति समातिराछन्।

  3. बबुरा देउवा दाइ र प्रिय कमरेडहरूले आउँदो चुनाव खर्चको जोहो बेलैमा गर्नुथाल्नु भएछ। ल बधाई छ।यसरी नै मिलिजुली,बाँडीचुँडी खानुहोला। नेकपा एमाले छँदैछ नि जनतार देशका लागि।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *